२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

तिलोत्तमा नगरपालिकाका निजी विद्यालयले ७५ प्रतिशत शुल्क लिन पाउने

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको तिलोत्तमा नगरपालिकाले यहाँका निजी विद्यालयले मासिक शिक्षण शुल्कलाई आधार मानी ७५ प्रतिशत मात्रै शुल्क उठाउन स्वीकृति दिएको छ ।

तिलोत्तमा नगरपालिकाका निजी विद्यालयले ७५ प्रतिशत शुल्क लिन पाउने

विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका ०७७ को दफा ३० मा भएको व्यवस्थाअनुसार नगर शिक्षा समितिको मंगलबार बसेको बैठकले विद्यार्थीबाट उठाइने शुल्क निर्धारण गरेको नगरपालिकाले जनाएको छ । नगरपालिकाका शिक्षा प्रमुख गंगाराम आचार्यले नगरपालिकाले निर्धारण गरेको शुल्क असार महिनादेखि मात्रै विद्यालयहरुले लिन पाउने बताए । उनका अनुसार वैकल्पिक सिकाई क्रियाकलापमा सहभागी हुने विद्यार्थीबाट मात्रै विद्यालयले शुल्क लिन पाउनेछन् ।

त्यसमा अनलाइन कक्षाका साथै निर्देशिकामा उल्लेख भएका थप सहजीकरणका ४ माध्यम रहेका छन् । मासिक शिक्षण शुल्क बाहेकका अतिरिक्त क्रियाकलाप शुल्क, यातायात शुल्क, विज्ञान शुल्क, कम्प्युटर शुल्क, पुस्तकालय शुल्कलगायतका शुल्कहरु सहज रुपमा विद्यालयमा विद्यार्थीहरु भौतिक रुपमा उपस्थित नभएसम्म लिन नपाइने आचार्यले बताए ।

तोकिएकोभन्दा बढी शुल्क लिए र तोकिएको भन्दा अरु शीर्षकमा शुल्क उठाए त्यस्ता विद्यालयलाई कारबाहीको दायरामा ल्याउने शिक्षा प्रमुख आचार्यले बताए । तिलोत्तमा नगरपालिकामा ३९ वटा संस्थागत विद्यालय छन् । ती विद्यालयमा करिब २४ हजार विद्यार्थी अध्ययनरत छन् ।


प्रकाशित : भाद्र ३१, २०७७ ०९:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?