घरमै बसेर काेराेनामुक्त भइन् ९६ वर्षीया वृद्धा

अमृता अनमोल

बुटवल — रुपन्देहीकी ९६ वर्षीया वृद्धाले घरमै बसेर कोरोनामुक्त भएकी छन् । शुक्रबार उनलाई कोरोनामुक्त घोषणा गरिएको सियारी गाउँपालिका स्वास्थ्य शाखा प्रमुख बुद्धीबहादुर घर्तीले बताए ।

वृद्धाको भदौ ४ गते स्वाब संकलन गरिएको थियो । भदौ ९ मा उनलाई कोरोना पुष्टि भएको थियो । स्वाब संकलन गरेको दिनबाट १४ दिन कटेको र कुनै लक्षण नदेखिएकाले शुक्रबार उनलाई कोरोना मुक्त घोषणा गरिएको स्वास्थ्य शाखा प्रमुखले बताए । डब्लुएचओ र स्वास्थ्य मन्त्रालयको निर्देशिका अनुसार अब उनलाई ७ दिनको होम कोरेन्टाइनमा बसालिने छ ।

रुपन्देहीको भैरहवास्थित एक बैंकमा कार्यरत जेठा नातिमा साउन ३० मा कोरोना देखिएको थियो । कन्ट्याक्ट ट्रेसिङका क्रममा उनकी ९६ वर्षीय हजुरआमा र ५३ वर्षीया आमालाई पनि कोरोना देखिएको थियो ।

शुक्रबार तीनै जनालाई कोरोना मुक्त घोषणा गरिएको छ । वृद्धाका कान्छा नाति रोशन नेपालले वृद्धा हजुरआमासहित घरका ३ जना कोरोना संक्रमित भएपनि कसैबाट हेलाहोचोको व्यवहार नभएको बताए । ‘गाउँपालिकाका अध्यक्ष , उपाध्यक्ष, वडाअध्यक्ष, सदस्यहरु नियमित फोन सम्पर्कमा रहेर स्वास्थ्य बुझ्नुहुन्थ्यो,’ उनले भने, ‘कोरोनामुक्त घोषणा गर्दा पनि जनप्रतिनिधिसहित स्वास्थयकर्मीको टोली आएर स्वास्थ्य बुझेर गएको हो ।’ हजुरआमालाई स्वस्थ बनाउन नियमित झोल र पोसिला कुरा खुवाइरहेको उनले बताए ।

प्रकाशित : भाद्र १९, २०७७ २१:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?