बाढीले मर्चवार क्षेत्रमा बितण्डा- प्रदेश ५ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाढीले मर्चवार क्षेत्रमा बितण्डा

माधव ढुंगाना

भैरहवा — लगातारको वर्षाका कारण दानव नदीमा आएको बाढीले रुपन्देहीको दक्षिणी सिमावर्ती मर्चवार क्षेत्रमा बितण्डा मच्चाउन सुरु गरेको छ ।

तिनाउ र दानव नदी मिसिएर एउटै भएपछि पानीको सतह धेरै हुने भएकाले वर्षेनि वर्षाको बेला मर्चवार क्षेत्रमा धन जनको क्षति पुर्‍याउने गर्छ ।

मर्चवार क्षेत्र अन्तर्गतको सम्मरीमाइ गाउँपालिकाका अध्यक्ष जितेन्दनाथ शुक्लले दानव नदीमा आएको बाढी बस्तीमा आउनाले मर्चवारको ६ वटा कच्ची घर भत्केको र ती घर परिवारलाई अन्यत्र स्थानान्तरण गरि सुरक्षित बनाइएको बताए ।

‘दानव नदीमा आएको बाढीले मर्चवार क्षेत्रमा बितण्डा मच्चाउन थालेको छ,’ अध्यक्ष शुक्लले भने, ‘कतै बस्तीमा बाढी पसेर घर भत्काउन थालेको छ त कतै पसाउन थालेको सयौं बिगाहा धानसहितको खेत डुबानमा पारेको छ ।’ सशस्त्र प्रहरी बलका सुरक्षाकर्मी र स्थानीय जनप्रतिनीधि सहितको टोली उद्धार कार्यमा जुटेको उनले जनाए ।

उनका अनुसार सम्मरीमाइ गाउँपालिका–५ स्थित पर्शुराम मल्लाह, चतुर्भुज गुप्ता, रोहित प्रसाद लोध, लाली पाशी र अवरुन निशा लगायतको घर बाढीले भत्काएकाले ती घर परिवारलाई अन्यत्र स्थानान्तरण गरिएको छ । त्यस क्षेत्र अन्तर्गत नै पर्ने लुम्बिनी सांस्कृतिक नगरपालिकाको भर्थापुर भन्ने स्थानमा पनि अजय मल्लाह र राधेश्याम मल्लाहको घर पनि भत्केकाले उद्धार गरिएको छ ।

सशस्त्र प्रहरी बल नेपालको दुई मुहान भन्‍ने स्थानमा रहेको बेसका सुरक्षाकर्मीले टोलीले पनि लुम्बिनी सांस्कृतिक नगरपालिका–२ भर्थापुरमा बाढीको पानी पसेका चारवटा घरबाट मानिस, अन्‍नपात र चौपायालाई छिमेकीको घरमा सारेर सुरक्षित बनाएको छ ।

घरायसी झगडाका कारण स-साना उमेरका दुई छोरा र एक छोरीलाई साथमा लिएर आत्महत्या गर्नका लागि दानव नदीमा पसेकी भर्थापुरकी ३३ वर्षीय गंगोत्री मल्लाहसहित सबैलाई सशस्त्र प्रहरी नायब निरीक्षक सहदेव सापकोटाको नेतृत्वमा खटिएको टोलीले नदीबाट जिवितै उद्धार गरेको छ । उनीहरुलाई आफ्नै घरमा सुरक्षित राखिएको छ ।

सशस्त्र प्रहरी बल २७ नम्बर गण रुपन्देहीका गणपती तथा सशस्त्र प्रहरी उपरीक्षक तेजकुमार पोखरेलले दानव र तिनाउ नदीले रुपन्देहीको विभिन्न स्थानका बस्तीमा क्षती पुर्‍याउन थालेकाले सतर्कता अपनाउँदै उद्धारका लागि सशस्त्र प्रहरी बलको सबै युनिटको परिचालन गरिएको बताए ।

प्रकाशित : आश्विन ८, २०७७ १७:४१
प्रतिक्रिया
पठाउनुहोस्

संसदीय उपसमितिले भन्यो –'ननकोभिडको बिरामीलाई सहज तरिकाले उपचारको व्यवस्था मिलाऊ'

