प्रदेश ५ मा  अक्सिजनसहितका ८० वटा आइसोलेसन बेड थपिँदै- प्रदेश ५ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्रदेश ५ मा  अक्सिजनसहितका ८० वटा आइसोलेसन बेड थपिँदै

अमृता अनमोल

बुटवल — लक्षणसहितका बिरामी बढेपछि प्रदेश ५ का कोरोना विशेष अस्पतालमा अक्सिजनसहितका आइसोलेसन बेड (हाइडिपेन्डेन्सी युनिट) थपिने भएको छ ।

बुटवलको रामनगरमा रहेको कोरोना विशेष अस्पताल । तस्बिर : अमृता अनमाेल

प्रदेशको सामाजिक विकास मन्त्रालयले ४ वटा कोरोना विशेष अस्पतालमा रहेका ८० वार्डलाई अक्सिजनसहितका आइसोलेसन बेडमा परिणत गर्न लागेको मन्त्रालयका सूचना अधिकृत डा. पुष्पराज पौडेलले बताए ।

अक्सिजनसहितका आइसोलेसनमा कडा लक्षणसहितका संक्रमितलाई नियमित अक्सिजन थेरापी र निगरानीमा राखिने बताइएको छ । त्यसबाट निको नहुने विरामीलाई आईसीयूमा लगिने डा. पौडेलले बताए । त्यसका लागि थप आईसीयू कक्ष र जनशक्तिसमेत सिफारिस गरेको उनले बताए ।

मन्त्रालयका अनुसार लुम्बिनी प्रादेशिक अस्पतालले सञ्चालन गरेको बुटवल कोरोना विशेष अस्पतालमा कुल ५४ बेड रहनेछन् । त्यसमा १८ आईसीयू, अक्सिजनसहितका २०आइसोलेसन र १६ सामान्य आइसोलेसन बेड रहनेछन् । जसमा ९ विशेषज्ञ चिकित्सक, १७ मेडिकल अफिसर र १ सय १४ नर्सिड. स्टाफसहित १ सय ७८ जनाको टोली खटिनेछ ।

रुपन्देहीकै भैरहवास्थित भीम अस्पताल भैरहवामा २७ बेड रहनेछन् । जसमा ५ आईसीयू, अक्सिजनसहितका १३ आइसोलेसन र ९ सामान्य आइसोलेसन बेड रहनेछन् । अस्पतालमा ६ विशेषज्ञ चिकित्सक, १५ मेडिकल अफिसर र ४३ नर्सिड. स्टाफसहित ८४ जनाको टोली खटिनेछ ।

दाङको बेलझुण्डीस्थित कोरोना अस्पतालमा १ सय १३ बेड रहनेछन् । जसमा १० आईसीयू, अक्सिजनसहितका १७ आइसोलेसन र ८५ सामान्य आइसोलेसन बेड रहनेछन् । अस्पतालमा १२ विशेषज्ञ चिकित्सक, ३५ मेडिकल अफिसर र ६९ नर्सिड. स्टाफसहित १ सय ३७ जनाको टोली खटिनेछ ।

यस्तै नेपालगन्जको सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा ६० बेड रहनेछन् । जसमा १० आईसीयू, अक्सिजनसहितका ३० आइसोलेसन र २० सामान्य आइसोलेसन बेड रहनेछन् । अस्पतालमा १२ विशेषज्ञ चिकित्सक, २६ मेडिकल अफिसर र ९४ नर्सिड. स्टाफसहित १ सय ५४ जनाको टोली खटिनेछ ।

जनशक्तिसहितको सिफारिस मन्त्रिपरिषदले स्वीकृत गरेपछि लागू हुने सूचना अधिकारी पौडेलले बताए । प्रदेशमा ५ हजार ७ सय ५१ संक्रमितमध्ये लक्षणसहितका १ सय २५ जना छन् ।

प्रकाशित : भाद्र १०, २०७७ १३:५७
प्रतिक्रिया
पठाउनुहोस्

पहिरोले अन्नपूर्णमा १७ परिवार विस्थापित

घनश्याम खड्का

म्याग्दी — पहिरोले म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दाना, फगामका १७ परिवार विस्थापित भएका छन् । पटकपटक आएको पहिरोले उनीहरू सबैका घर भत्काइसकेको छ ।

बस्ती नै बग्न थालेपछि ती घरका १ सय २१ जनालाई गाउँपालिकाको आर्थिक सहयोगमा प्लास्टिकको गोठ बनाई सुरक्षित स्थानमा सारिएको छ ।

स्थानीयका अनुसार पहिरोले हरेक दिन घर–खेत बगाइरहेको छ । बारीमा लगाएको मकै, कोदो, सीमी पनि जोगिएन । अहिलेसम्म सुन्तलाका तीनवटा नर्सरीसमेत बगिसकेका छन् । फगाम जिल्लामै सबैभन्दा बढी सुन्तलाको बेर्ना र लेकाली सिमी उत्पादन गर्ने बस्ती हो ।

‘पहिरोले पुर्खाको थलोबाट उठिबास लगायो । थातथलो छोड्न मनले मान्दैन तर बस्ने अवस्था पनि छैन,’ स्थानीय फकबहादुर गर्बुजाले भने, ‘तलबाट मोटरबाटो खनेपछि पहिरोले तान्यो, अति पानी परेपछि माथिबाट पनि बग्दै आयो । ठूलो परिवार प्लास्टिकको छाप्रोमा रात बिताउन सकस भएको छ ।’

भिरालो पाखामा रहेको फगाम बस्तीको फेदमा निर्माणाधीन बेनी–जोमसोम–कोरला सडक ११ मिटर चौडा बनाउन भित्तो डोजरले भत्काइँदा वर्षामा पहिरो जान थालेको हो । ‘जस्तै पटमूर्खले पनि घटनास्थल हेरेपछि भन्छ, बेनी–जोमसोम सडक विस्तार क्रममा गरिएको चरम लापरबाहीले नै बस्ती बग्न थालेको हो,’ गाउँपालिका अध्यक्ष डमबहादुर गर्बुजाले भने, ‘बस्तीदेखि माथि जंगलछेउको पाखामा बस भन्दा गाउँले मान्दैनन्, तर सडकछेउमा सार्वजनिक जग्गा नै छैन । बस्ती पुनःस्थापना कसरी गर्ने अध्ययनमा छौं ।’

प्रकाशित : भाद्र १०, २०७७ १३:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×