१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

प्रदेश राजधानी देउखुरी बनाउने प्रस्तावविरुद्ध कांग्रेसले चरणबद्ध आन्दोलन गर्ने

नेकपाका सांसदका घर अगाडि कालो झण्डा प्रदर्शन गर्ने
सन्जु पौडेल

तिलोत्तमा — प्रदेश ५ को राजधानी दाङ बनाउने प्रस्तावविरुद्ध नेपाली कांग्रेस रुपन्देहीले चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ । कांग्रेसका जिल्ला, नगर,जिल्लामा रहेका प्रदेश सांसद र निर्वाचनका प्रत्यासी नेताको सहभागितामा बसेको बैठकले चरणबद्ध आन्दोलनका कार्यक्रमहरु समेत सार्वजनिक गरेको छ । 

प्रदेश राजधानी देउखुरी बनाउने प्रस्तावविरुद्ध कांग्रेसले चरणबद्ध आन्दोलन गर्ने

कांग्रेस जिल्ला सचिव रामकृष्ण खाँणले विरोधस्वरुप मसाल जुलुस, चक्का जाम तथा नेकपाका सांसदका घर अगाडि कालो झण्डा प्रर्दशनलगायतका कार्यक्रम गर्ने निर्णय भएको बताए ।

प्रदेशसभामा शुक्रबार प्रदेश नामकरण र स्थायी राजधानीको प्रस्ताव पेस भएसँगै बुटवलका विभिन्न ठाउँमा टायर बालेर विरोध जनाएको कांग्रेसले शनिबार साँझ जिल्लाका सबै क्षेत्रमा मसाल जुलुस प्रर्दशन गर्ने भएको छ ।

आइतबार जिल्ला बन्द गर्नुका साथै नेकपा सांसदका घर अगाडि कालो झण्डा प्रर्दशन गर्ने खांणले जनाए । उनले विद्यार्थी नेतालाई उग्र क्रियाकलाप नगर्न आग्रह समेत गरेका छन् ।

त्यस्तै, शनिबार बिहान बसेको नेपाली कांग्रेसबाट रुपन्देहीमा गत निर्वाचनमा उम्मेद्वार बनेका प्रत्यसी नेताले विज्ञप्ति जारी गर्दै प्रदेशको राजधानी बुटवल नै राख्ने भनी चुनावमा नारा लगाएका नेकपाका नेताले चुनाव जितेपछि जनभावनालाई कदर गर्न नसकेको आरोप लगाए । उनीहरुले प्रदेशको राजधानी सबै किसिमले रुपन्देही नै हुन उपयुक्त रहेकाले यहाँ नै राजधानी कायम गर्न माग गरेका छन् ।

यसअघि शुक्रबार नै पार्टी सभापति अब्दुल रज्जाकले विज्ञप्ति जारी गर्दै कांग्रेस रुपन्देही कठोर आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए । कांग्रेस रुपन्देहीको विज्ञप्तिमा पार्टीका आम कार्यकर्तादेखि रुपन्देही तथा छिमेकी जिल्लाका सर्वसाधारणलाई पनि आन्दोलनमा सहभागी हुन अपिल गरिएको थियो ।

प्रकाशित : आश्विन १७, २०७७ १५:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?