कालीमाटीमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध - प्रदेश ५ - कान्तिपुर समाचार

कालीमाटीमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध 

माधव अर्याल

पाल्पा — सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पा–बुटवल सडकखण्डको कालीमाटीमा पहिरो खस्दा बुधबार बिहानदेखि यातायात अवरुद्ध भएको छ ।

तिनाउ गाउँपालिका–५, कालीमाटीमा ढुंगासहितको ठूलो पहिरो खसेको प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए । उनका अनुसार सडक डिभिजनसँग समन्वय गरी सडक खुलाउने पहल भइरहको छ ।

तर मंगलबारदेखिको निरन्तर वर्षा नरोकिएकाले पहिरो पन्छाउन कठिनाई भएको प्रहरी चौकी प्रभासले जनाएको छ । सडक अवरुद्ध हुँदा रुपन्देही, नवलपरासी र कपिलवस्तुबाट राजमार्ग हुँदै पहाडी जिल्लामा आउने र तराई जाने सवारी साधन रोकिएका छन् ।

मंगलबारदेखि सडकमा पहिरो खस्ने र सडक खुलाउने क्रम जारी छ । सिद्धबाबा, झुम्सा, चौबीसमाइल, कालीमाटी, गौडे पुललगायतका स्थानमा पहिरो पन्छाउने काम भइरहेको छ ।

प्रकाशित : आश्विन ७, २०७७ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्

बेनी जोड्ने सबै सडक अवरुद्ध

घनश्याम खड्का

म्याग्दी — मंगलबार साँझदेखि लगातार वर्षासँगै आएको पहिरोले सदरमुकाम बेनी जोड्ने सबै सडक अवरुद्ध भएका छन् । बेनी–पोखरा सडकअन्तर्गत सहस्रधारामा पहिरो जाँदा यातायात ठप्प छ ।

त्यस्तै बेनी–जोमसोम सडकको जलेश्वर, चमेरे, गुइँठे र रुप्से छहरानजिक सडकमा पहिरो खसेको छ । सोही सडकको बेगखोलामा बाढी आउँदा पैदल यात्रासमेत मुस्किल भएको छ ।

सदरमुकामबाट बागलुङ पश्चिम बुर्तिबाङ जोड्ने सडकको घुमाउने र दरबाङनजिक पहिरो झरेको छ । बेनी नगरपालिकाको रानीवन तथा खबरामा पहिरोले सडक बगाउँदा यातायात अवरुद्ध भएको प्रहरीले जनाएको छ ।

सदरमुकाम जोड्ने सबै सडकमा यातायात अवरुद्ध भएकाले कहीँ विपद् आइलागे उद्धारका लागि पुग्न समस्या भएको जिल्ला दैवी प्रकोप व्यवस्थापन समितिले जनाएको छ । ‘मंगलबारबाट लगातार पानी परिरहेको र अझै केही दिन भारी वर्षा हुन सक्ने जोखिम रहेकाले उच्च सतर्क अवस्थामा छौं । स्थानीय तहलाई पनि सतर्क अवस्थामा रहन समन्वय गरेका छौं,’ प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले भने ।

प्रकाशित : आश्विन ७, २०७७ १०:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×