कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

वनभित्र अवैध ढुंगा–गिट्टी 

बाँके — बाँकेको राप्तीसोनारी गाउँपालिकामा खोलाबाट अवैध रुपमा उत्खनन् गरिएका ढुंगा र गिट्टी वनभित्र लुकाएर राखिएको पाइएको छ । राप्तीसोनारी–२ स्थित मधु सामुदायिक वनभित्र करोडौं मूल्य बराबरको ढुंगा, गिट्टी र बालुवाका थुप्रा छन् । उत्खननका लागि वनभित्रै एस्काभेटरसमेत लुकाएर राखिएको फेला परेको छ । 

वनभित्र अवैध ढुंगा–गिट्टी 

आइतबार प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्वाङले नेतृत्वमा गएको अनुगमन टोलीले यसरी अवैध रुपमा थुपारिएका ढुंगा, गिट्टी र एस्काभेटर फेला पारेको हो । जिल्ला प्रशासनका अनुसार बा १ क ७६२० नम्बरको एस्काभेटर वनमा लुकाएर राखिएको थियो । उक्त एस्काभेटर बाबुराजा मल्लको नाममा रहेको खुलेको छ । मल्लसित प्रहरीले सोमबार सोधपुछ गरेको थियो ।

प्रहरी उपरीक्षक ओम रानाका अनुसार मल्लले एस्काभेटर कोहलपुरका ज्ञानबहादुर र लोकबहादुर ओलीलाई भाडामा चलाउन दिएको खुलेको छ । ‘सोधपुछ गरेर सर्तमा एस्काभेटर धनीलाई छाडिएको छ,’ एसपी रानाले भने, ‘अनुसन्धान भइरहको छ ।’ गाउँपालिकाका अध्यक्ष लहुराम थारुले भने एस्काभेटर मंगलबार पनि वनभित्रै प्रशासनको निगरानीमा रहेको बताए । गाउँपालिकालाई जिम्मा दिए भने आवश्यक प्रक्रिया पूरा गरेर एस्काभेटरको व्यवस्थापनसँगै वनमा थुप्रिएका गिट्टी बालुवाको बिक्री वितरण गर्ने बताए ।


दिनभरि सुनसान जंगलमा रातारात गिट्टी बालुवा उत्खनन् गरेर थुप्रार्ने गरिएको उनले बताए । नियन्त्रणका लागि स्थानीय प्रशासनले वास्ता नगरेको उनले आरोप लगाए । थारुले तस्करी रोक्न चुनौती रहेको बताए । वडाभित्र नदीजन्य पदार्थहरुको अवैध उत्खनन् हुँदासमेत यहाँका जनप्रतिनिधि बेखबर जस्तै बनेका छन् । कतिबेला आउँछन्, थाहा हुँदैन भन्ने जवाफ दिएर उम्किने गर्छन् । ‘रातभरिमा तस्करले नदी खन्छन्,’ अध्यक्ष थारुले भने,‘रोकथाम गर्न चुनौती छ, ज्यान नै जोखिममा राख्नु पर्छ ।’ सामुदायिक वनका हेरालु गनबहादुर वालीले तीन/चार दिनदेखि एस्काभेटर जंगलमै बेवारिसे अवस्थामा छोडिएको बताए ।

प्रमुख जिल्ला अधिकारी कुरुम्वाङले प्राकृतिक स्रोत र साधनको संरक्षणमा अनुगमन आवश्यक रहेको बताए । यसका लागि उनी पछिल्लो समय खटिएर स्थलगत अनुगमनमा पुगेका छन् । राप्तीसोनारी गाउँपालिकाको सामुदायिक वनमै भेटिएको अवैध ढुंगा, गिट्टीका थुप्रालाई तुरुन्तै व्यवस्थापन गरेर चोरको निगरानी गर्न उनले चासो दिएका छन् । यद्यपि स्थानीय स्रोत र साधनको सुरक्षा कसले गर्ने ? भन्ने विषयमा भने दुविधा देखिन्छ ।

प्रकाशित : असार २३, २०७७ १७:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?