भैरहवा-परासी औद्योगिक करिडोरका उद्योग डुबानमा

माधव ढुंगाना

भैरहवा — भारी वर्षासँगै आएको बाढीले भैरहवा–परासी औद्योगिक करिडोरका दुई ठूला उद्योग डुबानमा परेका छन् । वर्षाले आसपासका नदीमा बाढी बढेमा अन्य उद्योग पनि डुबानमा पर्ने खतरा बढेको छ । त्यस क्षेत्र जमिनको सतह कम उचाइमा भएकाले डुबानमा पर्ने गर्छ ।

भैरहवा-परासी औद्योगिक करिडोरका उद्योग डुबानमा

डुबानबाट सबैभन्दा धेरै क्षति पश्चिम नवलपरासी, रामग्राम नगरपालिकाको हकुइस्थित एसियन कंक्रिटो प्रालिमा पुगेको छ । त्यस क्षेत्रमै रहेका राज ब्रुअरी, वरुण बेभरेज उद्योग पनि डुबानबाट प्रभावित भएका छन् ।

एसियन क्रंक्रिटो प्रालिको उद्योगको सम्पूर्ण परिसर डुबानले जलाम्य छ । उद्योगको मेसिन तथा उपकरण र उत्पादित सामान पानीले भिजेका छन् । उद्योगको मुख्य गेट र कम्पाउण्ड वाल बाढीले भत्काइदिएको छ । करिब २ अर्ब रुपैयाँको लगानीमा सञ्चालित उक्त उद्योगले अत्याधुनिक प्रविधिबाट ब्लक, टायल्स र इँटा, कर्भस्टोनको उत्पादन गर्दै आएको छ ।

उद्योगका अध्यक्ष मनीष रुंगटाले बाढीबाट आएको डुबानका कारण हप्ता/दश दिनसम्म उद्योग सञ्चालन गर्न नसकिने र डुबानको पानी सुकेपछि मात्रै क्षतिको विवरण थाहा हुने बताए ।

‘कोरोना संक्रमणका कारण लकडाउनले धेरै समस्यामा परेको उद्योग फेरि बाढी र डुबानले समस्यामा पारेको छ,’ रुगंटाले भने, ‘उद्योगमा रहेका सेन्सर प्रविधिबाट सञ्चालन हुने स्वचालित उपकरणमा बाढीको पानी पसेर क्षति पुगेको छ ।’ उद्योग परिसरमा वर्षा यामभरिका लागि पुग्ने गरी संकलन गरेर राखिएको औद्योगिक कच्चा पदार्थहरु बाढीले बगाएको छ ।

राज ब्रुअरीका व्यवस्थापक श्याम मल्लले पनि उद्योग परिसरमा बाढीबाट भएको डुबानका कारण उद्योग सञ्चालन गर्ने अवस्था नभएकाले बन्द गरिएको र बाढीको पानी नसुकेसम्म उद्योग सञ्चालन गर्न नसकिने बताए । बाढी र डुबानका कारण उद्योगमा परेको क्षतिका बारेमा तत्कालै अनुमान गर्न नसकिएको उनले जनाए ।

करिब ४ अर्ब रुपैयाँ लगानीमा सञ्चालित यस उद्योगले ०७४ सालदेखि नै बर्सेनि डुबानको समस्या झेल्दै आएको छ ।

प्रकाशित : असार ३१, २०७७ १२:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?