पाल्पामा निषेधाज्ञा खुकुलो- प्रदेश ५ - कान्तिपुर समाचार

पाल्पामा निषेधाज्ञा खुकुलो

माधव अर्याल

पाल्पामा — कोरोना भाइरस संक्रमण नियन्त्रण गर्न विगत दुई सातादेखि पाल्पामा लागू गरिएको निषेधाज्ञालाई शनिबारदेखि खुकुलो बनाइएको छ ।

प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले शुक्रबार रातिबाट निषेधाज्ञा हटाएर अन्तरजिल्ला (सीमा) कडाइ गर्दै आन्तरिक गतिविधिमा खुकुलो गरेको जानकारी दिए । कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रण जिल्ला समितिको बैठकले आन्तरिक गतिविधिलाई खुला गर्ने निर्णय गरे पनि सार्वजनिक सवारी साधन चलाउन दिइएको छैन ।

निजी सवारी साधनलाई भने जोर बिजोर प्रणाली अनुसार चल्न दिइने प्रमुख जिल्ला अधिकारी न्यौपानेले बताए । सबै सवारी साधनलाई बेलुकी ७ बजेदेखि बिहान ५ बजेसम्म चलाउन रोक लगाइएको छ । यस्तै, स्वास्थ्य सामग्रीसँग सम्बन्धित बाहेक अन्य सबै प्रकारका पसलहरु बेलुका ५ बजेदेखी बिहान ७ बजेसम्म बन्द रहने प्रशासनले जनाएको छ ।

जिल्लामा कोरोनाका २२ जना सक्रिय सङक्रमित छन् । १९ जना व्यक्ति होम आइसोलेसनमा छन् । जिल्लाबाट पीसीआर परिक्षणका लागि पठाइएको ५ सय जनाको स्वास्वको नतिजा आउन बाँकी रहेको जिल्ला संकट व्यवस्थापन समितिले जनाएको छ । विदेशबाट जिल्ला भित्रिएका भने होम क्वारेन्टाइनमा राखिएको छ ।

कोरोना संक्रमित ६ सय २ पुगे पनि ५ सय ७७ जना निको भएर घर फर्किएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । तीन जनाको कोरोनाका कारण मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमण समुदायमा बढ्दै गएता पनि जनजीवन र विकास निर्माणमा परेको असरलाई दृष्टिगत गरी जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी) को बैठकले जनस्वास्थ्य र सुरक्षाका तोकिएका मापदण्ड अपनाई अर्को सूचना नभएसम्मको लागि निषेधाज्ञालाई खुकुलो बनाइएको हो ।


प्रकाशित : भाद्र २०, २०७७ ०७:३८
प्रतिक्रिया
पठाउनुहोस्

ढोरपाटन बाढीपहिरो : बस्ती नसार्दा क्षति

पाँच वर्षअघि विज्ञहरुले अध्ययन गरेर ढोरपाटनको बाढीपहिरोमा पर्न सक्ने क्षेत्रको सूची तयार पारेर सुरक्षा सतर्कता अपनाउनुपर्ने प्रतिवेदन दिएका थिए । उक्त प्रतिवेदनका सुझावलाई कार्यान्वयन गर्न कसैले पहलकदमी गरेनन् ।
प्रकाश बराल

बागलुङ — ललितपुरस्थित पुल्चोक इन्जिनियरिङ क्याम्पसका विज्ञ र तत्कालीन जिल्ला भूसंरक्षण कार्यालयले ५ वर्षअघि ढोरपाटनको भुजीखोला जलाधार क्षेत्रको अध्ययन गरेका थिए । ०७२ को भूकम्पलगत्तै गरिएको उक्त अध्ययनको प्रतिवेदनमा जोखिम क्षेत्रका रूपमा बुधबार राति बाढीपहिरो प्रभावित क्षेत्र पनि सूचीकृत थियो ।

