कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

तीन महिनादेखि अस्पतालमा छट्पटाउँदै

'उपचारका लागि ऋणधन मात्र होइन, खेतै बेचियो तर डिस्चार्ज गर्ने बेला रकम भएन'
माधव ढुंगाना

भैरहवा — युनिभर्सल शिक्षण अस्पताल भैरहवास्थित सर्जिकल विभागको पोस्ट अपरेटिभ वार्डको बेड नं. १० मा झण्डै तीन महिनादेखि एक युवक अचेत अवस्थामा छट्पटाइरहेका छन् । छोरो बाँच्ने आशामा उनकी आमा रमावती छोराको शरीर सुमसुम्याउँछिन् । बलिन्द्र धारा आँशु झार्दै छोरो सन्चो होस् भनेर पुकार गर्छिन् । 

तीन महिनादेखि अस्पतालमा छट्पटाउँदै

नवलपरासीको रामग्राम–१७ देवगाउँ फुलभरिया निवासी १७ वर्षीय युवक छोटु साहनी र उनको पारिवारिक अवस्था देख्दा जो कोहीको मन भक्कानिएर आउँछ । गत जेठ १२ गते घरनजिकै आँप टिप्‍ने क्रममा रुखबाट लडेर घाइते भएका उनी बाँचे पनि अब पहिलाजस्तै दुरुस्त हुने सम्भावना न्यून रहेको चिकित्सकले बताए ।

छोटुका बुवा उपचारका लागि पैसाको जोहो गर्न अर्कैको साइकलमा पछाडि बसेर गाउँ र भैरहवा ओहोरदोहोर गर्छन् । आमा रमावतीको छोरा लडेदेखि नै आँखा ओभानो छैन । बेडमा ढलेका अचेत छोरालाई सुम्सुम्याउँदै आँशु झार्छिन् ।

आमासँगै भाइको हेरचाहमा जुटेकी छोटुकी दिदी अन्जनीको अवस्था आमाको भन्दा फरक छैन । साहनी परिवारले केही वर्षअघि सर्पले टोकेर जेठो छोरा गुमाइसकेको छ । छोटुका बुवा अमेरिकाले एक वर्षअघि छोरीको पत्थरीको शल्यक्रिया गरे । दुई वर्षअघि श्रीमतीको पाठेघरको शल्यक्रिया भयो ।

‘छोराको उपचारका लागि भएको खेत सबै बेचिसकें, पाउने ठाउँबाट ऋण पनि लिइसकें । तर, छोरो सन्चो भएन,’ घर निर्माणका काममा मजदुरी गरी जीविकोपार्जन गर्दै आएका बाबु अमेरिका साहनीले भने, ‘छोरालाई अस्पतालमा राखेर अब उपचार गराउने पैसा छैन । घर लैजाउँ भने डिस्चार्ज गर्ने रकम छैन ।’ उनी आफैं हर्नियाका रोगी भएकाले राम्रोसँग हिंडडुल गर्न सक्दैनन् ।

छोटु रुखबाट लडेपछि सुरुमै छिमेकीले परासीस्थित पृथ्वीचन्द्र अस्पताल लगे । त्यहाँ उपचार सम्भव नभएपछि भैरहवा रिफर गरियो । तत्काल शल्यक्रिया गर्नुपर्ने र यसका लागि ३ लाख रुपैयाँसम्म खर्च लाग्ने युनिभर्सल शिक्षण अस्पतालले जनायो । शल्यक्रिया गर्नुअगावै चिकित्सकले बाँच्ने सम्भावना ३० प्रतिशत रहेको र बाँचे पनि दीर्घकालीन रुपमा कुनै न कुनै समस्या आउने बताएका थिए ।


युनिभर्सल शिक्षण अस्पताल भैरहवा । तस्बिरः माधव/कान्तिपुर

‘अस्पतालमा ल्याउँदा छोटुको टाउकोमा गम्भीर चोट थियो र रगत जमिसकेको थियो,’ छोटुको उपचारमा सुरुदेखि नै संलग्न न्युरो सर्जन राजकुमार केसीले भने, ‘उनको मस्तिष्कमा जमेको रगतले केही भाग ड्यामेज गरिसकेकाले पछि पनि कुनै एउटा अंग प्यारालाइसिस हुने सम्भावना छ ।’ शारीरिक कमजोरीले गर्दा उनको स्वास्थ्यमा ढिलो सुधार आइरहेको र डिस्चार्जका लागि अझ डेढ महिनाजति समय लाग्न सक्ने केसीले बताए ।

तर, साहनी परिवारले अझ डेढ महिनाको अस्पतालको खर्च धान्न सक्ने अवस्थामा नरहेको बतायो । सम्पत्तिका नाममा साढे २ धुरमा बनेको कच्ची घरमात्र बाँकी रहेको र अरु सबै उपचारका लागि बेचिसकेको बाबु अमेरिकाले बताए । उनका अनुसार गाउँलेले जुटाएको सहयोग, नातेदार र साथीभाइसँग लिएको ऋण र सरसापट सबै उपचारका क्रममा सकिइसकेको छ । बचेको घर बिक्री गर्न खोजे पनि बिक्री हुन नसकेको उनले बताए ।

अस्पतालका अनुसार अहिलेसम्म छोटुको उपचारका क्रममा ७ लाख ३१ हजार १ सय ५७ रुपैयाँ खर्च भएको छ । जसमध्ये, अमेरिकाले ३ लाख ९० हजार १ सय ५७ रुपैयाँमात्र तिरेका छन् । आईसीयू, भेन्टिलेटर, बेडचार्ज लगायतमा ३ लाख ३३ हजार १ सय ८८ रुपैयाँ तिर्न बाँकी छ ।

अस्पतालका तर्फबाट केही रकम छुट दिने तयारी गरेकाले ठीक भएपछि मात्रै डिस्चार्ज गर्न अमेरिकालाई सुझाव दिएको अस्पतालका सहायक वित्तीय नियन्त्रक सुरज पौडेलले बताए । आर्थिक अभाव भएका ८–१० जना बिरामीलाई दैनिकजसो छुट दिने गरेको उनले जनाए । ‘कतिपयको बेड चार्ज शतप्रतिशत छुट गरिएको छ,’ उनले भने, ‘छोटुको खर्चमा पनि जतिसक्दो छुट दिन्छौं ।’ आर्थिक समस्याले गर्दा अमेरिकाले छोरालाई डिस्चार्ज गर्न भनिरहेका छन् । चिकित्सकले भने छोटुले राम्ररी खाने अवस्था नभएसम्म डिस्चार्ज गर्न नमिल्ने बताएका छन् ।

‘अझै डेढ महिना राख्दा ४/५ लाख रुपैयाँ खर्च हुन्छ । त्यति रकम कहाँबाट ल्याउने ?’ छोटुका बुबा अमेरिकाले भने, ‘औषधि उपचार, खाना, बस्न र आतेजाते गरेर १० लाखजति खर्च भइसकेको छ ।’ उपचारमा आफ्नो सबै जायजेथा सकिएकाले सहयोगका लागि उनले अपिल पनि गरेका छन् । अस्पतालका प्रमुख प्रशासकीय अधिकृत अजयकुमार पीएसलेले छोटुको उपचारमा अस्पतालका तर्फबाट सक्दो सहयोग गरिए पनि यस्ता गरिब बिरामीको उपचारमा सरकारले पनि सहयोग गरेर आफ्नो दायित्व पूरा गर्नु पर्ने बताए ।

प्रकाशित : भाद्र ४, २०७७ १४:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?