३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

अस्पताल भाडाको घरमा, सरकारी जग्गा खाली

नवीन पौडेल

परासी — सरकारी जग्गा प्रशस्त हुँदाहुँदै भोगाधिकार नपाउदा पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका २ चिसापानी अस्पताल भाडाको घरमा संचालन गर्नुपरेको छ । आम्दानी भाडा र प्रशासनिकतर्फ खर्चनु परेकोले स्वास्थ्य सेवा र उपकरण थप गर्न कठीनाई भएको अस्पतालले जनाएको छ । 

अस्पताल भाडाको घरमा, सरकारी जग्गा खाली

सरकारी अस्पताल भए पनि भाडाको घरमा सञ्‍चालन हुँदै आएको छ । अस्पताल भवन निमार्णका लागि पटक-पटक बजेट विनियोजन भए पनि आफ्नै जग्गा नहुँदा बजेट फिर्ता हुने गरेको छ ।

पूर्वपश्चिम राजमार्गअन्तर्गत दाउन्ने र बर्दघाट खण्ड अत्याधिक सवारी दुर्घटना हुने क्षेत्रमा पर्दछ । दुर्घटनामा घाइतेहरुले सामान्य उपचारसमेत नपाउँदा अकालमा ज्यान गुमाउन परेपछि स्थानीयको सक्रियतामा अस्पताल स्थापना गरिएको हो । ‘सामान्य दुर्घटनामा पनि उपचार नपाउँदा अत्याधिक रक्तश्राव र समयमा अस्पताल नपुग्दा धेरैले अकालमा नै ज्यान गुमाउनु परेको थियो’,स्थानीय देवी पौडेलले भने, ‘सरकारी र सार्वजनिक जग्गा प्रशस्त हुँदाहुँदै पनि अस्पताल निमार्णका लागि जग्गा नपाएर करोडौं रुपैयाँ फिर्ता जानु राम्रो होइन् । तत्काल आफ्नै भवन निमार्ण गरेर विशेषज्ञ सेवा संचालन हुनुपर्दछ ।’

२०७३ सालमा १५ शय्याको अनुमति लिएर संचालनमा आएको हो । अस्पतालले अहिले मासिक ७२ हजार भाडा तिरिरहेको जनस्वास्थ्य निरीक्षक रमेशचन्द्र न्यौपानेले बताए । ‘घरायासी प्रयोजनका लागि निर्माण भएको घरमा अस्पताल संचालन गर्न सोचेजस्तो सहज छैन । साघुँरो कोठामा बसेर भए पनि चिकित्सक र स्वास्थ्यकर्मीले सेवा दिइएका छन्’उनले भने,‘आफ्नै भवनका लागि पटक-पटक पहल भए पनि जग्गा भोगाधिकार नपाउँदा समस्या भएको छ । अस्पताल अगाडि सरकारी खाली जग्गा भए पनि भवन निर्माण गर्न पाइएको छैन । ’

अस्पतालको भवन निर्माणका लागि स्थापनाकालमा १३ करोड रुपैयाँ विनियोजन भए पनि जग्गा व्यवस्थापन नहुँदा रकम फ्रिज भएको थियो । पटक पटक सार्वजनिक जग्गा प्राप्तिका लागि सरकारसँग माग गर्दा जग्गा प्राप्त नपाएको भन्दै स्थानीयले अहिले राष्ट्रिय आवास कम्पनीको खाली जग्गामा अस्पताल भवन निर्माण स्थलको बोर्ड राखेका छन् । सरकारी जग्गा खाली राख्ने तर सरकारी अस्पताललाई भोगाधिकार नदिएको भन्दै स्थानीयले सोही जग्गामा भवन निर्माण गर्ने भन्दै बोर्ड राखेका छन् । सोही खाली जग्गामा बर्दघाट नगरपालिकाले पनि अस्थायी क्‍वारेन्टाइन निर्माण गरेको छ ।

अहिले अस्पतालका लागि स्थानीयवासी र नगरपालिकाले राष्ट्रिय आवास कम्पनीको स्वामित्वमा रहेको खाली जग्गा उपलब्ध गराउन माग गर्दै आएका छन् । आवास कम्पनीको नाममा बर्दघाट नगरपालिका २ पूर्वपश्चिम राजमार्गसँग जोडिएको ८ बिगाहा २ कठ्ठा जग्गा छ । तर आवास कम्पनीले नगरपालिकाले मागर्अनुसार अस्पताललाई जग्गा उपलब्ध गराएको छैन ।

राष्ट्रिय आवास कम्पनी पश्चिम नवलपरासीका प्रमुख महेन्द्र थापाले जिल्लास्तरबाट नगरपालिका र स्थानीयले माग गरेको जग्गा उपलब्ध गराउन नसकिने भन्दै केन्द्रबाट नै यस विषयको टुंगो लगाउनुपर्ने बताए ।

बर्दघाट नगरपालिकाका प्रमुख तथा चिसापानी अस्पताल विकास समितिका अध्यक्ष धिरज शर्मा बस्यालले जग्गा प्राप्तिका लागि आवश्यक कागजात सम्बन्धित मन्त्रालयमा पठाइएको र छिट्टै जग्गा प्राप्ति हुने बताए । दैनिक सयभन्दा बढी बिरामीले सेवा लिँदै आएको अस्पतालमा ३ जना चिकित्सकसहित २८ जना स्वास्थ्यकर्मी कार्यरत छन् ।





प्रकाशित : आश्विन ४, २०७७ १५:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?