१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

प्याजमा कालोबजारी गर्ने ५ व्यवसायीलाई जरिवाना

नवीन पौडेल

परासी — प्याजको मनपरी मूल्य वृद्धि गरी कारोबार गर्ने पश्चिम नवलपरासीको परासीका ५ जना व्यवसायी कारबाहीमा परेका छन् । प्रतिकिलो ४४ रुपैयाँमा थोकमा खरिद गरेर ८० देखि १ सय रुपैयाँमा बिक्री गरेको भेटिएपछि जिल्ला प्रशासन कार्यालयले बजार अनुगमन गरेको थियो ।

प्याजमा कालोबजारी गर्ने ५ व्यवसायीलाई जरिवाना

गोदाममा प्रशस्त प्याज भएपनि अभाव देखाएर व्यापारीहरुले महँगोमा बिक्री गर्दै आएको जन गुनासो आएपछि बजार अनुगमन गरिएको पश्चिम नवलपरासीका सहायक प्रमुख जिल्ला अधिकारी जोरासिंह माझीले बताए । प्याजमात्रै होइन व्यापारीले आलुमा पनि आफूखुसी मूल्य निर्धारण गरि बिक्री गरेको भेटिएको माझीले बताए । प्रतिकिलो ३० रुपैयाँमा थोकमा खरिद गरिएको आलु बजारमा ५५ देखि ६० रुपैयाँसम्म बिक्री भएको पाइएको छ ।

ठूला थोक बिक्रेताले नै व्यवसाय दर्ता नगरी आफूखुसी महँगोमा तरकारी बिक्री गर्दै आएको भेटिएपछि कारबाही गरिएको घरेलु तथा साना उद्योग कार्यालय परासीका उद्योग अधिकृत नेत्र भुसालले बताए । त्यसरी चर्को मूल्यमा प्याज बिक्री गर्ने र बिना दर्ता पसल सञ्चालन गर्ने ४ जनालाई जनही ६० हजार र एक जनालाई २० हजार रुपैयाँ जरिवाना गरिएको भुसालले बताए । ‘सदरमुकाममा नै ठूला व्यवसायीले बिना दर्ता गोदाम सञ्चालन गरेको भेटियो,’ उनले भने, ‘गोदाममा सामान हुँदाहुँदै पनि कृत्रिम अभाव देखाएर उपभोक्ता ठगी गरेको पाइएपछि जरिवाना गरिएको हो ।’

बजार अनुगमन र नियमनको अधिकार स्थानीय तहलाई भएपनि स्थानीय सरकारले बजार अनुगमन गर्दैनन् । कार्यविधी तथा कानुनी अड्चन भएको भन्दै जनप्रतिनिधि जिम्मेवारीबाट पछाडि हट्ने गरेका छन् ।

प्रकाशित : आश्विन ६, २०७७ १६:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?