कालीगण्डकीबाट सम्झौताभन्दा सात गुणा बढी ढु‌ंगागिट्टी स‌ंकलन

माधव अर्याल

पाल्पा — लकडाउनकै अवधिमा निस्दी गाउँपालिका भोटाहाघाटमा कालीगण्डकी नदीको तीव्र दोहन भएको पाइएको छ । गाउँपालिकाले ठेक्का लगाएको भन्दा सात गुणा बढी नदीजन्य पदार्थ निकालिएकाे हाे ।

कालीगण्डकीबाट सम्झौताभन्दा सात गुणा बढी ढु‌ंगागिट्टी स‌ंकलन

रामपुरका व्यवसायी सीताराम देवकोटाले जेठ मसान्तसम्म ३ हजार १ सय ८६ घनमिटर निर्माण सामग्री निकाल्ने गरी ठेक्का सम्झौता गरेका थिए । तर, उनले डोजर र एक्स्काभेटर प्रयोग गरी सात गुणा बढी सामग्री निकालेको पाइएको गाउँपालिका अध्यक्ष मुक्तबहादुर सारूले बताए । बढी उत्खनन गरेको गुनासो पालिकामा आएपछि इन्जिनियर लगाएर नापजाँच गर्दा २१ हजार घनमिटर नदीजन्य सामग्री उत्खनन गरेर डम्प गरेको भेटिएको उनको भनाइ छ ।

‘हामीले सम्झौता गरेको ठेक्काको परिणाम थाहा हुने हो,’ उनले भने, ‘त्यसबाहेक अरू केही थाहा छैन ।’ जेठ मसान्तसम्मको ठेक्का सम्झौता भए पनि व्यवसायीले साउन–भदौमा समेत नदी उत्खनन गरेका छन् । देवकोटाले कालीगण्डकी करिडोरलाई बिक्री गर्न नदीजन्य पदार्थ उत्खनन गरेका हुन् । वडाध्यक्ष पूर्णबहादुर खाँडले वर्षायाममा नदीमा जथाभावी डोजर–एक्स्काभेटर लगाइएको विषयमा पटकपटक जानकारीसमेत गराइएको बताए ।

स्थानीयले वर्षायाममा नदीकै धार परिवर्तन हुने गरी उत्खनन गरिएको आरोप लगाएका छन् । ‘हामीले डोजर, स्काभेटर लगाएर उत्खनन गरिँदा नै वडाध्यक्षका साथै सबैलाई जानकारी दिएका हौं,’ धनीमाया रानाले भनिन्, ‘निकालेर सकेपछि नापजाँच गर्न आएका हुन् ।’ गाउँपालिका अध्यक्ष सारुले आफूले यस विषयमा ढिला जानकारी पाएको र जानकारी पाउनासाथ तत्काल रोक्न आदेश दिएको बताए ।

कालीगण्डकीमा एक्स्काभेटर लगाइएको जानकारी पाएपछि जिल्लास्तरीय अनुगमन टोली पुगेको छ । प्रदेशसभा सदस्य नारायण आचार्य, युवराज खनाल, प्रमुख जिल्ला अधिकारी रमेश न्यौपाने, जिल्ला समन्वय कार्यवाहक प्रमुख मीरा मरासिनी, जिल्ला प्रहरी प्रमुख सन्तोष कुमार भट्टराईलगायतको टोलीले अनुगमन गरेको हो ।

जिल्ला समन्वय अधिकारी लेखनाथ ज्ञवालीले अब छुट्टै समिति बनाएर पुनः नाप जाँच गरिने बताए । जनप्रतिनिधि र व्यवसायीको मिलेमतोमा नदीजन्य पदार्थको उत्खनन भएको स्थानीयको आरोप छ । कालीगण्डकी करिडोरअन्तर्गतको निर्माण कम्पनी ईकेके इन्फास्ट्रक्चरले गाउँपालिकाको निर्णयबिनै देवकोटाको ठेक्काबाहेक १० हजार घनमिटर उत्खननका लागि दबाब दिएको छ । गाउँपालिका अध्यक्ष सारुले आफूलाई यस विषयमा कुनै जानकारी नभएको बताए । ‘मलाई यस विषयमा कुनैजानकारी छैन,’ उनले भने, ‘कार्यपालिकाबाट समेत यस विषयमा कुनै पनि निर्णय भएको छैन ।’

कालीगण्डकी कोरिडोर (गैडाकोट–राम्दी–मालढुंगा) सडक योजनाका योजना प्रमुख इन्जिनियर नरेन्द्र सुवेदीले भने आवश्यकता अनुसार ढुंगा, गिट्टी, वालुवा उपलब्ध नहुँदा भौतिक प्रगतिमा असर परेको भन्दै निस्दी गाउँपालिकामा पत्र पठाएका छन् । उनले आईईई स्वीकृत भइसकेको र कालीगण्डकीका साथै शाखा खोलाबाट हेभी उपकरण प्रयोग गरी नदीजन्य सामाग्री उत्खनन गर्न सकिने पत्रमा उल्लेख छ । सोही अनुसार १० हजार घनमिटर ठेकेदारलाई उपलब्ध गराउन गाउँपालिकामा पत्र पठाएका छन् ।

गाउँपालिकाकी उपाध्यक्ष रीताकुमारी खनाल अर्यालले अध्यक्ष सारु नभएका बेला कालीगण्डकी कोरिडोरका निर्माण व्यवसायी र ठेक्का लिएका देवकोटालाई १० हजार घनमिटर निकाल्ने स्वीकृति दिएको पाइएको छ । उनले वर्षा सुरु भइसकेपछि जेठ ३२ गते आईआईले स्वीकृत गरेको इक्विपमेन्टको प्रयोग गरेर असार मसान्तसम्म नदीजन्य पदार्थ निकाल्ने गरी पत्र दिएकी छन् । तर निर्माण व्यवसायीले भदौसम्मै निकालेका छन् ।

निस्दी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भगवानभक्त अर्यालले ठेक्का सम्झौताभन्दा धेरै नदीजन्य सामग्री निकालिएको स्विकारे । ‘कालीगण्डकी कोरिडोरका लागि आवश्यक सामाग्री माग भएकालेस सोही अनुसार निकाल्ने अनुमति दिइएको हो,’ उनले भने, ‘अहिले रोक लगाइसकिएको छ ।’ मागअनुसार उपाध्यक्ष अर्यालले हस्ताक्षर गरेर दिएको र सोहीअनुसार आफूले कामकारबाहि अगाडि बढाएको उनले बताए ।

ठेक्का र आईईई रिपोर्टबिनै गाउँपालिका उपाध्यक्षले उत्खननका लागि पत्र दिएको भन्दै स्थानीयले विरोध जनाएका छन् । कालीगण्डकी करिडोरअन्तर्गतका निर्माण व्यवसायीका प्रतिनिधि धर्मध्वज कुँवरले भने तोकिएको परिमाणभन्दा बढी उत्खनन नगरिएको दाबी गरे ।

प्रकाशित : आश्विन ४, २०७७ १२:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?