कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

स्वास्थ्यकर्मी नै आइसोलेसन र क्वारेन्टाइनमा, स्वास्थ्य सेवा प्रभावित

बाँकेमा ५० स्वास्थ्यकर्मी आइसोलेसन र क्वारेन्टाइनमा
कपिलवस्तुमा १९ स्वास्थ्यकर्मी संक्रमित

नेपालगन्ज,कपिलवस्तु — ठूलो संख्यामा चिकित्सक र स्वास्थ्यकर्मी कोरोना संक्रमित हुन थालेपछि यहाँ स्वास्थ्य सेवा प्रभावित भएको छ । शिक्षण अस्पताल नेपालगन्जका चिकित्सकसहित ५० जना स्वास्थ्यकर्मी आइसोलेसन र क्वारेन्टाइनमा बसेपछि सेवा प्रभावित भएको हो । 

स्वास्थ्यकर्मी नै आइसोलेसन र क्वारेन्टाइनमा, स्वास्थ्य सेवा प्रभावित

कोरोना संक्रमण भएका १६ जना चिकित्सक र स्वास्थ्यकर्मी आइसोलेसनमा छन् । उनीहरूको सम्पर्कमा रहेका ३४ जनालाई क्वारेन्टाइनमा राखिएको छ । आइसोलेसनमा ३ जना चिकित्सक र १३ स्वास्थ्यकर्मी रहेको शिक्षण अस्पतालका सहायक निर्देशक नितेश कनौडियाले बताए ।

चिकित्सक र स्वास्थ्यकर्मीमा सामान्य रुघाखोकीको लक्षण देखिएको छ । ‘रुघाखोकीको लक्षण देखिएपछि स्वास्थ्यकर्मीलाई क्वारेन्टाइनमा राखेका हौं । १६ जनामा संक्रमण देखिएकाले आइसोलेसनमा राखिएको छ,’ उनले भने, ‘जनशक्ति अभावपछि आलोपालो गरेर स्वास्थ्य सेवा दिइरहेका छौं ।’ ठूलो अस्पतालका ५० स्वास्थ्यकर्मी आइसोलेसन र क्वारेन्टाइनमा बसेपछि सेवा प्रभावित बनेको हो । सरकारले उक्त अस्पताललाई कोरोना संक्रमणका बिरामी उपचारका लागि तेस्रो चरणको अस्पताल घोषणा गरेको छ । संक्रमित व्यक्तिको शल्यक्रिया यही अस्पतालबाट हुने गरेको छ । संक्रमित गर्भवती महिलाको शल्यक्रिया गरेर प्रसूति गराउने गरिएको छ । अस्पतालको सेवा आलोपालो गरेर सुचारु राखिएको अस्पतालले जनाएको छ ।

यसले सर्वसाधारणको उपचारमा समस्या हुन थालेको छ । बिरामीहरूले अस्पतालमा भर्ना पाउन सकस हुने गरेको छ । पछिल्ला संक्रमितमा लक्षण देखिन थालेपछि भेन्टिलेटरको अभाव हुने देखिएको छ । शिक्षण अस्पताल नेपालगन्जमा ६ र कोहलपुरमा ८ भेन्टिलेटर छन् । भेरी अस्पतालमा ६ भेन्टिलेटर र ६ आईसीयू छन् । खजुरास्थित प्रखर सुशील कोइराला मेमोरियल अस्पतालमा २ भेन्टिलेटर र ६ आईसीयू कक्ष छन् । यसअघि लक्षण नदेखिएका व्यक्तिमा पनि कोरोनाको संक्रमण पुष्टि हुने गरेको थियो । लक्षण भएको शंकामा सर्वसाधारणले कोरोनाको परीक्षण गराउन थालेका छन् । कोरोना संक्रमण पुष्टि भइसकेका व्यक्तिको अवस्था भने सामान्य छ । भेन्टिलेटरमा राख्नु पर्ने अवस्थाका लक्षण भने नदेखिएको चिकित्सकहरूले बताए । संक्रमित व्यक्तिमा ज्वरो आउने, घाँटी खसखस हुने, व्लड प्रेसर कम हुने, टाउको दुख्ने र स्वास लिन अप्ठ्यारो हुने लक्षण देखिएको छ ।

स्वास्थ्य कार्यालय बाँकेका वरिष्ठ जनस्वास्थ्य अधिकृत अंगदबहादुर शाहीले लकडाउनको समयमा कोरोना संक्रमण क्वारेन्टाइनमा मात्र देखिएको तर लक्षण नदेखिएको बताए । बाँकेका संक्रमितमध्ये तीन दर्जन बढी व्यक्तिमा लक्षण देखिएको छ । उनीहरूमा सामान्य र मध्यम खालको लक्षण देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य कार्यालय बाँकेका कोरोना स्रोत व्यक्ति नरेश श्रेष्ठले ११ मा मध्यम र २७ जनामा सामान्य खालको लक्षण देखिएको बताए । सामान्य लक्षण देखिएका १० जना कोरोना जितेर घर फर्किसकेका छन् । उनका अनुसार मध्यम खालको लक्षण देखिएका संक्रमित एक जनाको भेरी अस्पताल नेपालगन्जको आइसोलेसनमा राखेर उपचार भइरहेको छ ।

