१२ हजार घूससहित वनरक्षक पक्राउ- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१२ हजार घूससहित वनरक्षक पक्राउ

अमृता अनमोल

बुटवल — वनका काठ ओसारपसारमा सहजीकरण गरिदिएबापत सेवाग्राहीसँग १२ हजार रुपैयाँ घूस लिँदै गर्दा रुपन्देहीको सब डिभिजन वन कार्यालय मुर्गियाका एक कर्मचारी पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले वनरक्षक प्रेमचन्द्र विकलाई शनिबार बिहान ८.५० बजे सैनामैना नगरपालिका–६ कलौनीचोकबाट रकमसहित रंगेहात पक्राउ गरेको हो ।

पीडितले दिएको सूचनाका आधारमा उनीहरुलाई नियन्त्रणमा लिएको आयोगका सूचना अधिकृत सरेश भुसालले बताए । पटक–पटक गुनासो आएका उनीमाथि थप अनुसन्धान भइरहेको अधिकृत भुसालले जानकारी दिए ।

प्रकाशित : कार्तिक १, २०७७ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्

सरकार आयो

घर फर्केपछि छोराले खुब झगडा गर्‍यो । ‘कस्ताको घरमा जन्म लिएँ मैले ! छोराको गुनासो त्यही थियो । ऊ आफ्नी आमासँग, मरिसकेको बाउसँग, जिउँदो हजुरबाउसँग, मरिसकेका हजुरबाउको बाउसँग सबसँग रिसायो । धुनधान गाली गर्‍यो । अनि छुट्टै बस्न थाल्यो ।
आन्विका गिरी

ठगुनी पासवानको गुनासो थियो कि सरकार उनको आँगनमा आएन । पञ्चायत ढलेको थाहा थियो । गणतन्त्र आएको थाहा थियो तर सरकार उनको आँगन टेकेको थाहा थिएन । जनताका लागि भनेर लडेका थुप्रै मान्छे सरकारमा गए । सरकारमा जानुअघि उनीहरूले वाचा गरेका थिए कि अबचाहिँ उनीहरूको जिन्दगी अवश्य बदलिनेछ किनकि सरकार उनीहरूको आँगनमा आउनेछ ।

ठगुनी रिसाएर भन्थिन्, ‘साले ठगहरू ! हामीजस्तो गरिबको आङ्नामा सरकार आउँदैन । आउने भए, आइसक्थ्यो ।’ उनले यो यसै भनेकी थिइन् । उनलाई पहिले त सरकार आउने कुरामा विश्वास थियो । एकएक गर्दै उनको विश्वास भत्किएपछि उनले रिसाएर सरकार आउने आस मारेकी थिइन् । तर, ठगुनीलाई चक्मा दिँदै सरकार उनको आँगनमा आएको थियो । फरक यत्ति थियो कि पहिले अनेकौं बिन्ती लिएर उनी सरकारसम्म पुग्दा पनि सरकार आएको थिएन । यसपटक भने उनले नबोलाईकन आएको थियो । तपाईंलाई लाग्ला, त्यसरी नबोलाईकन सरकार आउँदा त ठगुनीको खुसीको सीमा नहुनुपर्ने ! तर, जसरी ठगुनीको आँगनमा सरकार आयो, ठगुनीले चित् खाइन् ।

ठगुनीको घर सुकुम्बासी बस्तीमा छ । ६ छोराछोरीकी आमा ठगुनीको नाम मैले यहाँ कथा लेख्दा, पूरा नहुने सरकारी स्किमका बेला र मतदाता नामावलीमा मात्र प्रयोग भएको हो । ए, अनि सरकार आउँदा पनि उसले ठगुनी पासवानको पूरा नाम लिएको थियो । लोग्ने मरिसक्यो । तीन छोरीको बिहे भैसक्यो । दुई छोरामध्ये जेठो सुकुम्बासी बस्तीमै अर्को छाप्रो बनाएर छुट्टिएको छ । कान्छो छोरा र एक छोरीसहित ससुरा पनि ठगुनीकै जिम्मेवारीमा छन् ।

