२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

रोल्पामा बन्चरो प्रहारबाट एकको मृत्यु

काशीराम डाँगी

रोल्पा — रोल्पामा छिमेकी दाजुले बन्चरो प्रहार गर्दा बिहीबार बिहान एक जनाको ज्यान गएको छ । उत्तरी रोल्पास्थित परिवर्तन गाउँपालिका–३ इरिबाङको बाघमारामा छिमेकी रामचरण बादीले भाइ नाता पर्ने ४० वर्षका मनबहादुर बादीमाथि बन्चरो प्रहार गरेर हत्या गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार घटना बिहीबार बिहान करिब २ बजेतिरको हो । रामचरणले घरैमा पुगेर ढोका ढक्ढक्याएर बोलाएपछि बन्चरो प्रहार गर्दा मनबहादुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । हत्यामा संलग्न भएको आरोपमा ४४ वर्षका रामचरणलाई प्रहरीले बिहानै नियन्त्रणमा लिएको छ । हत्याका आरोपित रामचरणविरुद्ध कर्तव्य ज्यान सम्बन्धी मुद्दा दर्ता गर्ने तयारी भएको जिल्ला प्रहरी कार्यालय रोल्पाका प्रवक्ता प्रहरी निरीक्षक शंकर खड्काले बताए । घटनाबारे असुन्धान गरिरहेका प्रहरी अधिकृतका अनुसार मृतकमाथि ज्यान लिनेगरी प्रहार गरिएको बन्चरोको बिड फेला पारिएको छ ।

घटनामा मारिएका मनबहादुर र हत्या आरोपित रामचरण एकै घरका दाजुभाइका छोराहरु हुन् । दुवैले लामो समयदेखि मादल बनाउने पेसा गर्दै आएको स्थानीयले जनाएका छन् । स्थानीयले दुवैबीच कसले राम्रो मादल बनाउने र कसले धेरै बिक्री गर्ने भन्ने विषयमा प्रतिस्पर्धा हुने गरेको थियो ।

प्रहरीका अनुसार मादल बनाउने विषयमा दुवैबीच मनमुटाव बढ्दै गएपछि घटना निम्तेको हुनसक्ने अनुमान गरिएको छ । प्रहरी निरीक्षक खड्काले मादल बनाउने विषयमा भएको विवाद र मनमुटावले ठूलो रुप लिएकै कारण हत्या भएको आशंका गरिएको बताए । मृतक मनबहादुरको शव प्रहरीको सहयोगमा पोस्टमार्टमका लागि सदरमुकामको रेउघास्थित रोल्पा अस्पतालमा ल्याइएको छ ।

प्रकाशित : भाद्र ११, २०७७ १४:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?