प्रदेश ५ को नाम अब लुम्बिनी, राजधानी देउखुरी

प्रदेश सभाबाट दुई तिहाइ बहुमतले पारित
ह्विप विपरित देउखुरीको पक्षमा मतदान गर्ने सांसदलाई कारबाही गरिनेछ : कांग्रेस संसदीय दलका नेता कनौडिया
अमृता अनमोल

बुटवल — प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी क्षेत्र तोकिएको छ । प्रदेशसभा मंगलबारको बैठकबाट नाम लुम्बिनी र स्थायी राजधानी दाडको देउखुरी राख्ने प्रस्ताव दुई तिहाई बहुमतले पारित भएको हो ।

प्रदेश ५ को नाम अब लुम्बिनी, राजधानी देउखुरी

प्रदेशको नाम र राजधानी सम्बन्धमा सरकारले ल्याएको प्रस्तावमा मंगलबार प्रदेश सभा सदस्यहरुबीच मतदान भएको थियो । लुम्बिनी नामकरण सम्बन्धमा ८३ जनाले मतदानमा भाग लिए । त्यसमध्ये ७९ जनाले पक्षमा र ४ जनाले विपक्षमा मतदान गरे । नामकरण सम्बन्धमा कांग्रेस र नेकपाले पक्षमा मतदान गरेका हुन् । जनता समाजवादी पार्टीका ४ जनाले विपक्षमा मतदान गरे ।

राजधानी दाङ तोक्नेबारेको मतदानमा ८२ जना सहभागी भए । पक्षमा ६९ जना र विपक्षमा १३ जनाले मतदान गरे ।

प्रदेश सभाका ८७ सदस्यमध्ये मंगलबार ८६ जना उपस्थित थिए । सभामुखले मतदान गर्न नपाइने नियम छ । कांग्रेस सदस्य सुरेन्द्र हमाल अनुपस्थित थिए । जनता समाजवादी पार्टीका सचेतक सन्तोषकुमार पाण्डे र सदस्य कल्पना पाण्डेले पनि मतदान बहिस्कार गरे । प्रदेश राजधानी दाङ लैजानेबारे राष्ट्रिय जनमोर्चाका तारा जीसीले पनि मतदान बहिष्कार गरिन् ।

राजधानी तोक्ने सम्बन्धमा १९ सदस्य रहेको कांग्रेस तितरबितर भयो । लुम्बिनी क्षेत्रका १३ सदस्यले राजधानी दाङ लैजाने विपक्षमा मतदान गरे । दाङ, बाँके र बर्दियाका सदस्य डिल्लीबहादुर चौधरी, अर्जुन श्रेष्ठ, शंकर गिरी, भुवनेश्वर चौधरी र मोहमद याकुम अन्सारी गरी ५ जनाले पार्टी ह्वीपविपरीत पक्षमा मतदान गरे । जनता समाजवादी पार्टीका संसदीय दलका नेता सहसराम यादव, सदस्य पुर्मती ढेंगामगर, विजयबहादुर यादव र सुमन शर्मा रायमाझीले राजधानी दाङ लैजाने पक्षमा मतदान गरे ।

प्रदेशको नाम र स्थायी राजधानी बहुमतबाट पारित भएपछि पत्रकारहरुसँग बोल्दै मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशका सबै नागरिकको हित र बृहत्तर विकासका लागि राजधानी देउखुरी क्षेत्रमा लगेको प्रतिक्रिया दिए । उनले एक वर्षभित्रमा प्रदेश राजधानी कस्तो बनाउने भन्नेबारेमा डीपीआर बनाउने र भौतिक संरचना बनाउन थाल्ने तत्पश्चात मात्रै प्रशासनिक कार्यालय सार्ने जानकारी दिए ।

यसअघि प्रमुख प्रतिपक्ष दल कांग्रेस विरोधमा उत्रिए पनि मंगलबार लोकतान्त्रिक मूल्य मान्यताअनुसार चुनावी प्रक्रियामा भाग लिएको जनाएको छ । कांग्रेस संसदीय दलका नेता वीरेन्द्रकुमार कनौडियाले पार्टीको ह्वीपविपरीत जाने ५ जना सदस्यलाई अनुशासनको कारबाही गर्ने बताए । कांग्रेसका तर्फबाट लेखा समिति सभापति बनेका डिल्ली चौधरीलाई हटाउने उनले बताए ।

प्रदेश सभाको बैठक अर्को सूचना जारी नहुँदासम्मका लागि स्थगित भएको सभामुख पूर्णबहादुर घर्तीले बताए ।

प्रकाशित : आश्विन २०, २०७७ १७:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?