२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

बिनाअनुमति सुर्तीजन्य पदार्थ बेच्नेलाई २ लाख जरिवाना

नवीन पौडेल

परासी — जिल्ला बजार अनुगमन समितिले मापदण्डविपरीत सामग्री बिक्रीवितरण गर्नेहरूलाई कारबाही गर्न थालेको छ । समितिले अनुमतिबिना सुर्तीजन्य पदार्थ बिक्री गरेको भन्दै प्रतापपुर–२ गोपीगन्जको दोस्ती पान तथा किराना पसलका सञ्चालकलाई दुई लाख रुपैयाँ जरिवाना गराएको छ । 

अनुगमन टोलीले सुर्तीजन्य पदार्थ जफत गरी नष्ट गरेको र जरिवाना तिराएको सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताए । प्रतापपुर–२ कै जानकी स्टोर्समा अनुगमन टोलीले ३७ प्याकेट गुट्खा र चार प्याकेट सूर्ति नियन्त्रणमा लिएर सञ्चालकलाई ५५ हजार नगद जरिवाना गरेको छ ।

लेभलबिना उत्पादित वस्तु बजारमा पठाएको भेटिएपछि बर्दघाट नगरपालिका–१२ चौपत्ताको सूर्य मसला उद्योग सिल गरिएको छ । उक्त उद्योगले उद्योग विभागबाट लिनुपर्ने ट्रेड मार्क नलिएको, दर्ता प्रमाणपत्र देखाउन नसकेको, प्याकेजिङको अनुमति नलिएको, साइनबोर्डविनै उद्योग सञ्चालन गरेपछि ६० हजार जरिवानासहित सिल गरिएको सहायक प्रजिअ माझीले बताए ।

जिल्ला प्रशासन कार्यालय, उपभोक्ता हित संरक्षण निर्देशनालय, घरेलु तथा साना उद्योग कार्यालय, उपभोक्ता हित संरक्षण मञ्च, प्रतापपुर गाउँपालिका, जिल्ला प्रहरी कार्यालयका प्रतिनिधिसहितको अनुगमन समितिले गोपीगन्जमा रहेका खाद्यान्न, किराना, फेन्सी, हार्डवेयर, एग्रोभेट, पान पसललगायत १० वटा व्यावसायिक फर्ममा अनुगमन गरेको थियो ।

यसअघिको अनुगमन टोलीले सचेत मात्र गराएर छाड्ने गरेका कारण जिल्लामा बिनाअनुमति व्यवसाय र उद्योग सञ्चालन भइरहेको थियो ।

प्रकाशित : आश्विन २६, २०७७ १२:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?