निषेधाज्ञा उल्लघंन गर्ने २५ जना नियन्त्रणमा

रुपा गहतराज

नेपालगन्ज — बाँकेमा निषेधाज्ञा उल्लंघन गर्ने २५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । निषेधाज्ञाको समयमा पसल व्यवसाय खोलेर अटेरी गरेका २५ जना व्यवसायीलाई नियन्त्रणमा लिएर क्‍वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी प्रमुख ओमबहादुर रानाले बताए ।

निषेधाज्ञा उल्लघंन गर्ने २५ जना नियन्त्रणमा

निषेधाज्ञा अवधिभर औषधि उपचार तथा अन्य अत्यावश्यक काममा बाहेक कुनैपनि व्यक्ति घरबाहिर ननिस्कन आदेश नमानेपछि नियन्त्रणमा दिन बाध्य भएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।

उनले बाँकेमा बिहीबार मात्र समुदायस्तरमा २८ जनालाई कोरोना संक्रमण पुष्टि भएको बताए । ‘एकै दिन २८ जनामा संक्रमण पुष्टि भयौं,’ उनले भने,‘समुदायस्तरमा कोरोना संक्रमण बढ्दै गएपछि ठेगाना खुलाउन सकिएको छैन ।’

कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभरि तेस्रो पटक आइतबारदेखि शनिबारसम्म निषेधाज्ञा जारी गरेको छ ।

प्रशासनले स्वास्थ्य, खानेपानी, दूध, विद्युत, दमकल, सञ्चार, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधिजस्ता अति आवश्यक सेवाबाहेक अन्य सम्पूर्ण पसल, उद्योग, व्यवसाय, सेवा सञ्चालन बन्द गर्ने निर्णय गरेको छ ।

यसअघि गत जेठ १४ गते जिल्लामा कोरोना संक्रमित हुनेको संख्या बढ्दै गएपछि बाँके प्रशासनले लकडाउनकै बीच दोस्रोपटक पूर्ण निषेधित क्षेत्र घोषणा गरेको थियो । बाँकेमा पहिलो पटक वैशाख २२ गतेदेखि २५ गतेसम्म निषेधित क्षेत्र घोषणा गरेको थियो ।

प्रकाशित : श्रावण २२, २०७७ १७:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?