कुनै रोग लागेपछि लक्षण देखिनु सामान्य रहेको भेरी अस्पतालका कोरोना स्रोत व्यक्ति तथा फिजिसियन डा. संकेत रिसालले बताए । कोरोनाका बिरामीमा लक्षण देखिनु स्वाभाविक रहेको उनले बताए । ‘कुनै पनि रोग लागे लक्षण त देखिन्छ । कोरोनाको पनि त्यही हो । तर, कडा खाले लक्षण भने देखिएको छैन,’ उनले भने, ‘ज्वरो आउने, खसखस भयो र श्वास लिन गाह्रो भो भनेर खबर आउँछ । तर, स्वास्थ्य जाँच गर्दा सबैको अवस्था सामान्य देखिएको छ ।’ उनका अनुसार भेन्टिलेटरमा राख्नु पर्ने खालका बिरामी भने शुक्रबारसम्म एक जना पनि छैनन् । खजुरा गाउँपालिकास्थित सुशील कोइराला प्रखर अस्पतालको आइसोलेसनमा संक्रमित १५ पुरुष र १२ महिलाको उपचार भइरहेको छ ।

स्वास्थ्यकर्मीमै संक्रमण भएपछि ‘तनाव’

कपिलवस्तु सदरमुकामस्थित जिल्ला अस्पतालमा कार्यरत मेडिकल सुपरिटेन्डेन्टसहित ३ डाक्टर र १६ स्वास्थ्यकर्मीमा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्ला अस्पतालका ओपीडी, ल्याब र इमर्जेन्सी फाँटमा फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी संक्रमित भएका हुन् ।

यहाँको यशोधरा गाउँपालिकाको बसन्तपुर स्वास्थ्य चौकीमा काम गर्ने हेल्थ असिस्टेन्ट संक्रमित भएका छन् । मायादेवी गाउँपालिकास्थित पकडी हेल्थपोस्टमा काम गर्ने एक अनमि पनि संक्रमित भएकी छन् । कृष्णनगर नगरपालिका–६ मा काम गर्ने स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन् । जिल्ला अस्पतालकै एक संक्रमित स्वास्थ्यकर्मीका परिवारका २ जनामा पनि संक्रमण देखिएका छन् । तीनै जना अहिले आइसोलेसनमा छन् । फ्रन्टलाइनमा काम गर्ने स्वास्थ्यकर्मी उपचारका लागि पुग्ने धेरै जनासँग हेलमेल भएको र थाहै नपाई संक्रमति भएका छन् र उनीहरूकाे सम्पर्कमा आउनेहरूमा संक्रमण देखिएकाे छ ।

जिल्ला अस्पताल दक्षिणी क्षेत्रको उपचार गर्ने प्रमुख थलो हो । दैनिक सय बढी ओपीडीका लागि यहाँ आउँछन् । इमर्जेन्सी र प्रसूतिका लागि पनि उत्तिकै आउँछन् । साउन २५ गतेयता धेरै स्वास्थ्यकर्मी संक्रमित पाइएका छन् । त्यसपछि उपचारका लागि अस्पताल पुग्ने अहिले तनाव र चिन्तामा छन् । संक्रमित स्वास्थ्यकर्मीको कन्ट्याक्टमा पुगेकाहरूको कसैले सोधखोज गरेका छैनन् । गाउँबाट उपचार गराउन अस्पताल पुगेकाले आफूलाई जाँचेका चिकित्सक र ल्याबका स्वास्थ्यकर्मी संक्रमित भएको पत्तै पाएका छैनन् । उनीहरू अन्यसँग हेलमेलमै छन् । सचेत नागरिक र पहुँच भएका थोरैले मात्र पीसीआरका लागि स्वाब दिएका छन् । ‘जिल्लाभरि संक्रमित स्वास्थ्यकर्मीको हेलमलमा पुगेकाको कन्ट्याक्ट ट्रेसिङ गर्न ढिलो गर्नु हुन्न,’ अधिकारकर्मी आरडी ठाकुरले भने, ‘नभए अवस्था भयावह हुन्छ ।’

स्वास्थ्य मन्त्रालयले चिकित्सक र स्वास्थ्यकर्मीबाट सर्वसाधारणमा संक्रमणको सम्भावना बढेकाले उनीहरूको पीसीआर गरेर मात्र कामकाजमा लगाउन निर्देशन गरेको छ । संक्रमित चिकित्सक र स्वास्थ्यकर्मीको कन्ट्याक्ट ट्रेसिङमा परेकाको पहिचान गरेर स्वाब लिइने काम भइरहेको जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख योगेन्द्र भगतले बताए । जिल्लामा संक्रमितको संख्या ९ सय ४० पुगेको छ । सक्रिय १ सय ४१ केस छन् । दुई जनाको मृत्यु भएको छ ।

प्रकाशित : श्रावण ३२, २०७७ १४:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?