बाढीको जोखिममा कर्णाली तटीय क्षेत्रका बासिन्दा, ६० परिवार सारिए

कमल पन्थी

बर्दिया — लगातारको वर्षाले कर्णाली नदीमा जलसतह खतराको चिह्रनमा बग्न थालेपछि बर्दियाको राजापुर नगरपालिका र गेरुवा गाउँपालिकाका तटियक्षेत्र बाढीको उच्च जोखिममा रहेको छ । 

बाढीको जोखिममा कर्णाली तटीय क्षेत्रका बासिन्दा, ६० परिवार सारिए

जलस्तर बढ्न थालेपछि राजापुर—३ तिघ्रामा कर्णाली नदीले कटान सुरु गरेका कारण यस क्षेत्र र आसपासका गाउँ उच्च जोखिममा रहेकोले सुरक्षित स्थानमा जान थालेको स्थानीय प्रशासनले जनाएको छ । स्थानीय प्रशासनको आग्रहमा उनीहरु र अस्थायी रुपमा सुरक्षित स्थानमा जान लागेका हुन् । जिल्ला आपतकालीन व्यवस्थापन कार्यालका सूचना अधिकारी रुपन ज्ञवालीका अनुसार करिब ६० घर परिवार राजापुरस्थित नेपाल खाद्य संस्थानको गोदाम भवनमा बसिसकेका छन् । घर छाड्नेको संख्या बढ्दै गएको उनले बताए ।

नदी कटान रोक्न मंगलबार बिहान राजापुरस्थित नेपाल प्रहरी, सशस्त्र प्रहरी, स्थानीयबासी, कर्णाली नदी व्यवस्थापन कार्यालय लगायतले बोरामा माटो भर्दै जोखिम क्षेत्रमा फाल्न थालेका छन् । इलाका प्रशासन कार्यालय राजापुरका प्रमुख सुनिल दत्तले तिघ्रामा कटानले राजापुर बजारलगायत आसपासका दर्जनाैं गाउँ डुबानको जोखिममा परेको बताए । अहिले यस क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा बस्न आह्वान गरिएको उनले बताए । ‘जोखिममा रहेका धेरैजसो बासिन्दा खाद्यान्न, लत्ता कपडा र लालाबालासहित राजापुरस्थित खाद्य संस्थानको भवनमा सर्ने काम भइरहेको छ ।’ उनले भने । तिघ्रामा झण्डै ७५ घर धुरी रहेको इलाका प्रशासन कार्यालयले जनाएको छ । तिघ्रामा कटान रोकिएन भने राजापुर बजारसँगै आसपासका क्षेत्र उच्च जोखिममा हुने स्थानीयले बताए ।

कर्णालीमा जलस्तर सोमवार १० दशमलव ६ मिटर पुगेकामा मंगलबार ९ दशमलव ५ रहेको छ । ११ मिटर पार गरेपछि बाढी पस्ने जोखिम हुन्छ । पहाडी भेगमा वर्षा नरोकिएकोले जलस्तर बढ्ने अनुमान जिल्ला आपत् व्यवस्था कार्यालयले जनाएको छ । कार्यालयका सूचना अधिकारी ज्ञवालीले कर्णाली तटिय क्षेत्रका बासिन्दा बाढीबाट सुरक्षित हुन पूर्व तयारी गरिसकेको बताए । स्थानीय प्रशासनले कर्णाली नदी तटिय क्षेत्रका बासिन्दालाई सतर्कता अपनाउन भनेको छ । प्रमुख जिल्ला अधिकारी लिलाधर अधिकारीले बाढी पूर्व सुरक्षाको सबै तयारी गरिएको बताए ।

प्रकाशित : श्रावण २७, २०७७ १३:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?