कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

मायादेवी मन्दिर खुला गर्न माग

मनोज पौडेल

लुम्बिनी — मुलुककै प्रमुख पर्यटकीय गन्तव्य लुम्बिनीस्थित मायादेवी मन्दिर खुला गर्न माग गरिएको छ । होटल तथा पर्यटन व्यवसायी, बौद्ध महिला तथा युवा समूह र आमा समूहलगायत १० बढी सामाजिक संघ संस्थाहरुले ज्ञापनपत्र दिएका छन् । 

मायादेवी मन्दिर खुला गर्न माग

लुम्बिनी विकास कोष उपाध्यक्ष अवधेशकुमार त्रिपाठीमार्फत पर्यटनमन्त्री योगेश भट्राईलाई ज्ञापनपत्र बुझाएका हुन् । लुम्बिनी होटल संघ महासचिव लिलामणि शर्मा नेतृत्वमा गएको टोलीले कोष कार्यकक्षमा ज्ञापनपत्र दिएको हो । ०७६/७७ मा गरिएको आर्थिक सर्वेक्षणमा मुलुकमा सर्वाधिक भ्रमण गरिएको ठाउँमा लुम्बिनी परेको छ । लुम्बिनी भ्रमण गर्नेमा ७९ प्रतिशत नेपाली, ११ प्रतिशत भारतीय र १० प्रतिशत तेस्रो मुलुकका छन् ।

कोरोना भाइरस संक्रमणको जोखिमका कारण मुलुकमा लकडाउन सुरु भएसँगै गत चैत्र ११ गतेबाट मायादेवी मन्दिरमा आवतजावत बन्द छ । अहिले बन्दाबन्दी हटिसकेको अवस्था छ । दिनानुदिन सहज बन्दै गएकाले सरकारको जनस्वास्थ्य तथा सुरक्षा मापदण्डलाई ध्यानमा राख्दै मन्दिरमा आवतजावत गर्न दिन माग गरेको लुम्बिनी होटल संघ अध्यक्ष मिथुनमान श्रेष्ठले बताए ।

‘लुम्बिनीको आधार र गरिमा भनेकै मायादेवी मन्दिर हो,’ ज्ञापनपत्रमा भनिएको छ, ‘मन्दिर खुल्ला नहुँदा स्थानीयले समेत भगवान बुद्धप्रति आस्था प्रकट गर्न पाएका छैनन् ।’ लुम्बिनी र छिमेकी जिल्लाका बासिन्दा पूजाआजा गर्न बञ्चित छन् । विश्वकै आस्थाको धरोहर लामो समय बन्द हुँदा सबै शान्तिकामीको आस्था गम्भीर चोट पुगेको छ’ ज्ञापनपत्रमा भनिएको छ, ‘अनेक दुःख कष्ट सहँदै लुम्बिनी पुगेकाहरु पनि बुद्ध जन्मेको ठाउँमा आस्था र श्रद्धा व्यक्त गर्नै नपाइ त्यसै फर्किनु परिरहेको छ ।’ स्थानीयले राखेको मागबारे मन्त्रालयलाई जानकारी गराएको लुम्बिनी विकास कोष सदस्य सचिव ज्ञानीन राईले बताए ।

कोभिड–१९ को महामारीका कारण ४ महिनादेखि बुद्ध जन्मस्थलको मन्दिर बन्द छ । मन्दिर बन्द हुँदा नियमित पूजा पाठको काम समेत अवरुद्ध छ । भिक्षु, भिक्षुणी तथा उपासक उपासिकाहरुले मन्दिरमा पूजा गर्नबाट बञ्चित छन् । कतिपय मुख्य गेट बाहिरै पूजाआजा गरेर फर्किन्छन् । ‘मायादेवी लुम्बिनीवासीको मात्रै नभइ सबैको आस्थाको धरोहर भएकाले लामो समयसम्म बन्द हुँदा हामीलाई गम्भीर चोट पुर्‍याएको छ,’ लुम्बिनी पर्यटन व्यवसायी संघ सचिव पिन्टु बनियाले भने, ‘विश्वकै आस्था र श्रद्धाको केन्द्र भएकाले यहाँ नियमित पाठ पूजा हुनुपर्छ । सुरक्षा सतर्कता अपनाएर मायादेवी मन्दिर आंशिक भएपनि खुल्ला गर्नुपर्छ ।’

लुम्बिनी होटल संघ, लुम्बिनी पर्यटन व्यवसायी संघ र मायादेवी आमा समूहले ज्ञापनपत्र बुझाएका हुन् । त्यस्तै बौद्ध युवा समूह, सिद्धार्थ होटल संघ, लुम्बिनी बौद्ध महिला समिति र होटल तथा रेष्टुरेन्ट व्यवसायीं संघ लगायतले ज्ञापनपत्र बुझाएका हुन् ।

प्रकाशित : श्रावण १३, २०७७ १५:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?