कान्तिपुर संवाददाता

काठमाडौँ — कोभिड १९ नियन्त्रण तथा रोकथामका लागि सरकारले गरेका कामको अनुगमन गर्न गठित संसदीय उपसमितिले प्रत्येक अस्पतालहरुमा ‘नन कोभिड’ बिरामीहरुको सहज तरिकाले उपचारको व्यवस्था मिलाउन सुझाव दिएको छ ।

संसदको शिक्षा तथा स्वास्थ्य समिति अन्तर्गत गठित उपसमितिका संयोजक जीवनराम श्रेष्ठले प्रतिवेदन बुझाउँदै कोभिड बाहेकका अन्य रोगका बिरामीहरुले सहज उपचार सेवा पाउन नसकेको बताए । उपसमितिले पीसीआर रिपोर्ट छिटो प्रदान गर्न देशभरीका प्रयोगशालालाई एकीकृत रुपमा समन्वय गर्न पनि सुझाव दिएको छ ।

पीसीआर ल्याबको क्षमताअनुसार दक्ष जनशक्तिको व्यवस्था गर्दै पूर्ण क्षमतामा ल्याब सञ्चालन गर्नुपर्ने, होम आइसोलेसनमा बसेका संक्रमितको नियमित रुपमा स्वास्थ्यकर्मीले निगरानी गर्नुपर्ने उपसमितिले सुझाव दिएको हो । त्यसैगरी क्वारेन्टाइनमा रहेका बिरामीहरुलाई खाना बापत तोकिएको १७५ रुपैयाँ अपुग भएकाले बजार मूल्य अनुसार खानाको मूल्य निर्धारण गर्न पनि संयोजक श्रेष्ठले अनुरोध गरे ।

उपसमितिले कोभिड अस्पतालहरुमा भेन्टिलेटर, आईसीयू र दक्ष जनशक्तिको व्यवस्थापन गर्न,कोभिड उपचारमा खटिने स्वास्थ्यकर्मी र चिकित्सकलाई जोखिम भत्ता छिटो उपलब्ध गराउनु पर्ने, स्वास्थ्यकर्मी संक्रमित भएर उपचार सेवा प्रभावित हुन नदिन वैकल्पिक स्वास्थ्यकर्मीको व्यवस्थापन गर्न उपसमितिले सुझाव दिएको हो ।

स्वास्थ्यकर्मीलाई गुणस्तरीय पीपीई उपलब्ध गराउन, शव व्यवस्थापनका लागि शव गृहको क्षमता बढाउन, कोभिड संक्रमितको मृत्युदर बढेका बेला पनि सहज रुपमा शव व्यवस्थापन हुने गरि तयारी गर्ने सुझावसहित उपसमितिले समिति सभापति जयपुरी घर्तिलाई प्रतिवेदन बुझाएको हो ।

सांसद खगराज अधिकारीले शवगृह व्यवस्थापनलाई प्राथमिकतामा राख्‍न अस्पताल प्रशासनलाई आग्रह गरे । त्यसका साथै वीर अस्पतालमा बन्दीको मृत्यु प्रकरणका विषयमा बोल्दै सांसदहरुले शवगृह व्यवस्थापनमा उचित ध्यान दिन आग्रह गर्दै तीन दिनमै शव सड्ने अवस्थामा कसरी पुग्यो भन्ने प्रश्नको जवाफ दिनुपर्ने बताएका छन् ।

सांसद अञ्जना विशंखेले पनि शव गृह व्यवस्थापनबारे चासो राख्दै शवगृह जस्तो सुकै अवस्था भएपनि तीन दिनमा नै सड्ने अवस्था हुन्छ की हुँदैन भन्ने कुराको जवाफ दिनुपर्ने बताउँछिन् । वीर अस्पताल र कारागारले यसअघि नै कैदीबन्दी रामलखन जैसवालको मृत्यु शंकास्पद नभएको स्पष्टिकरण दिइसकेका छन् ।

पाटन अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, धुलिखेल अस्पतालले कोरोना भाइरस संक्रमितको उपचार गर्नुपर्दा आफ्नो नियमित आम्दानी गुमाएकाले सरकारले अनुदान दिनुपर्ने उपसमितिले सुझाव दिएको छ ।

प्रकाशित : आश्विन ८, २०७७ १७:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×