पञ्चायत ढाल्न भएको आन्दोलनताका ठगुनीको भर्खर–भर्खर बिहे भएको थियो । यो नयाँ–नयाँ बिहेको नयाँ–नयाँ प्रेमले एउटा फाइदा गर्‍यो । उनको बूढो रुदुवाले नयाँ दुलहीसँग संवाद बढाउन पनि दिनभर भएको आन्दोलन, गाउँको चोकमा भइरहेका चर्चाका कुरा सुनायो । ऊ एउटा गाउँ तहको कम्युनिस्ट नेताको सम्पर्कमा आएको थियो । त्यसपछिको माओवादी आन्दोलनले त उसलाई निकै उद्वेलित बनाएको थियो । उसले थोरै थोरै ठगुनीलाई पनि उद्वेलित बनाएको थियो । छुवाछुत सकिनुपर्छ भनेर संगठित भएको थियो । संयोगले सेना प्रहरीबाट बचेको उसको ज्यान पहिलो संविधानसभाको निर्वाचनको सालको वर्षामा चिप्लिएको थियो । टाउको ढुंगामा बजारियो र ऊ उठ्नै सकेन । त्यो बाटो बनाउने भनेर बहुदलपछिका धेरै सरकारले भनेका थिए । नेताहरूका भनाइ केवल चुनावी नारा हुन् भनेर न रुदुवाले बुझ्यो, न ठगनुीले ! तर, रुदुवाले सरकारले हाम्रा लागि केही गर्छ भन्ने ‘चेतना’ ठगुनीको मनमा राखिदियो । त्यही चेतना बोकेर ठगुनी आफ्ना समस्या बोकेर गाउँदेखि जिल्ला तहका सरकारकहाँ पुगिराख्थिन् ।

ठगुनीका धेरै समस्या थिए । एक आम गरिबका समस्याको चाङ यो देशमा सगरमाथाको उचाइभन्दा कम हुँदैन । बरु बढी नै होला । रुदुवाको नागरिकता थिएन । उसको बाउआमाको पनि थिएन । ठगुनीको पनि थिएन । रुदुवा आफ्नो नागरिकताका लागि सरकारको अड्डामा धाइरहेको थियो । उसको मृत्युपछि ठगुनी धाउन थालिन् किनकि जेठो छोरा, जो अहिले ऊसँग छुट्टिएको छ, अरब जान चाहन्थ्यो । राहदानीका लागि नागरिकता चाहिन्थ्यो । त्यसैले उनी पहुँचले भ्याउने ठूलो सानो सबै सरकारकहाँ धाइरहन्थिन् ।

त्यो बेला देश संघीयतामा गएको थिएन । संघीयताको गफ गरेर झारो टार्ने मेसोमा थियो । मधेस आन्दोलन जागेको थिएन । छोराको नागरिकताका लागि उनी पुरानो गाविस अध्यक्षकोमा पुगिन् । छोरा पनि साथमा लिएर गएकी थिइन् । अध्यक्ष सर्वदलीय संयत्रको हर्ताकर्ता थियो । अध्यक्षको ओसरामा खाली मुढा देखेर पनि उनी बस्न सकिनन् । आङ्नामा टुक्रुक्क बसेर उनले हात जोरेर छोराको नागरिकता बनाइदिन अनुरोध गरिन् । उनको नागरिकता नबनी छोराको बन्दैनथ्यो । रुदुवाको नबनी उनको नागरिकता हुँदैनथ्यो । रुदुवाको बाउको नागरिकता नभई रुदुवाको नागरिकता हुँदैनथ्यो । रुदुवा जिउँदो थिएन, उसको बाउ त जिउँदै थियो तर ससुराका बाउ जिउँदो थिएनन् । ससुराको बाउको नागरिकता नभई ससुराको नागरिकता बन्नेवाला थिएन । यो बाउहरूको जञ्जालमा आमाको त ठाउँ थिएन तर पनि उनले गुहार लगाइन् ।

गाविस अध्यक्षले ‘सक्दिन’ भन्यो । उनले आँसु निकालिन् । गोडा छुन दिन्थ्यो भने अध्यक्षको उनले गोडामै ढोग्थिन् । भुइँलाई नै गोडा मानेर ढोग्दा पनि अध्यक्षले ‘अहिले केही गर्न सक्दिन । नयाँ संविधान आयो भने केही होला ! भन्दियो । ठगुनीले त छोरालाई नयाँ संविधानसम्म कुर्न भनेकी हुन् । छोराले कुर्न सकेन । आफ्ना आमाबाउले के–के कुरा कहिलेदेखि कुरेको उसलाई थाहा थियो ।