खोला किनारका कतिपय बस्ती सार्नुपर्ने अध्ययनको निष्कर्षमा सुझाइएको थियो । वरिष्ठ जलाधार व्यवस्थापन अधिकृत शेरबहादुर श्रेष्ठले सुझाव दिए पनि कार्यान्वयन गर्ने निकाय अभावमा पूर्वसुरक्षा सतर्कताको कुनै काम हुन नसकेको बताउँछन् । ‘अहिले त्यतिबेलाको प्रतिवेदनलाई अध्ययन गर्ने र जोखिम व्यवस्थापन गर्ने निकाय छैन,’ उनले भने, ‘नगरपालिकाले चाहेको भए केही पहल गर्न सक्थ्यो, नत्र संघीय सरकारको पहलबिना ठूलो बस्ती सार्न सकिँदैन ।’

भूसंरक्षण कार्यालय बागलुङका तत्कालीन प्रमुख श्रेष्ठ पनि उक्त अध्ययनमा संलग्न थिए । कोरियाको ग्रिन ग्रोथ नामक संस्थाको सहयोगमा पुल्चोक क्याम्पसका दुर्गाप्रसाद संग्रौला र दिनेश लामिछानेले भुजीखोला जलाधार क्षेत्रको अध्ययन गरेका थिए । तीन हजारदेखि ४ हजार मिटर उचाइको ढोरपाटनको देउरालीको डाँडामा दक्षिणबाट बहेर आउने मनसुन ठोक्किँदा बर्सेनि मुसलधारे वर्षा हुने प्रतिवेदनमा छ । ‘क्याल्सियमयुक्त कमेरेमाटोले अत्यधिक वर्षापछि बाढीको रूप लिने गर्छ,’ उनले भने, ‘०७२ सालको भूकम्पपछि पहिरोको जोखिम बढेको हो ।’

दुई वर्षअघि पनि यहाँको चाँमेद्वारमा ठूलो पहिरोले बस्ती पुरेको थियो । समयमै सूचना दिँदा मानवीय क्षति कम भएको थियो । वर्षायाममा जतिबेला पनि जोखिम निम्त्याउन सक्छ भन्दै ढोरपाटन नगरपालिका–९ को सुपुर्दुङ र फलियाघर, वडा ६ को चाँमेद्वार र गाडीखोलाका बस्ती सुरक्षित बनाउन प्रतिवेदनले सुझाव दिएको श्रेष्ठले स्मरण गरे ।

अध्ययन टोलीले भुजीखोलाको दायाँबायाँ कम्तीमा एक सय मिटरसम्म घरबस्ती नराख्न सुझाव दिइएको थियो । ‘जहिले पनि ठूला रूख, ढुंगासहितको बाढी आएर बस्ती बगाउने खतरा देखेका थियौं, सोहीअनुसारको सुझाव पनि दिएका हौं,’ हाल कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा रहेका श्रेष्ठले भने, ‘केही योजना बनाएर कार्यान्वयन गरे पनि कार्यालय नै खारेजीमा परेपछि योजनाको औचित्य पनि सकिँदा बुधबारको विपत्ति आएको हो ।’ हिउँदमा हिउँले खाएको जमिनमा अत्यधिक वर्षा भएपछि सहजै पहिरो खस्ने उनले बताए ।

