१७ लाख बराबरको खसीबोका नियन्त्रणमा- प्रदेश ५ - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

१७ लाख बराबरको खसीबोका नियन्त्रणमा

नवीन पौडेल

परासी — सशस्त्र प्रहरीले पश्चिम नवलपरासीको सिमावर्ती क्षेत्र सुस्ता गाउँपालिका-५ रगरगन्जबाट भारतबाट अवैध रुपमा नेपाल भित्र्याउँदै गरेको अवस्थामा १७ लाख बराबरको खसीबोका नियन्त्रणमा लिएको छ ।

भारतबाट अवैध रुपमा पश्चिम नवलपरासी भित्राउँदै गरेको अवस्थामा ८५ वटा खसीबोका नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर २६ गण हेडक्‍वार्टर पश्‍चिम नवलपरासीका उपरीक्षक भरत खनियाले बताए ।

भन्सार छलेर नेपाल भित्र्याएर राखिएको अवस्थामा ती खसीबोका नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि महेशपुर भन्सार कार्यालय पठाइएको खनियाले बताए ।

प्रकाशित : श्रावण १०, २०७७ १४:१८
प्रतिक्रिया
पठाउनुहोस्

सुस्तावासी भन्छन्– ‘कहाँ काट्ने रात ?’

गण्डक बाँध र नहरका कारण सुस्तामा बर्सेनि बाढीको समस्या दोहोरिन्छ ।
नवीन पौडेल

परासी — खरले छाएको सानो झुपडीको भित्ता भत्किएको छ । लगातारको वर्षाले लिप्न र मर्मत गर्न सकिएको छैन । चुलो भिजेकाले अरूको आँगनमा खाना पकाउनुपरेको छ । घरमा रहेका अन्नपात पनि पानीबाट जोगिएनन् । आँगनमा बसेर नारायणी नदीको सतह हेर्दै निराश हुन्छन्, पश्चिम नवलपरासीको सुस्ता–५ ठाडीघाटका अयोध्या केवट ।

मजदुरी गरेर जीविका चलाउने उनी काममा नगएको एक महिना भयो । घर निर्माणमा मजदुरी गर्ने उनलाई उर्लंदो नारायणी नदीको भेल देखेर घरमा श्रीमती र छोराछोरीलाई छाडेर काममा जान मन लाग्दैन । सोमबार राति नारायणी नदीको पानीले ठाडीघाट क्षेत्र जलमग्न भयो । ‘अघिल्लो वर्षको भन्दा यस वर्ष नदीमा पानीको सतह बढ्यो, भएको अन्नपात सबै भिज्यो । घरको भित्ता पनि भत्किएको छ,’ उनले भने, ‘अब छोराछोरीलाई के खुवाउने ? रात कहाँ काट्ने ?’

हरेक वर्षामा बस्तीमा बाढी पसेर कहिले घर भत्किने त कहिले अन्नबाली नष्ट हुनु पश्चिम नवलपरासीको गण्डक प्रभावितका स्थानीयलाई नौलो लाग्न छाडिसक्यो । बाढीको समयमा जसोतसो ज्यान जोगाउनेबाहेक अन्य केही गर्न सक्दैनन् । कोही आएर राहत सामग्री देलान् र छाक टारौंला भनेर बस्नुबाहेक उनीहरूसँग विकल्प छैन । सुरक्षित स्थानमा जान मन छ । तर, बस्ती छाडेर जान सक्दैनन् । ऐलानी जग्गामा बसोबास रहेको फड्कीटोलका स्थानीय बाढीबाट बच्नका लागि बसाइँसराइ गर्न सक्दैनन् । विपन्न र दलित समुदायको बस्तीका अधिकांशको लालपुर्जा छैन ।