घर फर्केपछि छोराले खुब झगडा गर्‍यो । ‘कस्ताको घरमा जन्म लिएँ मैले ! छोराको गुनासो त्यही थियो । ऊ आफ्नी आमासँग, मरिसकेको बाउसँग, जिउँदो हजुरबाउसँग, मरिसकेका हजुरबाउको बाउसँग सबसँग रिसायो । धुनधान गाली गर्‍यो । अनि छुट्टै बस्न थाल्यो ।

माओवादी आन्दोलनको रजगज सुरु भइसकेको थिएन । रुदुवा जिउँदै हुँदाको कुरा हो । रुदुवाले पाँच दिन परमवीर साहको खेत जोतेको ज्याला पाएन । दिनदिनै धाउँदा पनि परमवीर पैसा दिने कुरा गर्दैन । आखिरमा पाँच दिनको पचास रुपियाँ रुदुवाको मुखमा फ्यालिदियो । हुनुपर्ने दुई सय पचास थियो । रुदुवा गाविस भवन पुग्यो र सरकारसँग बिन्ती गर्‍यो । सरकारले सुनुवाइ गरेन । गाउँठाउँमा मिल्नुपर्ने उपदेश दियो । ‘तपाईंले हाम्रो दिन बदलिन्छ भन्नुभएको थियो । यही हो बदलाव ?’ रुदुवाले प्याट्ट प्रश्न गरेको थियो ।

‘तँलाई लात्ती घुस्सा खानु परेन । पचास भए पनि पाइस् ।’ तत्कालीन गाविस अध्यक्षले ‘न्यायिक’ निर्णय सुनायो । त्यसपछि रुदुवा ‘हाम्रो सरकार आएपछि सबथोक ठीक हुन्छ’ भन्ने आन्दोलनमा मिसियो । त्यो आन्दोलन जित–हारको विवाद कायम राख्दै मूलधारमा आयो । उसको सरकार बनिनसक्दै रुदुवा गयो । ठगुनीलाई भने नयाँ सरकारको आस देखाएर गयो ।

आफ्नी कान्छी छोरी रमुनालाई गाउँकै केही केटाहरूले हूलहुज्जत गर्ने प्रयास गरेपछि ठगुनी फेरि सरकार गुहार्न पुगिन् । यो हूलहुज्जतमा गाउँका गन्नेमान्नेका छोराहरू, भाइहरू थिए । आफैं गएर हप्काउन धकाइन् । त्यसैले छोरीको हात समाएर उनी पुलिस चौकी पुगिन् । ठगुनीले प्रहरीलाई गरेको अनुरोध थियो, ‘गाउँमा आएर छोरीलाई दुःख दिने बदमासहरूलाई चेतावनी देओस् । नमाने लगेर थुनोस् ।’ उजुरी शाखाको जवानले ध्यान दिएर कुरा सुन्दै गर्दा असइ पनि आएको थियो । उसले पनि सुनेजस्तै गरेको थियो । ठगुनी निश्चिन्त भएर गाउँ आइन् तर कैयौं दिन बित्दा पनि प्रहरी आएन । दुई–तीन खेप धाउँदा पनि आएन । उल्टै गाउँको कुरा प्रहरीकोमा लिएर पुगेको भनेर उनी सबैकी आँखी भइन् । एक साँझ त घाँस लिएर आउँदै गरेकी आफ्नी छोरी बाटामा बदमासहरूले घेरिएको सुनिन् । एउटाले हातमा रमुनाको आधाउधी दुलो परेको कालो सल पक्डेको थियो । छातीमा हात राखेर रमुना आँसुआँसु भएर भुइँमा थचक्क बसेकी थिई । उसको घाँसको बोरामा एउटा बदमास बसेको थियो ।

ठगुनीलाई यो खबर छिमेकी रत्नाले दिएकी थिई । अनि हाँपझाँप गर्दै ठगुनी छोरी भए ठाउँमा पुगेकी थिइन् । बोरामा बसेको केटोलाई धकेलेर बोराको मुखमा घाँसमा घोचेको कचिया निकालेर थर्काइन्, ‘कसलाई काल आ’को छ ? आवो ! यही कचियाले घाँटी छिनालिदिइन भने म मान्छे होइन ।’

