कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

तस्करी बढेको भन्दै पश्चिम नवलपरासीमा हरियो केराउ ओसारपसारमा रोक

नवीन पौडेल

परासी — पश्चिम नवलपरासीका सीमावर्ती नाका हुँदै भारततर्फ तस्करी बढेपछि जिल्ला सुरक्षा समितिले हरियो केराउ ओसारपसार र ढुवानीमा प्रतिबन्ध लगाएको छ । प्रहरीले हरेक दिन नाकाबाट केराउ बरामद गर्दा पनि लुकीछिपी भारत पुर्‍याइन थालेपछि समितिले यस्तो निर्णय गरेको हो ।

तस्करी बढेको भन्दै पश्चिम नवलपरासीमा हरियो केराउ ओसारपसारमा रोक

उद्योग वाणिज्य संघले भने प्रतिबन्धको विरोध जनाएको छ । केही व्यक्तिले तस्करी गरे भन्दैमा अन्य व्यवसायीलाई केराउको कारोबार नै गर्न नपाइने गरी गरिएको प्रतिबन्ध खोल्न माग गरिएको उद्योग वाणिज्य संघ नवलपरासीका अध्यक्ष केशव भण्डारीले बताए । ‘प्रशासनले चोरी–निकासी भएको भए नियमन गर्ने हो, बरामद गर्ने हो तर कानुनअनुसार कारोबार गर्नेलाई दुःख दिने काम गर्न हुँदैन,’ उनले भने ।

नेपाल–भारत सीमानाका बन्द भएपछि महेशपुर भन्सार कार्यालयमा आयात–निर्यात न्यून छ । सामान आयात र निर्यातबाट कार्यालयले राजस्व संकलन गर्न सकेको छैन् । तर, यही चार महिनाको बीचमा बरामद गरिएको केराउबाट सबैभन्दा बढी राजस्व संकलन भएको छ । प्रहरीले तस्करीका २ करोड ४० लाख मूल्यबराबरका सामान भन्सार कार्यालयलाई बुझाएको छ ।

लकडाउनको समयमा जिल्लाका सीमावर्ती नाकाबाट अवैध रूपमा ल्याइएका हरियो मटर, लत्ताकपडा, रासायानिक मल बरामद गरिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डीएसपी राजु लामाले बताए ।

हरियो केराउ र मरीच नेपालबाट भारततर्फ तस्करी हुने र कपडा, मल, कुखुरा भारतबाट भन्सार छलेर नेपाल ल्याउन खोज्दा नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रमुख एसपी अजय केसीले बताए ।

प्रकाशित : आश्विन १२, २०७७ १३:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?