बाँकेमा फेरि थपियो ३ दिन निषेधाज्ञा  

रुपा गहतराज

नेपालगन्ज — बाँके प्रशासनले शनिबार रातिदेखि जारी गरेको निषेधाज्ञा थप ३ दिनका लागि बढाएको छ भने सिल गरिएका क्षेत्रहरू हटाउने निर्णय गरेकाे छ । मंगलबार बसेको जिल्लास्तरीय कोभिड–१९ संकट व्यवस्थापन समिति बाँकेको बैठकले ३ दिन निषेधाज्ञा बढाएर लैजाने निर्णय गरेको हो ।

बाँकेमा फेरि थपियो ३ दिन निषेधाज्ञा  

कोरोना संक्रमित बढ्दै गएपछि मंगलबार बसेको बैठकमा शनिबार जारी निषेधाज्ञा आउने शुक्रबार राति १२ सम्म जारी रहने निर्णय भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए । ‘सिल गरिएको एरिया सबै खुला गर्छौ,’ प्रमुख जिल्ला अधिकारी कुरुम्बाङले भने, ‘अत्यावश्यक काम खाद्यान्नका ढुवानीबाहेक सबै बन्द रहनेछन् ।’

शनिबार राति १२ बजेदेखि जारी निषेधज्ञा मंगलबार राति १२ बजे सकिँदैछ । कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय बाकेले जिल्लाभरि तेस्रो पटक गत आइतबारदेखि तीन दिनसम्म निषेधाज्ञा लगाएको थियो । थपिएको निषेधाज्ञा शुक्रबार राति १२ बजे देखि लागु रहने छ ।

स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधिजस्ता अति आवश्यक सेवाबाहेक अन्य सम्पूर्ण पसल, उद्योग, व्यवसाय, सेवा सञ्चालन बन्द रहने प्रशासनले जनाएको छ ।

यसअघि बाँकेमा पहिलो पटक वैशाख २२ गतेदेखि २५ गतेसम्म निषेधित क्षेत्र घोषणा गरिएको थियो ।

बाँकेमा कोरोना संक्रमितको संख्या ६५७ पुगेको छ । २४९ उपचारका लागि आइसोलेसनमा छन् भने ४०५जना निको भएर फर्किसकेका छन् भने कोरोनाबाट ३ जनाको मृत्यु भइसकेको छ ।

प्रकाशित : श्रावण २७, २०७७ १७:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?