पहिरो पन्छाएपछि सिद्धार्थ राजमार्ग एकतर्फी

माधव अर्याल

पाल्पा — बिहीबार रातिदेखिको अविरल वर्षाले अवरुद्ध भएको सिद्धार्थ राजमार्ग शुक्रबार अपराह्न साढे ३ बजेदेखि एकतर्फी खुलेको छ । पाल्पा–बुटवल सडकखण्डको तिनाउ गाउँपालिका–५ मस्याम कालीमाटी नजिक तिनाउ–६ सिसुवा, तिनाउ–३ दोभान सिद्धबाबा क्षेत्रमा ठूलो पहिरो खस्दा बिहानैदेखि सडक अवरुद्ध भएको थियो । 

पहिरो पन्छाएपछि सिद्धार्थ राजमार्ग एकतर्फी

सडक डिभिजिन पाल्पासँगको समन्वयमा प्रभास र दोभान प्रहरी चौकीको सक्रियतामा डोजर र लोडर परिचालन गरेर पहिरो पन्छाएपछि सडक एकतर्फी खुला गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मदन गिरीले बताए । पहिरो खसेर सडक अवरुद्ध हुँदा राजमार्गमा अलपत्र यात्रु, सवारी साधनलाई गन्तव्यतर्फ पठाइएको छ । रुपन्देहीको बुटवल बजार क्षेत्र सिल भएकाले राजमार्गमा धेरै सवारी साधन अलपत्र नरहेको प्रहरी चौकी दोभानले जनाएको छ ।

कालीमाटी नजिक गत चैतमा सडक चौडा गर्न घुम्ती काटिएको थियो । सोही स्थानमा माथिल्लो भागबाट ढुंगा, माटोसहित पहिरो खसेको थियो । यसअघि पनि पटकपटक यही स्थानमा पहिरो खसेर सडक अवरुद्ध हुने गरेको थियो । सिसुवा नजिकै केही दिनयता पहिरो खस्न सुरु गरेको हो । उक्त स्थानमा माथिल्लो भागबाट सडक भासिएको छ । सोही स्थानमा पुन: पहिरो खसेको प्रहरीले जनाएको छ । राजमार्गको सिद्धबाबा, दोभान, झुम्सा, पैठेडाँडा, पानीमिल, भूतखोला, २४ माइललगायतका स्थानमा राजमार्ग भासिएर सडक एकतर्फी सञ्चालन गरिएको छ । सिद्धार्थ राजमार्ग भएर पश्चिम पहाडका पाल्पा लगायत गुल्मी, स्याङजा, बाग्लुङ, म्याग्दी लगायतका जिल्लामा सवारी साधन सञ्चालन हुन्छ ।

प्रकाशित : श्रावण ३०, २०७७ १६:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?