सिद्धार्थ राजमार्ग पहिरोले तीन दिनदेखि ठप्प [तस्बिरहरू]

माधव अर्याल

पाल्पा — अविरल वर्षासँगै खसेको पहिरो पन्छाउन नसकिँदा शुक्रबार रातिदेखि अवरुद्ध सिद्धार्थ राजमार्ग आइतबार पनि खुल्न सकेको छैन । पाल्पा–बुटवल सडकखण्डअन्तर्गत तिनाउ गाउँपालिकाका दर्जन बढी स्थानमा पहिरो खसेपछि शुक्रबार बेलुकीदेखि सडक अवरुद्ध भएको हो ।

सिद्धार्थ राजमार्ग पहिरोले तीन दिनदेखि ठप्प [तस्बिरहरू]

राजमार्गका चिडियाखोला, कदमबास, सिद्धबाबा, हेडबक्स, पैठेडाँडा, भूतखोला, सिसुवा, झुम्सा, अर्घाछाप, पानीमिललगायतका स्थानमा ठूला–ठूला पहिरो खसेको दोभान प्रहरी चौकीका प्रहरी नायब निरीक्षक सोमबहादुर सारुमगरले जानकारी दिए ।

झुम्सादेखि बुटवलसम्मको क्षेत्रको पहिरो शनिबार बेलुकी अबेरसम्म हटाइए पनि सिसुवा, पानीमिललगायत स्थानको पहिरो पन्छाउन नसकिएको सडक डिभिजनले जनाएको छ ।

ठूलठूला ढुंगासँगै खसेको पहिरो पन्छाउन सडक डिभिजनसँगको समन्वयमा दुई तर्फबाट डोजर परिचालन गरिएको छ । दोभान प्रहरी चौकीका अनुसार आइतबार अपराह्न ३ बजेसम्म पहिरो पन्छाएर यातायात खोल्ने तयारी छ ।

पहिरोले पहाडी क्षेत्रमा आउने सवारीसाधन बुटवलतर्फ नै रोकिएका छन् भने पहाडबाट तराई झरेका सवारीसाधनलाई केराबारी, चर्चरे, जोरधारामा रोकिएको प्रहरीले जनाएको छ ।

प्रहरी उपरीक्षक सन्तोष कुमार भट्टराईका अनुसार तीन दिनदेखि राजमार्ग अवरुद्ध हुँदा धेरै यात्रु अलपत्र छन् । ‘डोजर, एक्स्काभेटर, ब्रेकर प्रयोग गरिए पनि धेरै पहिरो र ढुंगा भएकाले समस्या भएको हो,’ उनले भने, ‘दुवैतर्फबाट हेभी मेसिन लगाएर खुलाउने प्रयास जारी छ ।’

शुक्रबार बेलुकीदेखि ठूलो वर्षा भएकाले शनिबार बिहानदेखि पहिरो पन्छाउन थालिएको थियो ।

प्रकाशित : आश्विन ११, २०७७ १०:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?