कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

सिद्धार्थ राजमार्ग अझै सुचारु हुन सकेन 

माधव अर्याल

पाल्पा — पहिरोसँगै खसेको ढुंगा फोर्न ढिलाइ हुँदा सिद्धार्थ राजमार्गको तिनाउ गाउँपालिका–३, दोभान बजार नजिक खसेको पहिरो पन्छाउन कठिन भएको छ । सडक डिभिजन पाल्पाले समयमा नै एस्काभेटर, लोडर, डोजर उपलब्ध नगराउँदा सोमबार बेलुकी सवा ५ बजेदेखि अवरुद्ध भएको सिद्धार्थ राजमार्ग दिउँसोसम्म सुचारु हुन नसकेको हो । 

सिद्धार्थ राजमार्ग अझै सुचारु हुन सकेन 

पहिरो पन्छाउन ढिलाइ हुँदा सयौं यात्रु र सवारी साधनका साथै बिरामी बोकेका एम्बुलेन्ससमेत अलपत्र परेका छन् । ‘बिरामी ८१ वर्षीय बुबालाई लिएर बुटवल हिँडेको सोमबार बेलुकीदेखि यहीँ छु,’ यात्रु मेघनाथ भुर्तेलले भने, ‘यसरी ढिलो हुँदा धेरैले दुःख पाएका छन् ।’ चालकहरुका अनुसार सोमबार बेलुकी पानी परेर डोजरले काम गर्न मानेनको थिएन । लकडाउनका कारण होटल नखुलेकाले खानासमेत पाउन नसकेको चालक भरत खत्रीले बताए । सडकमा सयौं सवारी साधन छन् । रुपन्देहीतर्फबाट भने बुटवलमै रोकेका छन् ।

दोभान बजारदेखि सय मिटर नजिकै पहिरो खसेको दोभान प्रहरी चौकी प्रमुख सोमबहादुर सारु मगरले बताए । झन्डै ५० मिटर माथिदेखि ठूल्ठूला ढुंगासहितको पहिरो खसेको छ । पहिरोसँगै खसेका ठूला ढुंगा फोर्न नसक्दा सडक खुलाउन नसकिएको दोभान प्रहरी चौकी प्रमुख सारु मगरले बताए । सडक डिभिजनले समयमै ब्रेकर नपठाएको र डोजरले पनि काम नगर्दा खुलाउन ढिलाइ भएको यात्रुको आरोप छ । तीन वटा डोजर स्ट्यान्डबाई रहेपनि पानी पर्दा र रातिमा काम गर्न नसक्दा समस्या भएको सडक डिभिजनका सूचना अधिकारी शिवु खत्रीले बताए ।


रुपन्देहीतर्फ र पाल्पातर्फबाट गएका सवारी साधन दोभान, भूतखोलातर्फ नै रोकिएको छ । सिद्धार्थ राजमार्गअन्तर्गत पाल्पाकै गौडेपुल, झुम्सा, चर्चरेलगायतका स्थानमासमेत पहिरो खसेको छ । प्रभास प्रहरी चौकीका प्रमुख एक्काबहादुर नेपालीका अनुसार बिहानदेखि दिउँसोसम्म पहिरो खस्ने क्रम नरोकिएकाले समस्या भएको बताए ।

गौडेपुल नजिकै बिहानैदेखि पहिरो खस्न रोकिएको छैन । उता, लहसुनेबाट खोकखोला जाने सडकमा ठूलो पहिरो खसेको छ । रम्भा गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीका अनुसार झन्डै सय मिटर लम्बाई र ५० मिटर जति चौडाइमा पहिरो खसेपछि चार दिनदेखि सवारी साधन चल्न सकेको छैन । प्रहरी कार्यालयका अनुसार अविरल वर्षाले आर्यभन्ज्याङ–रामपुर सडक अन्तर्गत निस्दी र पूर्वखोला गाउँपालिकाको सिमाना चापगैरामा पनि सडक खुलाउन सकिएको छैन । सडक डिभिजनको डोजरमा तेल सकिएकाले पहिरो पन्छाउन ढिलाइ भएको स्थानीयले बताए ।

प्रकाशित : असार ३०, २०७७ १४:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?