देवदह नगरपालिकामा मंगलबार राति १२ बजेदेखि लकडाउन- प्रदेश ५ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

देवदह नगरपालिकामा मंगलबार राति १२ बजेदेखि लकडाउन

सन्जु पौडेल

तिलोत्तमा — रुपन्देहीको देवदह नगरपालिका मंगलबार राति १२ बजेदेखि अर्को निर्णय नहुँदासम्मका लागि लकडाउन हुँदैछ । नगरपालिकामा रहेकाे गरिमा विकास बैंकका कर्मचारीमा कोरोना देखिएपछि देवदह नगरपालिकाले अत्यावश्यक बाहेकका सेवा बन्द गरेको हो ।

नगरपालिकाको आकस्मिक बैठकले मंगलबार मध्यरातिदेखि अर्को निर्णय नभएसम्मका लागि देवदह क्षेत्रमा अत्यावश्यक बाहेक पैदलयात्रीदेखि सवारीका साधन चल्न नदिने, कुनैपनि पेसा, व्यवसाय सञ्चालन नगर्नेसहितका निर्णय गरेको नगर प्रमुख हिराबहादुर केसीले जानकारी दिए । ‘अहिले तत्कालका लागि खाद्यान्न पसल समेत बन्द गर्ने निर्णय भएको छ’, उनले भने, ‘एम्बुलेन्स, दूध बोक्ने गाडी चल्ने छन् भने उद्योगधन्दा र अरु सबै व्यापार व्यवसाय पनि बन्द हुनेछन् ।’ उनका अनुसार अत्यावश्यक सेवा भने रोकिने छैनन् ।


उक्त बैंकमा कार्यरत कर्मचारीमा कोरोना पुष्टि भएपछि बैंकका कर्मचारीसहित करिब २५ जना होम क्वानरेन्टाइनमा छन् । बैंकको लोन शाखामा कार्यरत ती कर्मचारी बिहीबार दिउँसो २ बजेसम्म काममा आएकाले त्यतिन्जेलसम्म उनको सम्पर्कमा आएका व्यक्तिहरुलाई सम्पर्कमा आउन नगरपालिकाले आह्वान समेत गरेको छ । ती कर्मचारीका परिवार, उनले सेवा लिएको मेडिकल, प्याथोलोजी, बैंकमा सेवा लिन आएका सेवाग्राही र बैंकका सहकर्मीसहित २५ जनाको पीसीआर परीक्षणका लागि तयारी भएको छ ।’ उनको सम्पर्कमा को को आए भन्नेबारे कन्ट्याक्ट ट्रेसिङ गर्नका लागि नगरपालिकाको टिम खटिइसकेको र बुधबार बिहानसम्ममा यो काम सकिने नगरप्रमुख केसीले बताए । उनले पीसीआरको नतिजा के आउँछ त्यसपछि फेरि बैठक बसेर थप निर्णय गर्ने बताए ।

प्रकाशित : श्रावण २०, २०७७ २२:३५
प्रतिक्रिया
पठाउनुहोस्

लेबनानको राजधानी बेरुतमा ठूलो विस्फोट : दर्जनौं भवन ध्वस्त, मानवीय क्षतिको आशंका

एजेन्सी

बेरुत — लेबनानको राजधानी बेरुतमा मंगलबार साँझ ठूलो विस्फोट भएको छ । बेरुतको बन्दरगाह नजिक विस्फोट हुँदा धेरै भवनहरु ध्वस्त भएको र ठूलो संख्यामा मानवीय क्षति भएको अनुमान गरिएको छ ।

स्थानीय सञ्चारमाध्यमहरुले पोस्ट गरेको भिडियोमा विस्फोटपछिको ठूलो आवाज र धुँवाको मुस्लो देखिएको छ । भिडियोमा भवनहरु केही बेरमा ध्वस्त भएको देखिएको छ ।

सन् २००५ मा हत्या गरिएका पूर्वप्रधानमन्त्री रफिक हरिरीको मुद्दाको फैसला हुनुअघि राजधानी बेरुतमा भएको विस्फोटलाई अर्थपूर्ण रुपमा हेरिएको बीबीसीले जनाएको छ ।

तस्बिर : रोयटर्स

विस्फोटमा पूर्वप्रधानमन्त्री साद हरिरीको मुख्यालयसहित दर्जनौं भवनहरु ध्वस्त भएको सीएनएनले जनाएको छ ।

विस्फोटस्थलबाट १० किलोमिटर टाढा रहेका स्थानीय नागरिकले विस्फोटपछि ठूलो भूकम्पको धक्काझैं महसुस गरेको बताएका छन् । अहिलेसम्म के र कसरी विस्फोट भएको हो भन्ने केही नखुलेको लेबनानी अधिकारीहरुले बताएका छन् ।

घटनाको विस्तृत विवरण आइसकेको छैन ।

प्रकाशित : श्रावण २०, २०७७ २२:३०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×