गण्डकी प्रदेशका उद्योग, वन, वातावरण तथा पर्यटनमन्त्री विकास लम्सालले त्यस्ता प्रतिवेदन अध्ययन गरेर संरक्षण गर्ने कार्यालय अभाव भएको बताएका छन् । ‘मैले पटक–पटक सबै जिल्लामा जलाधार संरक्षण कार्यालय राख्नुपर्छ भनेको छु । संघीय सरकारमा पनि माग गरेको छु,’ लम्सालले भने, ‘प्रतिवेदन अध्ययन गरेर सुरक्षाको उपाय गर्न सकेको भए यो विपत्ति आउने थिएन ।’ गण्डकी प्रदेशका तीन सयभन्दा बढी जलाधार क्षेत्र जोखिममा रहेकाले जलाधार मात्रै हेर्ने कार्यालय आवश्यक भएको उनले बताए । स्थानीय तहले पनि खोलैमा बस्ती बस्न दिन नहुने उनको भनाइ छ । ढोरपाटन–५ का वडाध्यक्ष लक्ष्मण पुनले स्थलगत अध्ययन गर्दा पनि कमजोर भूमि भएकै कारण बाढीले बढी क्षति गरेको निष्कर्ष निकाले । यो वर्षको अत्यधिक वर्षा र कमजोर भूगोल नै कारक भएको उनको भनाइ छ ।

गत वर्षदेखि नै यो क्षेत्रमा जमिन चिरा परेको, साना पहिरो खसिरहेको देखेको स्थानीयले बताएका छन् । ‘बस्तीमा जोखिम छ भनेर केही दिनदेखि नै भनेको सुनेको थिएँ,’ स्थानीय सिर्जना घर्तीमगरले भनिन्, ‘चिराचिरा परेको खण्डबाट पहिरो खसेको रहेछ ।’ देउरालीमा गत असारमा खनिएको केही सडक खण्डको माटोसमेत पहिरोको सहयोगी बनेको उनले बताइन् ।

बुधबार राति खसेको पहिरोले ढोरपाटन–७, ८ र ९ का ८० घर पूर्ण रूपमा क्षति पुर्‍याएको छ । अन्य ५१ घर आंशिक क्षति पुर्‍याएको ढोरपाटन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत धनप्रसाद पोखरेलले बताए । ठूलो परिमाणमा खेतीयोग्य जमिन पनि बगेको र पुरिएको छ ।

पहिरोपछिको बाढीमा परेर १४ जनाको मृत्यु भएको छ भने ३४ जना बेपत्ता छन् । बेपत्ताको खोजी भइरहेको छ । शव भेटिएकामध्ये १३ जनाको पहिचान खुलेको डीएसपी राजेन्द्र रेग्मीले बताए । बुधबारको बाढीेले सयौं पशुबस्तु मरेका छन् । मानिस र जनावरको शवले दुर्गन्ध र महामारी बढ्ने भन्दै स्थानीय त्रसित छन् । १८ वर्षकी युवती र २२ वर्षका युवक गम्भीर घाइते छन् । घाइतेलाई काठमाडौं लैजाने तयारी छ ।

पहिरोले बुर्तिवाङदेखि ढोरपाटन जाने सडकको अधिकांश खण्ड छियाछिया पारेको छ । उक्त सडक अवरुद्ध भएकाले राहत सामग्री लैजानेले पनि पैदलै जानुपरेको छ । ‘बाटै छैन, पाखोबाट जोखिम मोलेर घटनास्थल पुग्यौं,’ प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले भने, ‘तत्काल सडकको ट्र्याक खोलेर सहज आउजाउ बनाउनुपर्ने छ ।’

त्यसका लागि सडक निर्माणका योजनामा खबर गरेको उनले बताए । पहिरोले स्थानीयले लगाएको खेतीपाती नष्ट भएको छ । तीनवटा लघु जलविद्युत् आयोजना बगाएकाले अन्धकार छ । अन्य ८ वटा आयोजनामा क्षति पुगेको छ । टेलिफोनको नेटवर्क पनि नभएकाले स्थानीयले पीडा बताउन पाएका छैनन् । स्थानीय स्वास्थ्य चौकी बगाएकाले औषधिसमेत अभाव भएको स्वास्थ्य चौकी इन्चार्ज दीपक थापाले जानकारी दिए । सामान्य उपचारका लागि पनि स्थानीयलाई तीन घण्टा हिँडेर बुर्तिवाङ पुग्नुपर्ने बाध्यता भएको छ ।

प्रकाशित : भाद्र २०, २०७७ ०७:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×