कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

सिद्धार्थ राजमार्गको पाल्पा खण्ड एकतर्फी सञ्‍चालनमा

गुल्मीको खसीमारेमा पहिरोले ट्रक बगायो
माधव अर्याल

पाल्पा — सिद्धार्थ राजमार्गको ठाउँठाउँमा खसेको पहिरो पन्छाएर एकतर्फी यातायात सञ्चालन भएको छ । तिनाउ गाउँपालिकाको सिद्धबाबा, कदमबास, पैठेडाँडा, ड्याम साइड, गौडेपुलमा पहिरो खसेको थियो ।

सिद्धार्थ राजमार्गको पाल्पा खण्ड एकतर्फी सञ्‍चालनमा

तल्लो र माथिल्लो सिद्धबाबाकोबीच कदमबासमा खसेको पहिरोले बिजुलीको पोलसमेत बगाएको छ ।

राजमार्गकै बगनासकाली गाउँपालिका–४ सेरामा खसेको पहिरो पन्छाएर सडक खुलेको प्रहरीले जनाएको छ । मंगलबार बिहान ५ बजेदेखि सिद्धार्थ राजमार्ग अवरुद्ध भएको थियो । अपरान्ह ३ बजेबाट एकतर्फी यातायात सञ्चालन भएको प्रहरी नायव उपरीक्षक मदन गिरीले बताए । उनका अनुसार दुई तर्फि यातायात संचालनका लागि पहल भइरहेको छ ।

सडक डिभिजनको समन्वयमा वर्षा रोकिएपछि दुईतर्फबाट डोजर, लोडर लगाएर पहिरो पन्छाएको प्रहरीले जनाएको छ । पहिरो खसेपछि पाल्पादेखि स्याङ्जा–पोखरा र पाल्पा–बुटवल सडकमा सवारी साधन सञ्चालन भएको थिएन ।

झण्डै १० घण्टापछि सवारी साधन गन्तव्यमा जान पाएका छन् । सिद्धार्थ राजमार्ग दैनिकजसो अवरुद्ध हुने र खुल्ने भइरहेको छ । सिद्धार्थ राजमार्ग भएर तराईबाट पहाडका म्याग्दी, बाग्लुङसम्मका यात्रु ओहोरदोहोर गर्ने गर्छन् ।

यसैबीच, गुल्मीको चन्द्रकोट गाउँपालिका–७ खसीमारेमा पहिरोले ना ६ ख ७७९२ नम्बरको ट्रक बगाएको छ । बुटबलबाट शान्तिपुर जाँदै गरेको ट्रकलाई एक्कासी माथिबाट खसेको पहिरोले बगाएको प्रहरीले जनाएको छ ।

बुटवलबाट हार्डवयर लगायतका सामान लिएर शान्तिपुर गएको ट्रक बाटोमा हिलोमा फसेको समयमा माथिबाट झरेको पहिरोले बगाएको स्थानीयले बताए । पहिरोले ट्रकलाई झण्डै ७ सय मिटर तल पुर्‍याएको छ । मानवीय क्षति नभएपनि ट्रकमा रहेका सामानमा क्षति पुगेको छ । पहिरोले बगाएको ट्रकमा सिमेन्ट, छड, ग्यास लगायतका सामान थिए ।

प्रकाशित : श्रावण १३, २०७७ १६:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?