दुर्गा पूजाको माग गर्दै उच्च अदालतमा मुद्दा- लुम्बिनी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुर्गा पूजाको माग गर्दै उच्च अदालतमा मुद्दा

मनोज पौडेल

कपिलवस्तु — दसैंमा दुर्गा पूजा र मूर्ति बिसर्जन गर्न पाउनुपर्ने माग गर्दै यहाँ मुद्दा दायर भएको छ । अधिवक्ता राहुल गुप्ताले कपिलवस्तु नगरपालिका–१ स्थित प्रशासन कार्यालय र प्रजिअ दीर्घनारायण पौडेलविरुद्ध सोमबार उच्च अदालत बुटवल इजलासमा रिट दायर गरेका हुन् ।

प्रशासनले दूर्गा पूजामा लगाएको रोक खारेज गरी मूर्ति पूजा गर्न पाउनुपर्ने माग गर्दै उत्प्रेषण, परमादेश र निषेधाज्ञासहितको रिट दायर गरेको गुप्ताले बताए । दुर्गा पूजामा कुनै बाधा व्यवधान नगर्न मुद्दा दायर गरेको उनको भनाइ छ । संक्रमण फैलिन नदिन भनेरै सबैको हितका लागि सतर्कता अपनाउन दुर्गा पूजामा रोक लगाइएको प्रजिअ पौडेलले बताए ।

कोरोना संक्रमणका कारण जिल्ला प्रशासन कार्यालयले यस वर्ष दसैंमा दुर्गा मूर्ति बनाउन, सार्वजनिक रुपमा प्रदर्शन गर्न, पूजाआजा र बिसर्जन गर्न रोक लगाउँदै शुक्रबार सूचना प्रकाशित गरेको थियो । प्रशासनले सर्वपक्षीय बैठक गरेर सतर्कता अपनाउन आवश्यक रहेको भन्दै मूर्ति पूजाआजामा रोक लगाएको हो ।

दिनहुँ प्रदर्शन

दसैंमा दुर्गा पूजा र मूर्ति बिसर्जन गर्न पाउनु पर्ने माग गर्दै जिल्ला प्रशासन कार्यालय कपिलवस्तुमा दिनहुँ विरोध प्रदर्शन भइरहेको छ । विश्व हिन्दु महासंघ जिल्ला समितिद्वारा मंगलबार आयोजित विरोध कार्यक्रम भिक्षु चोकदेखि निस्किएको जुलुस २ किमि बढी हिँडेर नाराबाजी गर्दै प्रशासन कार्यालय पुगेको थियो । कार्यालयको मुख्य गेटअघि दिउँसो एक घण्टा बढी नाराबाजी गर्दै धर्नासहित कोण सभा गरिएको थियो ।

महासंघ जिल्ला शाखाले आइतबार प्रजिअ पौडेललाई ज्ञापनपत्र बुझाउँदै निर्णय सच्याउन माग गरेको थियो । आफ्ना मागबारे प्रशासनले सुनुवाइ नगरेपछि बाध्य भएर विरोधमा उत्रनु परेको महासंघ अध्यक्ष उदयभान यादवले बताए । स्वस्थ्य मन्त्रालयले तोकेको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरेर परापूर्वकालदेखि चलिआएको मूर्तिपूआ र विसर्जन गर्छौं भन्दा पनि सुनुवाइ नगरेको उनले बताए । ‘अन्त कहींकतै यस्तो मुर्ति बनाउन, प्रदर्शन गर्न रोकेको सुनेका छैनौं,’ उनले भने, ‘यहाँ मात्र यस्तो निर्णय लाद्न खोज्दा आश्चर्यमा परेका छौं ।’ यसले सनातन संस्कृतिमा समेत चोट पुगेको उनले बताए ।

जिल्लाभरिमा २ सयभन्दा बढी मूर्तिका सेट राख्नका लागि तयारी छ । ‘पहिले निर्णय भएको भए हामी लगानी गर्दैन्थ्यौं,’ तौलिहवाका मूर्तिकार सञ्जय गुप्ताले भने, ‘अहिले हठात् यस्तो निर्णय गर्दा ऋण गर्जो गरेर तयार गरेका १० सेट बढी मूर्ति खेर जाने अवस्थामा पुगेको छ ।’ जिल्लामा दसैंका बेला ठाउँठाउँमा दुर्गा पूआ भन्दै मूर्ति सार्वजनिक ठाउँमा राख्ने प्रचलन छ । कहीं घटस्थापनादेखि त कहीं फूलपातीका दिनदेखि मूर्ति पूजाआजा गर्ने चलन छ ।

प्रकाशित : आश्विन २७, २०७७ १८:०३
प्रतिक्रिया
पठाउनुहोस्

देउखुरीलाई प्रदेश राजधानी बनाउने प्रस्तावविरुद्ध कपिलवस्तुमा रिले अनशन

मनोज पौडेल

कपिलवस्तु — प्रदेश ५ को राजधानी दाङको देउखुरीमा राख्‍ने प्रस्ताव प्रदेश सभामा दर्ता भएपछि त्यसको विरोध गर्दै कपिलवस्तुको सदरमुकाम तौलिहवामा रिले अनशन थालिएको छ ।

कपिलवस्तु बासीका नाममा नागरिक अगुवा, जनप्रतिनिधि र अधिकारकर्मीहरु शनिबार ४ बजेबाट रिले अनशन बसेका छन् । प्रशासन कार्यालय अघि सुरक्षाकर्मीको बाक्लो उपस्थितीमा अनसन थालिएको छ । शनिबार कपिलवस्तु-१का अध्यक्ष सुदिप पौडेल, स्थानीयहरु उफअहमद खा, बृजेश भटरा, अशोक गुप्ता र सन्तोष कसौधन अनशन बसेका हुन् ।

उनीहरुले प्राचीन शाक्यवंशीय राजधानी कपिलवस्तुलाई ५ नम्बर प्रदेशको राजधानी बनाउन माग गर्दै आन्दोलन थालेका हुन् । पहिलो दिन ५ जना अनशन बसेका छन् । उनीहरुले माग पूरा नहुञ्जेल अनशन जारी रहने बताएका छन् । आन्दोलनमा ऐक्यबद्धता गर्दै हस्ताक्षर अभियान पनि चलाइएको छ ।

प्रकाशित : आश्विन १७, २०७७ १७:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×