राप्ती प्रतिष्ठानले पीसीआर परीक्षण रोकेर व्यापार गर्‍यो : मुख्यमन्त्री पोख्रेल

कान्तिपुर संवाददाता

दाङ — प्रदेश ५ का मुख्यमन्त्री शंकर पोख्रेलले घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य सेवा दिनुको साटो व्यापार गरिरहेको आरोप लगाएक छन् ।  दुईवटा पीसीआर मेसिन हुँदा पनि विभिन्न बहानामा स्वाब परीसणमा आनाकानी गर्नु गैरजिम्मेवार काम भएको उनले बताए ।

राप्ती प्रतिष्ठानले पीसीआर परीक्षण रोकेर व्यापार गर्‍यो : मुख्यमन्त्री पोख्रेल

जिल्ला समन्वय समितिको चौथो सभालाई बुधबार घोराहीमा सम्बोधन गर्दै पोख्रेलले प्रतिष्ठान स्वास्थ्य सेवाभन्दा व्यापारमा केन्द्रित हुनु गलत भएको बताए । प्रतिष्ठानले यसअघि प्रतिव्यक्ति ५ हजार ५ सयका दरले कोरोना परिक्षण शुल्क तिर्न माग गर्दै जिल्लाका सबै स्थानीय तहलाई पत्राचार गरेको थियो । स्थानीय तहले शुल्क तिर्न नमानेपछि प्रतिष्ठानले स्वाब परीक्षण रोकिदिएको थियो । अहिले पनि पीसीआर मेसिनको रकम तिर्न नसकेको बहाना गरेर प्रतिष्ठानले नागरिकको स्वास्थ्यमा खेलबाड गरेको मुख्यमन्त्री पोख्रेलले बताए ।

पीसीआर मेसिन सरकारले उपलब्ध गराएको र कोरोना जााचको खर्च सरकारले बेहोर्दा पनि स्थानीय तहसाग शुल्क माग्नु गैरजिम्मेवार काम भएको पोख्रेलले बताए । ‘प्रतिष्ठानको ध्यान स्वास्थ्य सेवा र शिक्षातर्फ केन्द्रित हुनुपर्नेमा व्यापारतर्फ भइरहेको छ । यो राम्रो कुरा होइन,’ उनले भने, ‘कोरोना परीक्षणको सम्पूर्ण खर्च सरकारले बेहोरिरहेको छ । स्थानीय तहसँग माग्ने नै होइन । यसरी व्यापार गर्नु गलत काम भयो ।’

स्वास्थ्य सेवामा राजनीति गर्न नहुने उनले बताए । प्रतिष्ठानका पदाधिकारी अनावश्यक राजनीति गर्नुभन्दा गुणस्तरीय स्वास्थ्य सेवा प्रवाहमा केन्द्रित हुनुपर्ने धारणा उनले व्यक्त गरे । मुख्यमन्त्री पोख्रेलले बुधबार घोराहीस्थित सर्वोदय पुस्तकालय र घरेलु तथा साना उद्योग कार्यालय भवनको पनि उद्घाटन गरेका थिए ।

प्रकाशित : श्रावण २१, २०७७ १४:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?