बुटवलमा सार्वजनिक जग्गा पत्ता लगाउन लगत संकलन सुरु

अमृता अनमोल

बुटवल — सार्वजनिक जग्गाको अतिक्रमण पत्ता लगाउन बुटवल उपमहानगरपालिकाले जग्गाको दोस्रो चरणको लगत संकलन थालेको छ ।

बुटवलमा सार्वजनिक जग्गा पत्ता लगाउन लगत संकलन सुरु

सार्वजनिक जग्गाको अभिलेखीकरणसँगै अव्यवस्थित बसोबास र सुकुम्वासी क्षेत्रको एकिन गर्न भन्दै सबैभन्दा धेरै अव्यवस्थित जग्गा रहेको बुटवल ११ बाट वैज्ञानिक नापजाँचको काम सुरु गरेको हो । एक सय बिगाहा जग्गा नापजाँच गर्न आइतबारदेखि काम थालिएको उपमहानगरपालिका प्रमुख शिवराज सुवेदीले जानकारी दिए । पहिलो चरणमा यस वडाकै करिब ८० विगाहा जग्गामा नाप गरिएको थियो ।

बुटवलका करिब १६ हजार घर सार्वजनिक क्षेत्रमा छन् । उपमहानगरका जनप्रतिनिधिहरुको कार्यदलले घरदैलो मार्फत उक्त तथ्यांक निकालेको हो । त्यसमा खाली गर्नुपर्ने सार्वजनिक जग्गा, नदी तटीय क्षेत्र र व्यवस्थापन वा पुर्जा दिनुपर्ने बसोबासीको छुट्टाछुट्टै लगत संकलन गर्न वैज्ञानिक नापजाँच थालिएको हो ।

नापजाँचमा विज्ञसँगै टोलविकास संस्थाका पदाधिकारी, वडाका प्राविधिक र जनप्रतिनिधिहरू समेत खटेका छन् । संघीय सरकारले भूमिसम्बन्धी ऐनको आठौं संशोधन गर्दै भूमि आयोग गठन गरेको छ । प्रदेश सरकारले भू–उपयोगितासम्बन्धी कानुन निर्माण अन्तिम चरणमा पुर्‍याएकाले उपमहानगरले अव्यवस्थित बसोबास र सार्वजनिक जग्गाको नापजाँच गरी अभिलेखिकरण राख्न लागेको उपमहानगरका उपप्रमुख गुमादेवी आचार्यले बताइन् ।

प्रकाशित : आश्विन ४, २०७७ १६:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?