६ अस्पताल ५० शय्यामा स्तरोन्‍नती गर्ने प्रदेश ५ सरकारको निर्णय- प्रदेश ५ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

६ अस्पताल ५० शय्यामा स्तरोन्‍नती गर्ने प्रदेश ५ सरकारको निर्णय

घनश्याम गौतम, अमृता अनमोल

रूपन्देही — प्रदेश ५ सरकारले ६ जिल्लाका अस्पताललाई ५० शय्यामा स्तरोन्‍नती गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को शुक्रबारको बैठकले रुकुमपूर्व, रोल्पा, कपिलवस्तु, अर्घाखाँची, पाल्पा र भीम अस्पताल भैरहवालाई ५० शय्यामा स्तरोन्‍नती गर्ने निर्णय गरेको हो । निर्णय भएका अधिकांश अस्पताल अहिले १५ बेडका छन् । 

बैठलले भीम अस्पताल भैरहवा र कपिलवस्तु जिल्ला अस्पतालमा ७१ जनाको दरबन्दी स्वीकृत गरेको छ । यस्तै रुकुमपूर्व, रोल्पा, अर्घाखाँची तथा पाल्पा जिल्ला अस्पतालका लागि ६० जनाको दरबन्दी स्वीकृत गरेको छ । प्रदेश सरकारले नेपाल स्वास्थ्य सेवाअन्तर्गत एघारौं तहका डेण्टल सर्जन डा. वर्षा थापालाई लुम्बिनी प्रादेशिक अस्पतालमा कामकाजमा खटाउने निर्णय पनि गरेको सामाजिक विकासमन्त्री सुदर्शन बरालले जानकारी दिए ।

त्यस्तै प्रदेश सरकारले शव बाहन खरिदका ६ स्थानीय तहलाई ९० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय पनि गरेको छ । कोभिड–१९ नियन्त्रण तथा उपचार कोषबाट प्रतिपालिका १५ लाख रुपैयाँका दरले रकम उपलब्ध गराउने निर्णय गरिएको हो । एम्बुलेन्सका लागि रकम पाउने सूचीमा प्यूठान नगरपालिका, गुलरिया नगरपालिका, सिस्ने गाउँपालिका, रोल्पा नगरपालिका, सन्धिखर्क नगरपालिका र रामग्राम नगरपालिका छन् ।

यस्तै बैठकले आन्तरिक मामिला तथा कानुन मन्त्रालयको प्रदेश मामिला सूचना केन्द्र र जिल्लास्थित कार्यालयका लागि १९ जनाको दरबन्दी स्वीकृत गरेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार शेरबहादुर केसीले बताए ।

बैठकले गुल्मीको रेसुंगा नगरपालिका र हाकिञ्ज परिषद्, बेलायतबीच भगिनी सम्बन्ध कायम गर्न नेपाल सरकारमा सिफारिस पठाउने, पश्चिम नवलपरासीको त्रिवेणी गाउँपालिकाको वडा संख्या र सीमाना हेरफेर गरी क्रम मिलान गर्नेसम्बन्धी सम्बन्धित गाउँपालिकाको प्रस्ताव पनि नेपाल सरकारसमक्ष पठाउने निर्णय गरेको छ ।

प्रकाशित : आश्विन २, २०७७ १५:४०
प्रतिक्रिया
पठाउनुहोस्

सर्लाहीका कोरोना संक्रमितको भरतपुर अस्पतालमा मृत्यु

रमेशकुमार पौडेल

चितवन — मृगौला फेल भइ डायलाइसिस सेवा लिइरहेका सर्लाहीका एक जना ५५ वर्षीय कोरोना भाइरस संक्रमित पुरुषको उपचारका क्रममा शुक्रबार भरतपुरको सरकारी अस्पतालमा मृत्यु भएको छ ।

भरतपुर अस्पतालले दिएको जानकारी अनुसार सर्लाही हरिपुर गाउँपालिकाका ती व्यक्तिमा खोकी र श्वासप्रश्वासको समस्या पनि थियो ।

भदौ १८ गते संक्रमण पुष्टि भएपछि सोही दिन भरतपुर अस्पतालको आइसोलेसनमा भर्ना भएका थिए । अवस्था जटिल हुँदै गएपछि भदौ २३ गते कोभिड आईसीयूमा राखेर उपचार र नियमित डायलाइसिस पनि हुँदै आएको अस्पतालले जनाएको छ । उनको शुक्रबार बिहान १० बजे निधन भएको हो ।

योसहित चितवनमा कोरोना भाइरसको संक्रमणका कारण निधन हुने व्यक्तिको संख्या ३१ पुगेको छ । जसमध्ये १७ जना चितवनका हुन् । अन्य व्यक्तिहरु उपचारका लागि विभिन्न जिल्लाबाट भरतपुर आएकाहरु हुन् ।

प्रकाशित : आश्विन २, २०७७ १५:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×