प्रदेश ५ मा कोभिड विशेष कृषि कार्यक्रम सुरु

अमृता अनमोल

बुटवल — कोरोनाका कारण गुमेको रोजगारी सिर्जना गर्न र युवालाई कृषि व्यवसायमा लगाएर उत्पादन बढाउन भन्दै प्रदेश ५ सरकारले कोभिड विशेष कृषि कार्यक्रम सुरु गरेको छ ।

प्रदेश ५ मा कोभिड विशेष कृषि कार्यक्रम सुरु

विदेशबाट आएकालाई कृषि स्वरोजगार कार्यक्रम, एक स्थानीय तह एक उत्पादन र साना यन्त्र वितरण कार्यक्रम योजनामा समावेश छन् । रोजगारी गुमाएका युवालाई कृषि व्यवसायमा लगाउन र कृषि उत्पादन बढाउन प्रदेशका सबै स्थानीय तहमा कोभिड विशेष कृषि कार्यक्रम लागू गरेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री आरती पौडेलले बताइन् ।

कार्यक्रम अन्तरगत प्रदेशका १ सय ९ वटै स्थानीय तहमा कोभिड-१९का कारण विदेशबाट फर्केका एक सय जनाले कृषि व्यवसाय गर्न अनुदान पाउने छन् ।

मन्त्रालयले कार्यक्रम सञ्चालन कार्यविधि बनाएर स्थानीय तहमार्फत उपलब्ध हुनेगरी एक युवालाई २० हजारका दिनेगरी रकम पठाएको मन्त्रालयका योजना तथा अनुगमन शाखा अधिकृत सञ्जय ढकालले बताए । ढकालका अनुसार कृषि उत्पादनमा सहयोग पुर्‍याउन एक स्थानीय तहमा ५० जनालाई साना यन्त्र वितरण गरिँदै छ ।

प्रतिव्यक्ति ३५ हजारका दरले रकम दिन हरेक स्थानीय तहमा २० लाखका दरले रकम पठाइएको छ । एक स्थानीय तह एक उत्पादन प्रवर्द्धनमा प्रत्येक स्थानीय तहलाई १७ लाखका दरले रकम विनियोजन भएको छ । उक्त रकम स्थानीय तहले रोजगारी गुमाएका किसान छनोट गरी आफ्नो स्थानीय तहको पहिचान हुनेगरी कृषि व्यवसाय गर्न अनुदान दिने छन् ।

यसअघि मन्त्रालयले कोभिडका कारण रोजगारी गुमाएकालाई कृषि पेशामा लगाउन एवं कृषि उत्पादन बढाउन स्थानीय तहहरुलाई आफ्नो तहमा गर्न सकिने कृषि कार्यक्रमबारे सूची मागेको थियो । त्यसको आधारमा स्थानीय तहले माग अनुसार हरियो तरकारी, आलु खेती, मत्स्य पालन, पशुपालन लगायतमा रकम मागेका थिए ।

कोभिड विशेष कार्यक्रमको सबै बजेट ससर्त बजेटका रुपमा स्थानीय तहमा पठाएको मन्त्रालयका प्रशाशन अधिकृत ज्ञानहरी पन्थीले बताए ।

मन्त्रालयले किसानलाई प्राविधिक सहयोग, उत्पादन र अनुदानमा सहजीकरण गर्न सबै स्थानीय तहमा कृषि प्राविधिक समेत खटाउने भएको छ । प्राविधिक सहयोग नहुँदा किसानहरुले लगानी अनुसार फाइदा गर्न नसकेको र बजेट तथा कार्यक्रम प्रभावकारी नभएको गुनासो आएपछि मन्त्रालयबाटै प्राविधिक खटाउन लागेको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री पौडेलले बताइन् ।

त्यसका लागि एक सय ९ वटै स्थानीय तहसहित रीत्त एक सय ७७ जना कृषि प्राविधिक भर्ना प्रक्रिया थालिएको छ ।

प्रकाशित : भाद्र २९, २०७७ १४:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?