कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बाँकेमा आजदेखि तीन दिन निषेधाज्ञा

रूपा गहतराज

नेपालगन्ज — कोरोना संक्रमण बढेपछि जिल्ला प्रशासन कार्यालय बाँकेले जिल्लाभरि तेस्रो पटक आइतबारदेखि तीन दिनसम्म पुनः निषेधाज्ञा लगाएको छ । आइतबार जिल्लाका सम्पूर्ण पसल, होटल बन्द छन् । यातायात साधन चलेका छैनन् । 

बिहीबार बसेको जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले निषेधाज्ञा लागू गर्ने निर्णय गरेको हो । शनिबार राति १२ बजेदेखि लागु गरिएको निषेधाज्ञा मंगलबार राति १२ बजेसम्म लागू हुने प्रशासनले जनाएको छ ।

जिल्लामा कोरोना भाइरसको संक्रमण व्यापक बन्दै गएकाले थप फैलन नदिन तथा रोकथाम, नियन्त्रण उपचार तथा व्यवस्थापनलाई प्रभावकारी बनाउन तीन दिनसम्म जिल्लाभरि निषेधाज्ञा जारी गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले बताए ।निषेधाज्ञा अवधिभर औषधि उपचार तथा अन्य अत्यावश्यक काममा बाहेक कुनै पनि व्यक्ति घरबाहिर ननिस्किने आदेश भएको उनले बताए ।

स्वास्थ्य, खानेपानी, दूध, विद्युत्, दमकल, सञ्चार, फोहरमैला व्यवस्थापन, इन्धन, एम्बुलेन्स, औषधिजस्ता अति आवश्यक सेवाबाहेक अन्य सम्पूर्ण पसल, उद्योग, व्यवसाय, सेवा सञ्चालन बन्द गर्ने निर्णय भएको छ । बिहीबार मात्र बाँकेमा ११ कर्मचारीसहित २७ जनामा संक्रमण पुष्टि भएको थियो ।


प्रकाशित : श्रावण १८, २०७७ ०९:४८
प्रतिक्रिया
पठाउनुहोस्

लकडाउन खुलेपछि बढ्यो संक्रमण

अतुल मिश्र

काठमाडौँ — लकडाउन खुलेको पछिल्लो दुर्ई सातामा मुलुकमा कोभिड–१९ को संक्रमण झन् बढेको छ । संक्रमितको संख्या शनिबारसम्म २० हजार नाघिसकेको छ । उक्त दिन मात्रै ३ सय १५ जना नयाँ संक्रमित थपिएका हुन् । 

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमका अनुसार लकडाउन खोल्नुभन्दा अघि र पछिल्ला ११ दिनको तुलना गर्दा संक्रमण ०.८ प्रतिशत बढेको छ । लकडाउन खोल्नुअघिका ११ दिनमा ४७ हजार ८ सय ७७ नमुनाको पीसीआर परीक्षण गरिएकोमा १ हजार ३ सय ४५ नमुना कोरोना पोजिटिभ देखिएको थियो । यो कुल संकलित नमुनामा २.८ प्रतिशत हो । केही प्रतिबन्धसहित लकडाउन हटेको पछिल्ला ११ दिन (शनिबारसम्म) मा ५८ हजार १ सय ७४ नमुनाको पीसीआर परीक्षण गर्दा २ हजार ९२ नमुना कोरोना पोजिटिभ देखिएको छ । यो कुल संकलित नमुनामा ३.६ प्रतिशत हो ।

‘वीरगन्ज, कैलालीलगायत भारतसँग सीमा जोडिएका ठाउँमा संक्रमण बढेको छ,’ डा.गौतमले भने, ‘सीमा क्षेत्रबाट भित्रभित्रै ओहोरदोहोर नभएको भए कसरी संक्रमण बढ्थ्यो ?’ स्वास्थ्य मन्त्रालय इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक एवं भाइरोलोजिस्ट डा.वासुदेव पाण्डेले समेत पछिल्ला केही दिनमा देशव्यापी रूपमा संक्रमितको संख्या बढेको बताए । तराईका जिल्लाहरूसँगै राजधानी काठमाडौंमा समेत पछिल्ला दिनमा संक्रमितको संख्यामा उल्लेख्य वृद्घि देखिएको छ ।

काठमाडौंको जनसंख्या ५०–६० लाख रहेको औंल्याउँदै डा.गौतम कोरोना संक्रमण अझै विस्तार भए जनस्वास्थ्यमा ठूलो असर पर्ने चिन्ता व्यक्त गर्छन् । उपत्यकावासीले मास्क प्रयोग, सामाजिक दूरी र नियमित साबुनपानीले हात धुने नगरे समुदायमा व्यापक संक्रमणको विस्तार अन्य ठाउँको दाँजोमा तीव्र हुन्छ । यसमा संक्रमणको वृद्धिसँगै लक्षण भएका बिरामीको बढ्दो संख्या विज्ञहरूको टाउको दुखाइ भएको छ । देशका केही ठाउँमा समुदायमै संक्रमण आशंका गरेका विज्ञहरूले राजधानीमा यही गतिले संक्रमण विस्तार भए स्थिति अत्यन्त गम्भीर हुने चेतावनी दिएका छन् ।

पछिल्ला केही दिनयता संक्रमितहरूमध्ये करिब एक तिहाइमा कुनै न कुनै प्रकारको लक्षण देखिएको छ । ‘लक्षण भएका संक्रमितको बढ्दो संख्याले आगामी दिनमा थप विशेष सतर्कता अपनाउनु आवश्यक देखिएको छ,’ डा.पाण्डेले भने । हाल वीरगन्ज, विराटनगर आदिमा गरिएको लकडाउन स्वास्थ्य मन्त्रालयले नभई स्थानीय सरकारले गरेको औंल्याउँदै डा.गौतम कोरोनाको केस बढ्दा स्थान विशेषमा लकडाउन गर्नुको विकल्प नरहेको बताउँछन् ।

राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका छाती रोग विशेषज्ञ डा. नवीनप्रकाश शाहले समुदायमा कोरोना संक्रमण फैलिए कडा लकडाउन वा कर्फ्युबाहेकको विकल्प नरहने बताए । हालको संक्रमणको विस्तारमा विभिन्न प्रक्रिया अपनाउँदै व्यापक रोक नलगाइए समुदायमा कोरोना फैलिन सक्ने डा. शाहको भनाइ छ । कोरोनाले आईसीयूमा उपचार गराउनुपर्ने अवस्था आउनुका साथै मृत्यु देखिन थालिएकाले विज्ञहरूले सरकार एक्लोको प्रयासले मात्र कोरोनाविरुद्घको लडाइँ जित्न नसकिने औंल्याएका छन् ।

प्रकाशित : श्रावण १८, २०७७ ०९:३७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×