अचानक रमुनाकी आमा त्यस्तरी आउली भनेर केटाहरूले सोचेकै थिएनन् । एक महिला, त्यसमाथि लोग्ने मरेको, गरिब र अझ दलित महिलाले आफूहरूलाई त्यसरी चुनौती देलि भन्ने भन्ने केटाहरूले सोचेका थिएनन् । तर, ठगुनीको आँखाको रिस भने उनीहरूले राम्रैसँग बुझ्न सके । अनि पछाडि हटे । भोलिपल्ट ठगुनीले परविन्दर यादवको गुम्तीअगाडि त्यही कचिया लिएर हुँकार गरिन्, ‘अब आइन्दा कसैले मेरी छोरीतिर आँखा उठाएर हेर्‍यो भने पनि म त्यसलाई टुक्राटुक्रा पार्छु । अनि म जेल जान्छु ।’

मान्छे मारेको आरोपमा त होइन, तर धम्क्याएको आरोपमा ठगुनी हिरासतमा पुगिन् । त्यत्रो धाउँदासमेत नआएको पुलिस यो घटनापछि भने एकै छिनमा आयो । गाउँलेलाई धम्क्याएको आरोपमा ठगुनीलाई भ्यानमा जाक्यो । दुई दिन हिरासतमा बसेर एक मानवअधिकारवादी जमानी बसिदिएपछि उनी छुटिन् । हिरासतबाट छुटेर आएपछि ठगुनीले भनेकी थिइन्, ‘सरकारकोमा बसेर आएँ ।’

यसरी सरकार उनको नआए पनि उनी सरकारकोमा पुगेकी थिइन् । यो गाउँ–गाउँमा छोटे सरकार आउनुअघिको कुरा थियो ।

‘गाउँगाउँमा सिंहदरबार’ नारा सुनेर ठगुनीका कान ठाडा भएका थिए । अब जे हुन्छ, गाउँमै बनेको सरकारले गर्छ भन्ने चर्चामा उनी आकर्षित भइन् । यो आकर्षणको मूल कारण अँधियामा खेती कमाउन थाल्नु थियो । जनबनी गरेर आजित भएकी उनले छोराछोरीको सहारामा आठ कठ्ठा खेत अँधियामा लिइन् । गाउँकै भट्टराई बाजेको परिवार नै काठमाडौं सर्दा उनलाई खेत कमाउन दिएको थियो । गाउँका भएभरका काम गर्न सक्ने जमात बिदेसिएपछि अँधिया गर्ने मान्छे पाउन पनि मुस्किल थियो । यस्तो बेलामा खेत त पाइन्थ्यो टन्नै तर गर्न सक्ने मात्र ठगुनीले आँटेकी थिइन् । गाउँमै सरकार आएपछि मल, बीउ, जोत्न ट्याक्टरको समस्या नहोला भन्ने उसलाई लागेको थियो ।

किसानलाई सरकारले ट्याक्टर दिन्छ भन्ने ठगुनीको कानमा पर्‍यो । सरकारले अहिलेसम्म त उनलाई केही दिएको थिएन । बूढाले मर्दामर्दै पनि केही दिन्छ त भनेको थियो । अब पाइने भयो भनेर ठगुनीका चाउरिन थालेका आँखाका दुवै कुनामा पनि देखिने गरी आशा सञ्चारित भयो । उनी तुरुन्तै नयाँ सरकारकोमा पुगिन्, जुन अब गाउँपालिकाको अध्यक्ष थियो । जोत्नकै लागि उपयोगी हुने भनेर जिल्ला कृषि कार्यालयले पालिकासँग संयोजन गरेर आवश्यक किसानलाई ट्याक्टर दिने भएको थियो । उनको आफ्ना गोरु थिएन । नगद तिरेर अरूको ट्याक्टरबाट खेत जोताउन उनलाई महँगो परिरहेको थियो । आफैँ एक हल गोरु पालौं भन्दा पनि गुहाली बनाउने जमिन खै ?

