रुकुमकोटमा निषेधाज्ञा हट्यो
रुकुमपूर्व — जिल्लाको अस्थायी सदरमुकाम रुकुमकोटमा तीन सातादेखि जारी निषेधाज्ञा हटेको छ । जिल्ला विपद् व्यवस्थापन केन्द्रको बैठकले बुधबार बिहानैदेखि लागू हुने गरी निषेधाज्ञा हटाएको हो ।
सिस्ने गाउँपालिकाको ५ र ६ नम्बर वडामा पर्ने रुकुमकोटमा दुईपटक गरी तीन साता निषेधाज्ञा जारी गरिएको थियो । कोरोना संक्रमितहरू बढ्दै गएपछि पछिल्लो पटक असोज १३ गते राति १२ बजेसम्मलाई निषेधाज्ञा गरिएको थियो ।
प्रमुख जिल्ला अधिकारी राजकुमार राईले स्वास्थ्य मन्त्रालयले तोकेका मापदण्ड पालना गर्दै दैनिक कामकाज गर्ने गरी तत्काललाई निषेधाज्ञा हटाइएको बताए । उनका अनुसार मापदण्ड पालना गरे/नगरेको निगरानी गरी नटेर्नेलाई कारबाही गरिनेछ । मापदण्ड पालना नगरेको पाइए संक्रामक रोगअन्तर्गत मुद्दा चलाइने उनले बताए । हालसम्म जिल्लामा ७४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । अहिले ३८ जना सक्रिय संक्रमित छन् ।
प्रकाशित : आश्विन १४, २०७७ १२:४३