कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

तिलोत्तमाले दिन थाल्यो युवालाई बिनाधितो सहुलियतपूर्ण कर्जा

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको तिलोत्तमा नगरपालिकाले युवालाई उत्पादनसँग जोडी स्वरोजगार बनाउन बिनाधितो सहुलियतपूर्ण कर्जा दिन सुरु गरेको छ । 

तिलोत्तमाले दिन थाल्यो युवालाई बिनाधितो सहुलियतपूर्ण कर्जा

स्वरोजगार बन्न चाहने युवालाई नगरपालिकाले नेपाल बैंक लिमिटेडसँगको सहकार्यमा प्रतिव्यक्ति बढीमा चार लाख रुपैयाँसम्म सहुलियतपूर्ण कर्जा लगानी गर्न थालेको हो । पहिलो चरणमा दुई करोड रुपैयाँ कर्जा प्रवाह गर्नेगरी नगरपालिकाले युवाहरुसँग गत वैशाख २४ गते उद्यम प्रस्ताव आह्वान गरेको थियो ।

प्रस्ताव पेस गरेका झण्डै सात सयमध्ये पहिलो चरणमा छनौट भएका ८७ जनालाई कर्जा दिन थालिएको नगरप्रमुख वासुदेव घिमिरेले बताए । ‘शुक्रबार नगरपालिकामा आयोजित एक कार्यक्रमका बीच १५ जनालाई कर्जा प्रस्ताव–पत्र हस्तान्तरण गरी सहुलियत कर्जा वितरण गरियो,’ उनले भने, ‘नगरपालिकाले आगामी दिनमा सहुलियत कर्जा वितरणलाई विस्तार गर्दै जाने छ ।’ धितो राख्न नसक्ने निम्न आय भएकालाई लक्षित गरी यो कार्यक्रम सुरु गरिएको घिमिरेले बताए ।

कोरोना महामारीको कारण रोजगारीका अवसर संकुचित भैरहँदा नगरपालिकाले गत वैशाख २४ गते सहुलियतपूर्ण कर्जाको लागि प्रस्ताव आह्वान गरेको थियो । प्रस्ताव पेस गरेकामध्ये नगरपालिका र बैंकका प्रतिनिधि सहभागी छनौट समितिले कर्जाका लागि नाम सिफारिस गरेअनुरुप कर्जा वितरण थालिएको नेपाल बैंक लिमिटेड प्रदेश ५ का प्रमुख पासाङ दोर्जे शेर्पाले जानकारी दिए । उनका अनुसार तिलोत्तमामा चालु आर्थिक वर्षमा नगरपालिकासंगको सहकार्यमा थप ८ करोड सहुलियत कर्जा प्रवाह गर्ने योजना छ ।

कर्जा प्राप्त गर्ने युवा १८ देखि ५० वर्ष उमेर समूहको हुनुपर्ने र कुनै पनि बैंक तथा वित्तीय संस्थाबाट कर्जा नलिएको हुनुपर्ने नगरपालिकाले जनाएको छ । महिला, दलित, पछाडि पारिएको वर्ग-समुदाय, वैदेशिक रोजगारबाट फर्किएकालाई कर्जामा प्राथमिकता दिइएको प्रमुख घिमिरेले बताए ।

प्रकाशित : आश्विन २, २०७७ १४:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?