दुई जना मेसुमा संक्रमण पुष्टि- प्रदेश ५ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दुई जना मेसुमा संक्रमण पुष्टि

घनश्याम गौतम

रूपन्देही — लुम्बिनी प्रादेशिक अस्पताल र गुल्मी जिल्ला अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट (मेसु) लाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको छ । लुम्बिनी प्रादेशिकका मेसु डा. राजेन्द्रप्रसाद खनाल र गुल्मी जिल्ला अस्पतालका मेसु डा. उत्तम पच्यालाई लक्षणसहितको संक्रमण देखिएको छ ।

दुवैले सामाजिक सञ्जालमार्फत आफूहरू संक्रमित भएको जनाएका छन् । उनीहरु होम आइसोलेसनमा बसेका छन् । अस्पतालको प्रशासनिक कामसँगै दुवैजना नियमित बिरामीको उपचारमा समेत खटिने गरेका थिए । डा. पच्या जटिल प्रकृतिका गर्भवतीको शल्यक्रिया र सुत्केरीको उपचारमा पनि नियमित संलग्न थिए ।

डा. खनालले फेसबुक पेजमा स्टाटस लेख्दै बुधबार रातिदेखि सुक्खा खोकीले अप्ठ्यारो पारेको र जीउ दुखेर भारी भएपछि बिहीबार बिहान पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको बताएका छन् । ‘कहाँबाट कोरोना घुस्यो, रनभुल्लमा छु,’ उनले भनेका छन्, ‘फिजिसियन साथीहरूसँगको समन्वयमा होम आइसोलेसनमा बसेको छु, छिट्टै यसबाट पार पाएर काममा फर्किनेछु ।’

डा. पच्याले पनि आफूलाई कहाँबाट संक्रमण भयो भन्ने अनुमान गर्नै नसकेको बताए । ‘सकेसम्म सचेत भएरै काम गरिएको थियो,’ उनले भने, ‘अचानक रुघा, खोकी र ज्वरो आएपछि परीक्षण गर्दा पोजिटिभ देखियो ।’

गुल्मीमा पनि पीसीआर परीक्षण सुरु

बुधबारदेखि गुल्मीमा पनि स्वाब संकलन र कोरोना परीक्षण कार्य सुरु गरिएको छ । जिल्लामै कोरोना परीक्षण गराउन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले हिमालय एयरलाइन्सको सहयोगमा पीसीआर मेसिन उपलब्ध गराएका थिए । प्रयोगशाला स्थापना गरेर बुधबारदेखि परीक्षण सुरु गरिएको प्रयोगशाला प्रमुख लक्ष्मण पन्थीले बताए । ‘पहिलोपटक ३६ जनाको परीक्षण गरिएको थियो,’ उनले भने, ‘डा. पच्यासहित १६ जनामा संक्रमण रहेको पाइयो ।’

पहिलोपटक रुरु गाउँपालिका र रेसुंगा नगरपालिकामा संकलन भएका स्वाबको परीक्षण गरिएको र अन्य स्थानीय तहमा पनि आवश्यकताअनुसार स्वाब संकलन गरिने उनले बताए ।

प्रकाशित : आश्विन ८, २०७७ १९:३६
प्रतिक्रिया
पठाउनुहोस्

चार दिनदेखि बीपी प्रतिष्ठानमा नि:शुल्क पीसीआर जाँच रोकियो 

प्रदीप मेन्याङ्बो

सुनसरी — कोरोना संक्रमितहरुको संख्या दिनदिनै बढिरहेको बेला सरकारले पीसीआर जाँच गर्न चाहिने किट, रिएजेन्टलगायत सामग्रीहरु उपलब्ध गराउन नसकेको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले जनाएको छ । 

सरकारले चार दिनदेखि पीसीआर जाँच गर्ने सामग्री उपलब्ध नगराएपछि नि:शुल्क जाँच गर्न नसकेको प्रतिष्ठानका अस्पताल निर्देशक प्राडा गौरीशंकर साहले बताए । उनले भने, ‘नि:शुल्क सामग्री उपलब्ध नगराएपछि प्रतिष्ठान आफैंले आन्तरिक आयश्रोतबाट किनेको किट प्रयोग गरेबापत सरकारले तोकेको न्यूनतम २ हजार रुपैयाँ शुल्क लिन थालेका छौं ।’ प्रतिष्ठानलाई सरकारले प्रदेश १ र २ का लागि कोरोनाको 'लेवल थ्री' सम्म उपचार गर्ने अस्पतालको रुपमा तोकेको छ ।

प्रतिष्ठानलाई प्रदेश र संघीय सरकारले पीसीआर परीक्षण गर्न गत चैत ५ गतेदेखि आवश्यक सामाग्री उपल्लब्ध गराउँदै आएको थियो । तर पछिल्लो समयमा पीसीआर परीक्षणका लागि किट उपलब्ध गराउन नसकेपछि प्रतिष्ठानले नि:शुल्क रुपमा स्वाब परीक्षण गरेर पीसीआर जाँच गर्न नसकिएको अस्पताल निर्देशक साहले बताए । उनले भने, ‘सरकारले नि:शुल्क रुपमा किट उपलब्ध गराउँदा प्रतिष्ठानले पनि नि:शुल्क परीक्षण गरेको थियो । तर केही दिनयता सरकारले दिने नि:शुल्क किट उपलब्ध नभएपछि प्रतिष्ठान आफैंले खरिद गरेर पीसीआर परीक्षणलाई निरन्तरता दिन बाध्य भएका छौं ।’

प्रतिष्ठानका अस्पताल निर्देशक साहले प्रतिष्ठानको कोभिड अस्पताल, आइसोलेसन सेन्टर र प्रतिष्ठानकै अन्य क्षेत्रमा काम गर्ने स्वास्थ्यकर्मी तथा कर्मचारीहरुको पीसीआर परीक्षण गर्नु परेमा चिकित्सकको सिफारिसमा मात्र नि:शुल्क पीसीआर टेष्ट गर्ने सर्कुलर जारी गरेको बताए । उनले प्रतिष्ठानकै अन्य चिकित्सक र कर्मचारीहरुले तथा अन्य शंकास्पद कोरोना संक्रमित व्यक्तिहरुले पीसीआर टेष्ट गर्न चाहेमा सरकारले तोकेको न्युनतम शुल्क २ हजार भुक्तानी गर्नुपर्ने प्रवाधान राखेको बताए ।

उनले भने, ‘सरकारले नि:शुल्क रुपमा किट उपलब्ध गराए प्रतिष्ठानले पनि नि:शुल्क रुपमै पीसीआर जाँच गर्ने छ ।’ प्रतिष्ठानमा चैत पहिलो सातादेखि कोरोना शंकास्पद व्यक्तिहरुको स्वाब संकलन गरी पीसीआर जाँच हुन थालेको हो । प्रतिष्ठानको माइक्रोबायोलोजी विभागअन्तर्गतको प्रयोगशलामा हालसम्म ५४ हजार १ सय ८६ जनाको पीसीआर जाँच गर्दा २ हजार ५ सय ६५ को रिपोर्ट कोरोना पोजिटिभ आएको थियो ।


प्रकाशित : आश्विन ८, २०७७ १९:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×