३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२७

रुपन्देहीका विभिन्न स्थानमा बाढी पस्दा बस्तीमा क्षति

बाढीले बुद्धनगर र तल्लो मझवा जोड्ने सडक बगायो

तिलोत्तमा — अविरल वर्षाका कारण रुपन्देहीका विभिन्न स्थान डुबानमा परेका छन् । तिलोत्तमा नगरपालिकाका विभिन्न स्थानमा आएको बाढी, नदी कटान र डुबानले समस्या परेको छ । मध्यरातमै नगरप्रमुखसहित अन्य जनप्रतिनिधि, सुरक्षाकर्मी, टोल समितिका पदाधिकारी लगायतले तिलोत्तमा–११ को भुपु सैनिक ग्रुप –५ क्षेत्रको स्थलगत निरीक्षण गरेका छन्।

रुपन्देहीका विभिन्न स्थानमा बाढी पस्दा बस्तीमा क्षति

रोहिणी नदी बस्तीतिर पसेपछि ग्रुप–५ पूर्वतिरका ४०/४५ घर डुबानमा परेका थिए । पानी रोकिएर सतह घटेपछि अहिले बस्ती सुरक्षित रहेपनि पुन: वर्षा भए बस्ती जोखिममा पर्ने नगरप्रमुख वासुदेव घिमिरेले बताए । यसबारे आफूले जिल्ला प्रशासन कार्यालय, सुरक्षा निकायमा जानकारी गराएको घिमिरेले बताए ।

त्यस्तै वडा नम्बर १० मा बाढीका कारण असुरक्षित बनेका ६ जनालाई सशस्त्र प्रहरीको टोलीले उद्धार गरेको छ । तिलोत्तमाको मौवाबारीमा सुकौरा खोलामा आएको बाढीले ३ वटा कच्ची घर बगाएको छ । तिलोत्तमा–९ का धनबहादुर सार्की, रघुवीर दमाई तथा नेमबहादुर रुचालको कच्ची घर बगाएको छ । तिलोत्तमा–८ को सत्कुलो नहरको पानीको बहाब बढेर घर भत्काएको प्रहरीले जनाएको छ ।

यता बुटवल उपमहानगरको लक्ष्मीनगरको डाँडामा पनि सुखौरा खोलामा आएको बाढीले कम्तीमा ४ वटा घर र केही बाख्राको खोर बगाएको स्थानीयबासीले बताएका छन् ।

चरंगे खोलामा आएको बाढीले देवदह–१० का रामबहादुर श्रेष्ठको एक तले घरसहित दुईवटा बाख्रा र कुखुराहरु लगायत बगाएको प्रहरीले जनाएको छ । त्यस्तै जिल्लाको मायादेवी गाउँपालिकाको वनगाई, मकरी, गौरट्टी, बेथरीलगायतका गाउँमा बाढी पस्दा अधिकांश क्षेत्र डुबानमा परेको स्थानीयले बताए ।

बाढीले बुद्धनगर र तल्लो मझवा जोड्ने सडक बगायो

तिनाउ नदीले बुटवल ११ मा कटान गर्दै । तस्बिरहरू : अमृता अनमोल /कान्तिपुर

भारी वर्षासँगै शुक्रबार राति आएको बाढीले अहिलेसम्म रुपन्देहीका २८ घर बगाएको छ । ६ जना घाइते भएका छन् । एक सय बढी घर डुबानमा परेका छन् । दर्जनाैं घरपरिवार विस्थापित भएको प्रहरीको प्रारम्भीक तथ्यांक छ ।

बाढीले बुटवल–११ बुद्धनगर र तल्लो मझवा जोड्ने सडक बगाएको छ । यसले मझुवाका एक सय घरसँगको सडक सम्बन्ध विच्छेद गराएको वडाअध्यक्ष रामचन्द्र खनालले बताए । बाढीको बेगले पक्कीपुलसमेत जोखिममा छ ।

बाढीको जोखिमयुक्त क्षेत्रका बासिन्दालाई अन्यत्र सार्ने काम भइरहेको उनले बताए । तिनाउ, दानव, रोहिणी नदी र सुखौरा खोलाले बुटवल, तिलोत्तमा, देवदह, ओमसतिया, सम्मरीमाई, लुम्बिनी सांस्कृतिक नगरपालिकाका दर्जनाैं घर डुबानमा परेका छन् । डुबानको क्षति संकलन गरिरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता खड्गबहादुर खत्रीले बताए ।

प्रकाशित : आश्विन १०, २०७७ ०८:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?