१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०७

रोल्पाको होलेरीमा निषेधित क्षेत्र घोषणा

डेरी संचालक, बैंक र स्वास्थ्यका कर्मचारीमा कोरोना संक्रमण
काशीराम डाँगी

रोल्पा — दक्षिण रोल्पास्थित रुन्टीगढी गाउँपालिकाको केन्द्र होलेरी बजारका एक डेरी व्यवसायी र बैंकका कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि होलेरीलाई निषेधित क्षेत्र घोषणा गरिएको छ । 

रोल्पाको होलेरीमा निषेधित क्षेत्र घोषणा

स्थानीय प्रशासनले होलेरी र आसापासका क्षेत्रमा आइतबारदेखि अनिश्चितकालका लागि ‘लकडाउन’ जारी गरेको हो । होलेरीको सुरक्षामा खटिएका प्रहरीमा समेत कोरोना देखिएको छ ।

प्रमुख जिल्ला अधिकारी नरेन्द्रकुमार रानाका अनुसार कोरोना संक्रमण समुदायमा पुगे/नपुगेको अध्ययन थालिएको छ । ‘बैंकका कर्मचारी र होटेलमा समेत कोरोना संक्रमण भएको पाइएपछि समुदायमा पुगेको आशंका बढेको हो’, प्रजिअ रानाले भने । होलेरीमै शनिबार र आइतबार गरी ८ जनामा कोरोना संक्रमण देखिएको छ ।

स्थानीय प्रशासन र जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार होलेरी केन्द्रविन्दू हुनेगरी दक्षिणतर्फ दाङको सीमास्थित ग्वारखोला, पूर्वमा नयाँगाउँ ढुंगाखानी, पश्चिममा खस्रेबजार र उत्तरमा सखी सैबाङसम्म निषेधित क्षेत्र तोकिएको हो ।

यस्तै, जिल्ला स्वास्थ्य कार्यालयका सहायक प्रमुखमा कोरोना संक्रमण देखिएपछि उक्त कार्यालयलाई सिल गरिएको छ । केही साताअघि दाङस्थित घर पुगेर फर्केका ती कर्मचारीमा कोरोना संक्रमण देखिएपछि कार्यालय सिल गरिएको प्रमुख जिल्ला अधिकारी रानाले बताए ।

आइतबारसम्म रोल्पाका ९३ जनामा कोरोना संक्रमण भइसकेको जिल्ला स्वास्थ्य कार्यालयले बताएको छ ।

प्रकाशित : भाद्र २८, २०७७ २१:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?