बिना तयारी परीक्षा लिन लागेको भन्दै रुपन्देहीमा विद्यार्थीको प्रदर्शन- प्रदेश ५ - कान्तिपुर समाचार

बिना तयारी परीक्षा लिन लागेको भन्दै रुपन्देहीमा विद्यार्थीको प्रदर्शन

अमृता अनमोल

बुटवल — बिना तयारी परीक्षा लिन लागेको भन्दै रुपन्देहीका विद्यार्थीले प्रदर्शन गरेका छन् । तयरी बिना नै परीक्षा लिन लागेको भन्दै कक्षा ११ र १२ मा अध्ययनरत विद्यार्थीहरुको समूह रुपन्देही विद्यार्थी संघले प्रदर्शन गरेको हो ।

बुटवलको पुष्पलाल पार्कबाट निस्केको विरोध र्‍याली बजार परिक्रमा गर्दै राजमार्ग चौराहमा आएको थियो । विद्यार्थीहरुले परीक्षासँग डराएको होइन तर कोरोनाको भयले परीक्षा दिने अवस्था छैन, दुर्गमका विद्यार्थीलाई हेरेर निर्णय गरौं, शिक्षामा बेवास्ता नगरौं, परीक्षालाई मजाक नबनाऔंजस्ता नारा लेखिएका प्लेकार्ड छोपेका थिए ।

राजमार्ग चौराहमा कोणसभा गर्दै विद्यार्थी संयोजक मन्दिल खनालले कोरोना र लकडाउनका कारण तितरवितर भएका विद्यार्थीलाई बिना तयारी भदौमा परीक्षा लिने निर्णय गर्दा परिक्षामा सामेल हुन समस्या हुने भएकाले विरोधमा उत्रिएको बताए । उनले स्थानीय तह, हिसान लगायतका संघसस्थामार्फत पनि विना सावधानी भदौमा परिक्षा लिने सरकारी निर्णय सच्चाउन माग गरेको जनाए ।

प्रकाशित : श्रावण १८, २०७७ १३:५५
प्रतिक्रिया
पठाउनुहोस्

कोरोना संक्रमित कैदीबन्दीको सम्पर्कमा आएकाको परीक्षण भएन

भूषण यादव

वीरगन्ज — गत मंगलबार राति नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । जसमध्ये ८ जना वीरगन्ज कारागारका कैदीबन्दी, दुईजना कारागारका कार्यालय सहयोगी र ३ जना कारागारमा परिचालन गरिएका प्रहरी थिए ।

संक्रमित कैदीबन्दी, कार्यालय सहयोगी र प्रहरीलाई कारागार परिसरमा रहेको समता स्कुल र अस्पतालमा आइसोलेट गरिएको कारागारका जेलर श्रवणकुमार पोखरेलले बताए । अदालत र अस्पताल आउजाउ गर्नेको २२ जनाको सोमबार स्वाब संकलन गरी परीक्षण गर्दा १३ जना संक्रमित फेला परेका थिए ।

कारागारका १३ जना संक्रमितको सम्पर्कमा आएका ७५ जनाको कन्ट्याक्ट ट्रेसिङ गरी विवरण तयारी पारिएको थियो । ‘कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुको विवरण बुधबार नै सम्बन्धित निकायमा पठाइसकिएको छ,’ जेलर पोखरेल भन्छन्, ‘हालसम्म स्वाब संकलनका लागि स्वास्थ्यकर्मीको टोली आएको छैन्, आइतबार आउने कुरा छ ।’ जेलर पोखरेलले कैदीबन्दीमा सामान्य रुघाखोकी आएको बताउँछन् । कन्ट्याक्ट ट्रेसिङमा आएकाहरुको विवरण पठाएको ४ दिन बितिसक्दा पनि स्वाब संकलनका लागि स्वास्थ्यकर्मी नआउँदा कारगारभित्र संक्रमण फैलिने जोखिम उच्च छ ।

कैदीबन्दीका अनुसार एक सयभन्दा बढीमा ज्वरो र खोकीका लक्षण देखिएको छ । ‘कारागारका नाइकेले ज्वरो आएकाहरुलाई छुट्टै ब्लकमा राखेका छन्,’ एक कैदीले भने, ‘तर, धारा र शौचालय त सबैले एकै प्रयोग गर्ने हो ।’ कारागारमा १ हजार २ सय ९ कैदीबन्दी छन् ।

स्वास्थ्य कार्यालयका निरीक्षक जयमोद ठाकुरका अनुसार महानगरपालिकाभित्र कन्ट्याक्ट ट्रेसिङ र स्वाब संकलनको जिम्मेवारी महानगर स्वास्थ्य महाशाखाको हो । ‘तर, महानगरले स्वास्थ्यकर्मी परिचालन गर्न सकेको छैन्,’ उनले भने, ‘कारागारमा आज(आइतबार) स्वाब संकलन गरिने छ ।’

प्रकाशित : श्रावण १८, २०७७ १३:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×