कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

ठाकुरबाबा नगरपालिकामा तालाबन्दी

ठाकुरसिंह थारु

बर्दिया — नेपाल शिक्षक संघ नगर समिति बर्दियाले ठाकुरबाबा नगरपालिकाले ल्याएको शिक्षकहरुको सरुवा सम्बन्धी नियम खारेजीको माग गर्दै आइतबारदेखि तालाबन्दी गरेको छ । 


सुधारोन्मुख अवस्थामा रहेको ठाकुरबाबाको शिक्षालाई स्वाच्छाचारी तरिकाले शिक्षकहरुको सरुवा गर्ने, आतंकित बनाउने कार्य भएको भन्दै तालाबन्दी गरिएको हो । नेपाल शिक्षक संघ नगर समिति ठाकुरबाबाका अध्यक्ष खडकप्रसाद उपाध्यायले विभेदपूर्ण व्यवहारका कारण तालाबन्दीमा उत्रिनु परेको बताए । उनले माग पूरा नहुँदासम्म आन्दोलन जारी रहने बताए ।

उनका अनुसार नगरपालिकाले शिक्षा ऐन २०२८, शिक्षा नियमावली २०५९ तथा शिक्षक दरबन्दी मिलान कार्यविधि २०७४ र नगर शिक्षा ऐन २०७५ र शिक्षक व्यवस्थापन कार्यविधि २०७४ का सम्पूर्ण प्रावधान समेतलाई पन्छाउँदै स्वविवेक र स्वेच्छाचारी प्रवृत्तिबाट राजनितिक आस्थाका आधारमा आफु अनुकुल नभएका व्यक्तिलाई पन्छाउने र तह लगाउनेका लागि विभेदपूर्ण शिक्षक सरुवा नियम ल्याइएको छ । त्यसका विरुद्ध नेपाल शिक्षक संघले शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख मार्फत नगर शिक्षा समितिलाई विरोध पत्र बुझाइ निर्णय खारेज नभए सम्मका लागि शिक्षा शाखामा तालाबन्दी गर्ने जनाएको छ ।

त्यस्तै विद्यालय र शिक्षा शाखामा आउँदा हातमा कालोपट्टि बाँधेर र घाँटीमा विभेदपूर्ण शिक्षक सरुवा खारेज गर लेखिएको प्लेकार्ड झुन्ड्याएर विरोध गर्ने बताइएको छ । माग सम्बोधन नभए आन्दोलनका थप कार्यक्रम अगाडि बढाउने निर्णय संघले गरेको छ ।

प्रकाशित : श्रावण १८, २०७७ १२:५१
प्रतिक्रिया
पठाउनुहोस्

जेलबाट फरार कैदी ९ महिनापछि पक्राउ

सुवास विडारी

मकवानपुर — मकवानपुरको भीमफेदीमा रहेको क्षेत्रीय कारागारबाट फरार एक जना कैदीलाई नौ महिनापछि पक्राउ गरिएको छ ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरले गत वर्ष कात्तिक ३० गते कारागारबाट फरार भएका उनलाई शुक्रबार पक्राउ गरेको हो । प्रहरीले आइतबार पत्रकार सम्मेलन गर्दै कारागारबाट भागेका २५ वर्षीय कुलदिपराज धामीलाई नवलपरासीको देउचुली नगरपालिकाबाट पक्राउ गरेको जनाएको छ । ‘लामो समयदेखि खोजी कार्य जारी रहेको थियो । मकवानपुरबाटै गएको टोलीले उनलाई पक्राउ गरेको हो । उनी कञ्चनपुरबाट चितवनतर्फ आउँदै थिए । ’, मकवानपुरका प्रहरी उपरीक्षक सुशीलसिं राठौरले भने । उनी जेलका सहनाइके थिए ।

उनलाई आइतबारै कारागार चलान समेत गरिएको छ । उनी कर्तव्य ज्यान मुद्धामा २० वर्ष कैद भुक्तान गरिरहेका थिए । उनले सुनसरीको रामधुनी नगरपालिका–७ बस्ने २१ वर्षीया रोजिन गुरुङको हत्या गरेका थिए । ‘पर्खाल नाघेर भागेको अनुसन्धानको क्रममा खुलेको छ ।’, प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार उनी ५ वर्षदेखि सजाय भोगिरहेका थिए ।

प्रकाशित : श्रावण १८, २०७७ १२:४३
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×