१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

झडपपछि भागेका एकको मृत्यु

दुर्गालाल केसी

दाङ — प्यूठानमा नेकपाका कार्यकर्ताबीच भएको झगडापछि भाग्ने क्रममा राप्ती नदीमा बगेर एक जनाको मृत्यु भएको छ । शुक्रबार राति प्यूठान नगरपालिकाको जुम्री बसपार्कनजिक युवाहरुबीच झडप भएको थियो । 

शनिबार दाङ र प्यूठानको सीमा क्षेत्रबाट राप्ती तरेर अर्घाखाँची जाने क्रममा प्यूठानको मल्लरानी गाउपालिका–२ बेल्डाडाका २७ वर्षीय दिपक थापाको मृत्यु भएको हो । उनको शव आइतबार गढवा गाउँपालिका–२ महदेवास्थित राप्ती नदी छेउमा फेला परेको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक भरतसिंह राठौरले बताए । पोस्टमार्टमका लागि शव प्यूठान पठाएको राठौरले बताए ।

राति होटलमा झडप भएको खबर आएपछि प्रहरी पुग्दा गौमुखी ठूलाबेंसीका ३१ वर्षीय बसन्त चन्द र थापा भागेको जिल्ला प्रहरी कार्यालय प्यूठानका प्रमुख डिएसपी नरेन्द्रकुमार कार्कीले बताए । ‘चन्द विभिन्न मुद्दामा पटकपटक पक्राउ परेका व्यक्ति हुन् । उनी प्रहरी नियन्त्रणमा पर्ने डरले भागेको देखिन्छ,’ उनले भने, ‘त्यसक्रममा सगै गएका साथी मृत फेला परे । कसरी मृत्यु भयो भन्ने विषयमा अनुसन्धान गर्दै छौं ।’ चन्दबिरुद्ध प्यूठानमा अभद्र व्यवहारमा जाहेरी परेको र उनको खोजी भइरहेको कार्कीले बताए । झडपमा दुई जना घाइतेको अवस्था अहिले सामान्य छ । झडपमा संलग्न अन्य युवाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित : असार २८, २०७७ २२:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?