ठगुनीजस्तै अरू पनि आफ्नो नाम टिपाउन पुगेका थिए । नाम टिपाएर आउँदा फागुनको महिना थियो । वैशाखसम्म त ट्याक्टर चाहिन्थ्यो । ठगुनीले वैशाख १५ सम्म कुरिन् । तर, पनि ट्याक्टर नआएपछि उनी वडा कार्यालयमा धाउन थालिन् । गाउँपालिकाले वडासँग सम्पर्क गर्नु भनेको थियो । अनेक काम छोडेर भए पनि दुई–तीन दिन दुई–तीन दिनमा उनी वडा कार्यालय पुग्थिन् ।

एक दिन परैबाट वडाअध्यक्षले उनलाई ‘आएको छैन, आयो भने ठूलो आवाज हुन्छ । सबैले थाहा पाउँछन् । आइरहनु पर्दैन’ भनेर करायो । वडाअध्यक्षको आवाजमा चर्कोपन भए पनि ठगुनीलाई कुरा ठीकै लाग्यो । आएपछि आवाज आउँछ । वडाअध्यक्षले कराएपछि कारिन्दाले पनि करायो, ‘फोन आउँछ । जति भने पनि टेर्दिन ।’ यो कुरा पनि उनलाई ठीकै लाग्यो । उनको आफ्नो त फोन थिएन । कान्छो छोरा पौवाको थियो । उसैको नम्बर दिएकी थिइन् । हुन त पौवाको फोन पनि उसको साथीको नामबाट लिएको थियो, जसको नागरिकता थियो । उनको घर वडा कार्यालयबाट २० मिनेटको पैदलमा थियो । फोन आउनेबित्तिकै उनी दौडँदै आउन सक्थिन् ।

त्यसको भोलिपल्टै पौवा दौडँदै घर आयो, ‘आमा ट्याक्टर आयो !

ठगुनीले खुसीको सीमा रहेन, आखिरमा ट्याक्टर आयो । पौवाले भनेको पनि ठीकै थियो । ट्याक्टर आएको थियो तर ठगुनीको नाममा ट्याक्टर आएको थिएन । ट्याक्टर पाउने पहिलो सूचीमा वडाअध्यक्षको भाइ, भाइको ससुरा, अरु वडासदस्यहरूको काका, दाजु, साला, प्रतिपक्षी दलको नेताको भिनाजु थिए । उनीहरू धेरै खेत भएका किसान थिए । ठगुनी, मझुवा, गणेशपुरिया, सरुनी खिस्स परे ।

‘तिमेरुको खेत थोरै छ । पहिला खेत धेरै हुनेले पालो पाए’ वडाअध्यक्षले ठगुनीको टोलीलाई धपाए । धपाउँदाधपाउँदै आशा देखाए, ‘तिमीहरूले अर्को वर्ष पाउँछौ ।’

ट्याक्टरमा मात्र होइन, अघिल्लो साल बाढीले घर डुबाउँदा दिने राहत पनि सरकारको तर्फबाट उधारै थियो । तर, यसैबीच जेठको अन्तिमतिर मध्यदिनमा ठगुनीको घरमा सरकार आयो । चरक्क घाम यसरी चर्किएको थियो कि आकाशमा दसवटा सूर्य फनफनी नाचेको जस्तो लाग्थ्यो । खेतमा काम गर्न नसकेर ठगुनी घर आएकी थिइन् । बकैनाको बोटमुनि छाया परेको ठाउँमा खटिया थियो, त्यसैमा ढल्केकी थिइन् । खटियाकै एक छेउमा एउटा पोथी र भाले कुखुरा माटो कोतरेर खाल्डो बनाई बसेको थिए । घरीघरी पकपक गर्थे नभए वातावरणमा अर्को कुनै स्वर थिएन ।

सडकबाट मोटरसाइकल र सिटी सफारी आक्कल झुक्कल पास भइरहेका थिए । तर, त्यसले ठगुनीको निद्रा बिथोलेको थिएन । एउटा बाइकको निरन्तरको हर्नले भने ठगुनी रन्थनिँदै उठिन् ।

‘को मर्‍यो र यस्तरी हरन बजाउँछौ ?’ ठगनुी खटियाबाट फत्फताउँदै उठिन् ।

आङ्नामा सेतो सर्ट र नीलो पाइन्ट लगाएका दुई जना मान्छे बाइकबाट झर्दै थिए । वडा कार्यालयमा दुईमध्येको एउटालाई उनले देखेकी थिइन् । ठगुनी शान्त भइन् । नमस्कार गरिन् । उनीहरूले मुख खोल्नुअघि ठगुनीले फटाफट सोधिहालिन्, ‘ट्याक्टर आयो ? मल आयो ? राहत आयो ?’

