प्रदेश ५ को प्रदेश सभा बैठक सुरु

घनश्याम गौतम

रूपन्देही — प्रदेश ५ को प्रदेश सभा छैठौं अधिवेशन मंगलबारबाट सुरु भएको छ । प्रदेशको राजधानी र नामाकरण यसै अधिवेशनबाट टुंगो लगाउने सरकारको तयारी छ । कोभिड–१९ को संक्रमण बढ्दै गएपछि बैठक साउन १८ पछि स्थगित भएको थियो । 

प्रदेश ५ को प्रदेश सभा बैठक सुरु

मंगलबारको बैठकको विशेष समयमा बोल्दै प्रदेश सभा सदस्यले कोरोना महामारी नियन्त्रणमा सरकारले गरेका कमजोरीदेखि बाढीपहिरोको पीडा र अन्य गतिविधिका विषय उठाएका छन् । सार्वजनिक लेखा समिति सभापतिसमेत रहेका सांसद डिल्लीबहादुर चौधरीले सोमबार गुल्मीमा नेपाली कांग्रेसका सभापति र कार्यकर्तामाथि प्रहरीबाट भएको धरपकडको निन्दा गर्दै प्रजिअ र प्रहरी प्रमुखलाई कारवाहीको माग गरे । त्यस्तै प्रदेशका बाँके र बर्दियामा कोभिड–१९ को परिक्षण रोकिएको भन्दै तत्काल सञ्‍चालन गर्न आग्रह गरे । त्यस्तै प्रदेशमा सिंचाई कुलोको मर्मत हुन नसकेको, सुत्केरी र गर्भवती महिला भोकभोकै मर्न थालेको भन्दै प्रदेश सरकारले भूमिका निर्वाह गर्न नसकेको बताए ।

बैठकमा जनमोर्चाकी तारा जिसी, जनता समाजवादी पार्टीका सन्तोषकुमार पाण्डेय, नेकपाका भोजप्रसाद श्रेष्ठ लगायतले विशेष समयमा बोलेका थिए । जिसीले एमसीसी नेपालको हितमा नभएको भन्दै अनुमोदन गर्न नहुने बताइन् । पाण्डेयले यातायात व्यवस्था कार्यालय भैरहवामा राख्नुपर्ने, कोरोनाका नाममा भ्रष्टाचार बढेकोले त्यसलाई नियन्त्रण गर्नुपर्ने लगायत विषय उठाउँदै सरकारको जवाफ मागे ।

प्रदेश सभा सदस्य श्रेष्ठले प्रदेश सरकार प्रत्येक जिल्लामा कोरोना परीक्षण गर्ने गरी अघि बढ्नु पर्ने र स्थानीय तहसँग सहकार्य गर्दै स्थानीय तहलाई अझै बलियो र परिपक्क बनाउनु पर्ने आवश्यकता देखिएको उनले बताए ।

प्रदेश सरकारले स्थापना गर्न लागेको प्रदेश पूर्वाधार विकास प्राधिकरण स्थापना र संचालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा पेस भएको छ । सरकारको तर्फबाट आन्तरिक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीले विधेयक पेस गरेका हुन् । सरकारले यसै अधिवेशनबाट प्रदेश राजधानी र नामाकरण टुंगो लगाउने घोषणा गरेको थियो । नीति तथा कार्यक्रम र बजेटमा समेत राजधानी र नामको विषय समेटिएको थियो । त्यही राजधानी र नामाकरण टुंगो लगाउने उद्देश्यसहित बैठक सुरु गरिएको नेकपाका प्रमुख सचेतक भुमिश्वर ढकालले बताए । बैठकमा उद्योग पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरीले अहिलेसम्म मन्त्रालयसँग सम्बन्धित विषयमा उठेका जिज्ञासाको जवाफ दिएका थिए ।

प्रकाशित : आश्विन ६, २०७७ १६:००
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?