बाढीले मर्चवार क्षेत्रमा बितण्डा
भैरहवा — लगातारको वर्षाका कारण दानव नदीमा आएको बाढीले रुपन्देहीको दक्षिणी सिमावर्ती मर्चवार क्षेत्रमा बितण्डा मच्चाउन सुरु गरेको छ ।
तिनाउ र दानव नदी मिसिएर एउटै भएपछि पानीको सतह धेरै हुने भएकाले वर्षेनि वर्षाको बेला मर्चवार क्षेत्रमा धन जनको क्षति पुर्याउने गर्छ ।
मर्चवार क्षेत्र अन्तर्गतको सम्मरीमाइ गाउँपालिकाका अध्यक्ष जितेन्दनाथ शुक्लले दानव नदीमा आएको बाढी बस्तीमा आउनाले मर्चवारको ६ वटा कच्ची घर भत्केको र ती घर परिवारलाई अन्यत्र स्थानान्तरण गरि सुरक्षित बनाइएको बताए ।
‘दानव नदीमा आएको बाढीले मर्चवार क्षेत्रमा बितण्डा मच्चाउन थालेको छ,’ अध्यक्ष शुक्लले भने, ‘कतै बस्तीमा बाढी पसेर घर भत्काउन थालेको छ त कतै पसाउन थालेको सयौं बिगाहा धानसहितको खेत डुबानमा पारेको छ ।’ सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी र स्थानीय जनप्रतिनीधि सहितको टोली उद्धार कार्यमा जुटेको उनले जनाए ।
उनका अनुसार सम्मरीमाइ गाउँपालिका–५ स्थित पर्शुराम मल्लाह, चतुर्भुज गुप्ता, रोहित प्रसाद लोध, लाली पाशी र अवरुन निशा लगायतको घर बाढीले भत्काएकाले ती घर परिवारलाई अन्यत्र स्थानान्तरण गरिएको छ । त्यस क्षेत्र अन्तर्गत नै पर्ने लुम्बिनी सांस्कृतिक नगरपालिकाको भर्थापुर भन्ने स्थानमा पनि अजय मल्लाह र राधेश्याम मल्लाहको घर पनि भत्केकाले उद्धार गरिएको छ ।
सशस्त्र प्रहरी बल नेपालको दुई मुहान भन्ने स्थानमा रहेको बेसका सुरक्षाकर्मीले टोलीले पनि लुम्बिनी सांस्कृतिक नगरपालिका–२ भर्थापुरमा बाढीको पानी पसेका चारवटा घरबाट मानिस, अन्नपात र चौपायालाई छिमेकीको घरमा सारेर सुरक्षित बनाएको छ ।
घरायसी झगडाका कारण स-साना उमेरका दुई छोरा र एक छोरीलाई साथमा लिएर आत्महत्या गर्नका लागि दानव नदीमा पसेकी भर्थापुरकी ३३ वर्षीय गंगोत्री मल्लाहसहित सबैलाई सशस्त्र प्रहरी नायब निरीक्षक सहदेव सापकोटाको नेतृत्वमा खटिएको टोलीले नदीबाट जिवितै उद्धार गरेको छ । उनीहरुलाई आफ्नै घरमा सुरक्षित राखिएको छ ।
सशस्त्र प्रहरी बल २७ नम्बर गण रुपन्देहीका गणपती तथा सशस्त्र प्रहरी उपरीक्षक तेजकुमार पोखरेलले दानव र तिनाउ नदीले रुपन्देहीको विभिन्न स्थानका बस्तीमा क्षती पुर्याउन थालेकाले सतर्कता अपनाउँदै उद्धारका लागि सशस्त्र प्रहरी बलको सबै युनिटको परिचालन गरिएको बताए ।
प्रकाशित : आश्विन ८, २०७७ १७:४१