चितुवासँग भिडेर जोगिए खड्गबहादुर

माधव अर्याल

पाल्पा — रम्भा गाउँपालिका–१, हुँगी कराङ्दीखोलाका खड्गबहादुर फालमगर बिहीबार चितुवाको आक्रमणमा परेर जोगिएका छन् । बस्तु चराउन जंगल गएका ५२ वर्षीय मगरलाई त्यहीँ चितुवाले आक्रमण गरेको हो ।

चितुवासँग भिडेर जोगिए खड्गबहादुर

स्थानीयका अनुसार मगरले झन्डै १० मिनेटसम्म चितुवासँग कुस्ती खेलेका थिए । उनको गुहार सुनेर पुगेका अर्का एक युवकको सहयोगमा उनी जोगिन सफल भएको स्थानीय केदार बस्यालले बताए ।

मगरको अनुहार र हातखुट्टामा चोट लागेको छ । उनको गल्याङ सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरी चौकी हुँगीले जनाएको छ ।

ती युवकका अनुसार उनी पुग्दा मगर चितुवाको घाँटीमा समातेर कुस्ती खेल्दै थिए । त्यसपछि उनीहरू दुवै मिलेर चितुवालाई ढुंगाले हानेका थिए । ढुंगाले लागेर चितुवा मरेको छ । मरेको चितुवालाई सबडिभिजन वन कार्यालय, ताहुँको समन्वयमा गाडिएको छ ।

पछिल्लो समय जिल्लामा चितुवाको आक्रमण बढेको छ । डिभिजन वन कार्यालयका सूचना अधिकारी यमलाल पोखरेलका अनुसार तीन महिनाअघि रैनादेवी छहराको भुवनपोखरीमा स्थानीयले दुम्सीका लागि थापेको पासोमा चितुवा परेको थियो । उक्त चितुवालाई सौराहा लगेर छाडिएको थियो । यस्तै जिल्लाका बगनासकालीको चापपानी, खानीगाउँ, रिब्दीकोटको पालुङमैनादी, रैनादेवी छहराको मुझुङ, रम्भाको पिपलडाँडामा पनि चितुवाले दुःख दिँदै आएको छ । ‘मान्छेको चहलपहल गाउँमा कम भएर होला चितुवाको संख्या बढेको छ,’ पोखरेलले भने, ‘जसले गर्दा मानव–वन्यजन्तुको लडाइँ बढी भएको छ ।’

प्रकाशित : आश्विन २, २०७७ १०:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?