दाङमा २९ सेनासहित ३३ जनामा कोरोना संक्रमण

दुर्गालाल केसी

दाङ — दाङमा २९ नेपाली सेनासहित ३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा मंगलबार गरिएको पीसीआर परीक्षणमा तुलसीपुरस्थित नेपाली सेनाको १९ नम्बर बाहिनीमा कार्यरत २९ जवानमा कोरोना देखिएको हो ।

दाङमा २९ सेनासहित ३३ जनामा कोरोना संक्रमण

यसअघि संक्रमण देखिएका एक जवानको सम्पर्कमा आएका व्यक्तिको कन्ट्याक ट्रेसिङका क्रममा ३१ जनाको पीसीआर परीक्षण गर्दा २९ जनामा संक्रमण पुष्टि भएको तुलसीपुर उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक बिमल केसीले बताए ।

प्युठानमा कार्यरत एक जवान तालिमका लागि नेपालगन्ज जाँदै गर्दा तुलसीपुरस्थित बाहिनीमा बसेका थिए । उनलाई लक्षण देखिएपछि परीक्षण गर्दा कोरोना संक्रमण पुष्टि भएको थियो । त्यसपछि उनको सम्पर्कमा आएका ३१ जनाको स्वाब परीक्षण गरिएको थियो । संक्रमित सबैलाई व्यारेकभित्रै आइसोलेसनमा राखिएको जनस्वास्थ्य निरिक्षक केसीले बताएका छन् ।

यस्तैगरी शान्तिनगर र बबई गाउँपालिकामा चार जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगन्जमा गरिएको परीक्षणमा बबई गाउँपालिका ४ का २६ र ३३ वर्षीय पुरुष र वडा नम्बर ७ का ३० वर्षीया एक महिलामा कोरोना संक्रमण पुष्टि भएको हो ।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको परीक्षणमा शान्तिनगर गाउँपालिकाका एक नौ वर्षीय बालकमा संक्रमण पुष्टि भएको प्रतिष्ठानका शाखा अधिकृत रोशन आचार्यले बताए ।

प्रकाशित : श्रावण २७, २०७७ १९:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?