पाल्पामा थप ५० संक्रमित निको भए
पाल्पा — पाल्पामा आइतबार ५० जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । उनीहरू तानसेन नगरपालिका, बगनासकाली, तिनाउ, माथागढी गाउँपालिकाले संयुक्त रूपमा सञ्चालन गरेको भुसालडाँडा माविस्थित आइसोलेसनमा थिए ।
बगनासकाली गाउँपालिकाका २७, माथागढीका १२, तिनाउका ४ र तानसेन नगरपालिकाका ६ जनालाई घर पठाइएको स्वास्थ्य कार्यालयका निमित्त प्रमुख विश्वराज न्यौपानेले बताए । जिल्लाका ५ सय ५० संक्रमितमध्ये आइतबारसम्म ३ सय ५३ जना निको भइसकेका छन् । उनीहरू सबैलाई १४ दिन आइसोलेसनमा बस्दा कुनै लक्षण नदेखिएपछि पुनः परीक्षण नगरी घर पठाइएको हो ।
स्वास्थ्य कार्यालयका अनुसार अब १ सय ९७ जना मात्रै आइसोलेसनमा छन् । कोरोना निको हुनेमा सबैभन्दा धेरै रामपुर नगरपालिकाका १ सय ६ र निस्दी गाउँपालिकाका ९५ जना छन् । त्यस्तै पूर्वखोलाका ३४, रैनादेवी छहराका २० र रम्भाका २५ जनालाई घर पठाइएको छ । रिब्दीकोटबाट चार, पाल्पामा उपचाररत स्याङ्जा र गुल्मीका एक/एक र अर्घाखाँचीका दुई जना निको भएर घर फर्केका छन् ।
आइतबार भुसालडाँडा माविस्थित आइसोलेसनमा निको भएकाहरूलाई बिदाइ गर्दै तानसेन नगरप्रमुख अशोककुमार शाही, बगनासकाली गाउँपालिका अध्यक्ष कृष्णप्रसाद बस्याल र माथागढी गाउँपालिका अध्यक्ष सन्तोष थापाले अन्तिमपटक पीसीआर जाँचेर घर पठाउन पाए राम्रो हुने बताए ।आइसोलेसनमा रहेका १ सय ५६ जनाको स्वाब संकलन गरेर जनस्वास्थ्य प्रयोगशालामा पठाइए पनि जाँच भएको छैन ।
प्रकाशित : असार २९, २०७७ ०६:५५