नदीले खेतीयोग्य जमिन बर्सेनि कटान गर्ने र बस्तीतर्फ धार परिवर्तन गर्दासमेत नियन्त्रणको प्रयास नहुँदा स्थानीय त्रस्त छन् । यस क्षेत्रको तरैनी, सेमरी, रामनगर, सकरदिनही, रेवारेता र सुस्तापारि बर्सेनि खेतीयोग्य जमिन कटान र डुबान हुने गरेको छ । गण्डक बाँध र नहरका कारण पश्चिम नवलपरासीको तल्लो तटीय क्षेत्रमा बर्सेनि बाढीको समस्या पुरानो हो । खेतीयोग्य जमिन कटान गर्दा सुकुम्बासी बन्नुपर्ने अवस्था छ । ‘१० कट्ठा जग्गामा वर्षमा तीन पटक खेती लगाएर पाँच जनाको परिवारलाई गुजारा चलेको थियो । तर, खेतमा बाढी पस्न थालेपछि खेती हुन छाड्यो,’ सुस्ता थारू टोलाका अंगद तेलीले भने, ‘सुरक्षित स्थानमा गएर जग्गा किन्ने र घर बनाउने आम्दानी छैन ।’

हरेक वर्ष बाढी आउने भए पनि यहाँका बाढीपीडितलाई सुरक्षित स्थानमा सार्ने काम अहिलेसम्म भएको छैन । डुबानमा परेपछि यहाँका पीडितले राहतमा चामल र चिउराबाहेक अहिलेसम्म केही पाएका छैनन् । नारायणीले सुस्तापारिको धनेवारेता घोलामा पनि पानीको सतह बढेको छ । घोलाको पानीले निकास नपाएपछि एकाएक बस्तीमा पसेको हो । रातको समयमा बाढी आयो भने सुस्तापारिका स्थानीयले आश्रय पनि पाउँदैनन् । नेपालतर्फ आश्रयका लागि जान नसक्ने अवस्था छ । नारायणी नदी वारपार भएको छ । डुंगा चलाउन सम्भव छैन । अहिले आफ्नोभन्दा पनि वृद्ध बुबाआमा, श्रीमती र छोराछोरीको चिन्ताले सताएको सुस्ताका स्थानीय मिस्टर देवानले बताए । उनले भने, ‘यस वर्ष नारायणी र सुस्तामा रहेका खोलामा पानीको सतह ह्वात्तै बढ्दा बगाउँछ कि भन्ने चिन्ताले सताएको छ ।’

सोमबार राति नारायणी नदी पसेपछि सुस्ता गाउँ नै डुबानमा पर्‍यो । करिब तीन सय घर रहेको सुस्तामा ९० प्रतिशत घर डुबानमा परेको र पाँचवटा कच्ची घर भत्किएको सुस्ता बचाउ अभियानका प्रवक्ता रवीन्द्र जयसवालले बताए । सुस्ता गाउँपालिका र विभिन्न संघसंस्थाको पहलमा आश्रयका लागि सुस्तापारि सार्वजनिक भवन निर्माण गरिएको छ । जसमा बाढी र डुबानको समयमा स्थानीयले आश्रय लिने गर्छन् । तर, बाढी नियन्त्रणको प्रयास भने प्रभावकारी हुन सकेको छैन ।

‘नारायणी नदी नियन्त्रणका लागि स्थानीय सरकारको स्रोत र साधनले सम्भव छैन,’ गाउँपालिका अध्यक्ष रामप्रसाद पाण्डेले भने, ‘प्रदेश र केन्द्र सरकारबाट जनताको तटबन्धलगायत कार्यक्रम सञ्चालन भएको छ । गण्डक सम्झौताका कारण भौतिक संरचना निर्माण र नदी नियन्त्रणका लागि पनि नेपाल–भारतबीच समय–समयमा विवाद हुँदा बाढी–डुबानको समस्या वर्षौंदेखि हुँदै आएको छ ।’

प्रकाशित : श्रावण १०, २०७७ ०८:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×