प्यूठानमा भदौ १५ सम्म यातायात बन्द- प्रदेश ५ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

प्यूठानमा भदौ १५ सम्म यातायात बन्द

गिरुप्रसाद भण्डारी

प्यूठान — कोरोना संक्रमित वृद्धि हुँदै गएको र खुला रुपमा यातायात सञ्चालन हुँदा जोखिम बढेको निष्कर्ष निकाल्दै डीसीसीएमसी बैठकले भदौ १५ गतेसम्म प्यूठानमा यतायात बन्द गर्ने निर्णय गरेको छ ।


मंगलबार दिउँसो बसेको बैठकले निजी तथा सार्वजनिक यातायाताका साधन बन्द गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी खिमराज भुसालले जानकारी दिए । कोभिड संकट व्यवस्थापन समितिको बैठकले चाडपर्व नजिकिँदै गएको र बजारमा भीडभाड बढ्दै गएकाले कोभिड संक्रमण थप फैलन सक्ने निष्कर्षसहित मंगलबार राति १२ बजेदेखि यातायात बन्द गर्ने निर्णय गरेको हो ।

अत्यावश्यक सवारी साधन एम्बुलेन्स, प्रेसका गाडी भने चल्नेछन् । पसल तथा व्यवसाय सञ्चालन गर्दा भौतिक दूरी कायम गर्न भनिएको छ । व्यापारीले मास्क र सेनिटाइजर अनिवार्य प्रयोग गर्नुपर्नेछ । यो नियम पालना नगरेमा कानुन अनुसार कारबाही हुने र पसल सिल समेत गरिने जिल्ला प्रशासन कार्यालय प्यूठानले जनाएको छ ।

प्रकाशित : भाद्र २, २०७७ १८:०१
प्रतिक्रिया
पठाउनुहोस्

बेल्जियम र यूरोपेली युनियनको लागि राजभण्डारी, जर्मनीका लागि खड्का र पाकिस्तानका लागि अधिकारी राजदूत सिफारिस 

जगदीश्वर पाण्डे

काठमाडौँ — सरकारले बेल्जियम र युरोपेली युनियनका लागि गेहेन्द्र राजभण्डारी, पाकिस्तानका लागि तापस अधिकारी र जर्मनीको लागि रामकाजी खड्कालाई राजदूत सिफारिस गरेको छ । 

उनीहरुलाई राजदूतमा सिफारिस गरिएको सरकारका प्रवक्ता युवराज खतिवडाले मंगलबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिएका हुन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैंठकले परराष्ट्र मन्त्रालयका यी तीनै सहसचिवहरुलाई राजदूत सिफारिस गरेको हो ।

सिफारिसमा पर्नेमध्ये सहसचिव राजभण्डारी हाल प्रमुख शिष्टाचार महापाल, अधिकारी दक्षिण पूर्वी एसिया प्रमुख र खड्का राहदानी महाशाखामा महानिर्देशक छन् । प्रावधानअनुसार राजदूत पद रिक्त हुनुभन्दा ३ महिनाअघि सिफारिस गर्न सकिने भएकाले मन्त्रालयले वरीयताका आधारमा नाम पठाएको हो ।

परराष्ट्र मन्त्रालयले अब यी तीनैजनाको नाम संसदको संसदीय सुनुवाई समितिमा पठाउने छ । समितिले नाम अनुमोदन गरेपछि राजदूतहरुको एग्रिमोका लागि सम्बन्धित मुलुकमा पठाइने व्यवस्था छ । सम्बन्धित मुलुकबाट एग्रिमो आएपछि राष्ट्रपतिले राजदूत नियुक्ती गर्ने छिन् ।

हाल पाकिस्तानको इस्लामावादमा परराष्ट्रकै सेवा लम्साल, जर्मनीमा रमेशप्रसाद खनाल र बेल्जियममा लोकबहादुर थापा राजदूतका रुपमा कार्यरत छन् । तीनमध्ये लम्साल र खनालको ४ वर्षे पदावधि भदौ मसान्तमा पूरा हुँदैछ भने थापा कात्तिक तेस्रो साता मन्त्रालय फर्कनेछन् ।

२ वर्षयता दक्षिण कोरिया, श्रीलंका, दक्षिण अफ्रिकालगायतका मुलुकमा राजदूत रिक्त रहेका छन् । अमेरिकाको वासिङ्टन डीसीमा कार्यरत राजदूत अर्जुन कार्कीको ४ वर्षे कार्यकाल झण्डै १ वर्षअघि पूरा भए पनि ‘अर्को व्यवस्था नभएसम्म’ भन्दै कार्कीलाई राजदूत पदमा निरन्तर राखिएको छ ।

अबको ३ महिनाभित्रमा बेलायत, इजिप्ट, ब्राजिल, रुस, अष्ट्रियासहितका मुलुकमा राजदूत पद रिक्त हुँदैछ ।

प्रकाशित : भाद्र २, २०७७ १७:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×