लकडाउनमा पनि रोकिएन किशोरी ओसारपसार

तिलोत्तमा/नेपालगन्ज — साउन ७ गते कोहलपुरबाट १४ वर्षका दुई बालिका हराए । परिवारले खोजीका लागि स्थानीय प्रहरी र विभिन्न संघसंस्थामा निवेदन दिए । त्यसको ५ दिनपछि उनीहरू काठमाडौंमा फेला परे । उनीहरूले आफन्तकोमा जाँदा चिनजान भएकी महिलासँग काठमाडौं पुगेको बताए । राम्रो काम लगाइदिने प्रलोभनमा पारी उनीहरूलाई फर्जी कागज बनाएर काठमाडौं लगिएको खुलेको छ ।

लकडाउनमा पनि रोकिएन किशोरी ओसारपसार

असार ११ गते नेपालगन्जका १८ र १९ वर्षका किशोरी हराए । आफन्तले प्रहरीमा निवेदन दिए । चार दिनपछि आफन्तको घरबाट उनीहरूको उद्धार गरियो । बाँकेकै ११ वर्षीया बालिका साउन २३ बाट बेपत्ता छिन् । परिवारले प्रहरी र माइती नेपालको शाखामा निवेदन दिए पनि अझै फेला परेकी छैनन् ।

लकडाउन र निषेधाज्ञाको समयमा पनि मानव बेचबिखन तथा ओसारपसारका घटना भइरहेको पाइएको छ । लकडाउनको अवधिमा मात्रै १७ युवतीका परिवारले खोजतलासका लागि निवेदन दिएको माइती नेपाल शाखाका संयोजक केशव कोइरालाले बताए । उनका अनुसार सवारीसाधन नचलेको र एकबाट अर्को जिल्लामा आउजाउ सहज नहुँदा पनि किशोरी तथा युवतीहरूलाई राम्रो काम लगाइदिने बहानामा लैजाने गरिएको पाइएको छ । विगतमा जसरी भारत तथा तेस्रो मुलुक पुर्‍याउन नसके पनि दलालले किशोरीलाई आन्तरिक रूपमा बेचबिखनको चपेटामा पारेको कोइरालाले बताए ।

‘किशोरी–बालिकाको स्कुल छैन, सबै बेरोजगार छन्,’ उनले भने, ‘कोरोनाको बन्दाबन्दीमा आन्तरिक बेचबिखनको खतरा बढाएको छ ।’ बन्दाबन्दीले बेरोजगारी बढाएकाले युवतीहरूलाई प्रलोभनमा पार्न दलाललाई सजिलो भएको उनले बताए ।

०७६ चैतदेखि ०७७ भदौसम्म नेपालगन्ज नाका हुँदै ५ सय ८५ जना हराएको निवेदन माइती नेपालमा परेको थियो । तीमध्ये २ सय ८० जना फेला परेका छन् । अधिकारकर्मी कमला पन्तले बालिका तथा किशोरीहरू लकडाउनमा झनै असुरक्षित हुँदै गएको बताइन् । ‘भएका संरचनाले काम गर्न सकेको छैन, पारिवारिक वातावरणले प्रभाव पारेको छ,’ उनले भनिन्, ‘अहिलेको स्थितिमा बालिका र किशोरी चेतना र पहुँचबाट वञ्चित छन् । सबैमा फ्रस्टेसनको लेबल बढ्दै छ ।’

शान्ति पुनःस्थापना केन्द्र कपिलवस्तुकी संयोजक निशा पन्थीले लकडाउनको ५ महिनामा १५ महिलालाई सीमाबाट फिर्ता गरिएको बताइन् । ‘आठ जनालाई भारतबाट उद्धार गरेर ल्याउन सफल भयौं,’ उनले भनिन् । विद्यालय बन्द भएको र घरमै बसिरहेका बेला विभिन्न प्रलोभन देखाएर नाता जोड्ने, फेसबुकमा मायाप्रेमका कुरा गरेर फसाउने गरेको पीडितसित कुराकानीबाट खुलेको उनले बताइन् । कृष्णनगर नाका हुँदै भारत जान मोरङ, इलाम, दाङलगायत ठाउँबाट किशोरी तथा युवतीहरू आएको उनले बताइन् ।

खास गरी प्रदेश ५ का सीमावर्ती जिल्लाहरूमा यस्तो समस्या देखिएको छ । लकडाउनयता रूपन्देहीमा प्रहरीको सहयोगमा १९ महिलालाई भारत जानबाट रोकिएको र तीन जनालाई भारतबाट उद्धार गरेर ल्याइएको माइती नेपाल रूपन्देहीकी प्रमुख माया क्षत्रीले बताइन् । ०७६ चैतदेखि भदौसम्म १ सय ७० महिलाको उद्धार गरिएको उक्त संस्थाले जनायो । ‘बन्दाबन्दी खुल्नेबित्तिकै ओसारपसार अझ ह्वात्तै बढ्न सक्छ,’ क्षत्रीले भनिन् । ०७२ सालको भूकम्पलगत्तै ३ सय ५० भन्दा बढी महिलाको उद्धार गरेको स्मरण गर्दै उनले महामारीपछि त्यस्तै स्थिति दोहोरिन सक्ने चिन्ता व्यक्त गरिन् । त्यसैले माइती नेपालले निगरानीका लागि बिहान १० देखि राति १० बजेसम्म सीमामा कर्मचारी खटाउने तयारी थालेको क्षत्रीको भनाइ छ ।

प्रदेश ५ प्रहरीको तथ्यांकअनुसार आर्थिक वर्ष ०७६/७७ मा प्रदेशका फरकफरक नाकाबाट विभिन्न बहानामा भारततर्फ लैजान लागिएका २३ महिलालाई उद्धार गरिएको थियो । विवाह, शिक्षा, विदेश लैजाने, औषधोपचार आदिको प्रलोभन देखाई बर्सेनि महिला ओसारपसार भइरहेको प्रदेश ५ प्रहरी कार्यालयका वरिष्ठ प्रहरी नायब उपरीक्षक राजकुमार बैदवारले बताए । ‘यसरी प्रलोभनमा पर्ने सबैभन्दा धेरै १६ देखि २५ वर्षसम्मका छन्,’ उनले भने, ‘रोजगारी पाउने आशाले धेरै जाने गरेको पाइएको छ ।’ लकडाउनकै अवधिमा प्रहरीमा मानव बेचबिखन तथा ओसारपसारका सातवटा उजुरी परेको उनले बताए । अहिले बेचबिखनका घटनामा कमी देखिनुमा सीमा सिल, होटल बन्द, प्रहरी परिचालन कारण भएको बैदवारको भनाइ छ । ‘यो अवस्था सामान्य लागे पनि भविष्यमा चुनौती थपिने चिन्ता छ,’ उनले भने, ‘त्यसैले समुदायस्तरमा चेतनामूलक कार्यक्रम, सीमामा खटिएका प्रहरीलाई थप प्रशिक्षण दिन थालेका छौं ।’

प्रकाशित : भाद्र ३०, २०७७ १२:५४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?