दुवैले मुस्कुराउँदै मुखामुख गरे र भने, ‘हामी अर्कै कामका लागि आएको ।’ ठगुनीलाई लाग्यो– वर्षौंदेखिको नागरिकताको फिराद पो सुनुवाइ भयो कि क्या हो । उनले आँखा चम्काएर सोधिन्, ‘मेरो नागरिकता बन्यो ?’

उनको यो प्रश्नले टाउकोमा चस्मा लगाएको कर्मचारीचाहिँ चिढिएजस्तो भयो । उसले निधार खुम्च्यायो र चस्मा खोलेर सोध्यो, ‘गाई कतिवटा छ ? बाख्रा कति छन् ? तरकारी कतिको बेच्छौ ?’

आफूले नागरिकताको कुरा सोध्दा यी मान्छेहरू आफूलाई के सोध्छन् भन्ने नलागेको होइन् तर सोधेको कुरा भन्नुपर्छ भनेर ठगुनीले भनिन्, ‘बाख्रा थियो । दुई हफ्ताअगाडि के खायो, के खायो दुईवटा बोकासहित मर्‍यो । बाख्राको डाक्टरको बाटो हेर्दाहेर्दै बाख्रा मर्‍यो । गाई त छैन । तरकारी बेच्नलाई बारी खै सर ?’

ठगुनी बोल्दै गर्दा चस्मा नलाउने कर्मचारीका आँखा भने मोटरसाइकलको हर्नको हल्लाले डिस्टर्ब भएर यताउता गर्दै गरेको भाले र पोथीमा थिए । ठगुनीले बोलिसकेपछि कुखुराबाट आँखा हटाएर ठगुनीतिर हेरेर सोध्यो, ‘यी कुखुरा कसका हुन् ?’

‘मेरै हुन्’, ठगुनीले भनिन्, ‘अहिले सानै छन् । बेच्ने बेला भएको छैन । पोथीले अण्डा दिन थालेकै छैन ।’

चस्मा लगाउने कर्मचारी फिस्स हाँस्यो र भन्यो, ‘किन्न सोधेको हैन । गाउँपालिकाले कुखुरामा पनि कर लगाएको छ । गाईवस्तु, बाख्रा सबैमा अब कर लाग्छ । तिम्रा यिनै कुखुरा रैछन् । असार १० गतेसम्म म्याद छ । तिर्न आउनू !

त्यतिन्जेल अर्काले एक भाले र पोथीको विवरण उतार्‍यो ।

ठगुनीले करको कुरा यसअघि सुनेकै थिइनन् । उनले कुरा बुझाइमागिन्, ‘कर तिर्न मलाई केको कर छ ?’

‘कर तिरेपछि सरकारले सुविधा दिन्छ’, एउटा चस्मा नलगाएको कर्मचारीले टाउको कन्याउँदै कुखुरातिरै हेरेर भन्यो ।

‘मैले त अहिलेसम्म केही पाएको छ्रैन’, ठगुनीले सोधिन्, ‘कर तिरे भने पाउँछु ?’

‘पाउनुहुन्छ’, चस्मा लगाउने कर्मचारीले अर्को कर्मचारीतिर हेरेर आँखा झिम्क्यायो । अर्को कर्मचारीले पनि ‘हो हो पाउनुहुन्छ’ भन्यो ।

ठगुनीले भनिन्, ‘पहिलेकै सुविधा उधारो छ !

थप कुरा बुझाउन कुनै कर नभएको जस्तो गरेर मोटरसाइकलमा बस्दै भन्यो, ‘त्यसो भनेर कहाँ हुन्छ ? सरकार आफैँ घरमा आएर कर तिर्नु भनेपछि तिर्नुपर्छ । नभए जरिवाना लाग्छ ।’

अनि घुइयँ मोटरसाइकल गएको ठगुनीले हेरिराखिन् । यसरी आफैंले कैयौंपल्ट बोलाउँदा नआएको सरकार उनको आङ्नामा आफैं आएको थियो । ठगुनी खुसी हुनु कि दुःखी हुनुको निर्क्योल गर्न नसकेर अलमलिएकी थिइन् ।

साँझमा छोरी ओसरामा दिउँसो टिपनटापन पारेर ल्याएको लुँडेको साग केलाउन बसेकी थिई । ठगुनीले भनिन्, ‘आज मासु खान मन लागेको छ । भाले र पोथी दुवै काट्नु ।’

प्रकाशित : कार्तिक १, २०७७ १०:०२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×